प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै जुम्लाका स्थानीय तह

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्ला आठवटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिने थालेका छन् । बेरोजगारलाई रोजगारी दिन सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जिल्लाका स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा जम्मा पालिकाभित्र ११ वटा योजना छनौट भई काम सकिने अन्तिम चरणमा पुगेका छन् । सो योजनाका लागि दुई सय ९६ जनाले ४० दिनको रोजगारी पाएका छन् । कार्यक्रमका लागि आर्थिक वर्ष ०७९/८० मा ८४ लाख १५ हजार बजेट बिनियोजित गरिएको सिंजा गाउँपालिका रोजगार संयोजक इन्द्रराज गिरीले जानकारी दिनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि सिंजा गाउँपालिकामा जम्मा बजेट रु ९० लाख आएको छ । सोही बजेट भित्र छ वटा योजना छनोट भई काम संचालन भइरहेकाछन् । दुई सय १७ जनाले औसत ३० दिनसम्मको रोजगारी पाएको गाउँपालिका रोजगार संयोजक गिरीले बताउनुभयो ।

पालिका भित्रका एक सय दुई जनालाई रोजगारी दिएका छौ । विकास निर्माण काममा बेरोजगार लाई रोजगार दिने गरी सय दिनको काममा लगाएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञा भण्डारीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा कार्यक्रमका लागि रु ७० लाख बजेट विनियोजित गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट संचालन भएका विकासे योजना अन्तिम चरणमा पुगेकाछन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि भित्र रहेर काम संचालन गरेको रोजगार संयोजक भण्डारीको भनाइ छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिका भित्रका तीन सय ५० जनालाई रोजगारी दिएको छ । उक्त कार्यक्रमअन्तर्गत ५० दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी पाएकाछन् । सो अवधिमा रोजगारदाताले प्रतिव्यक्ति २८ हजार आठ सय ५० रुपैयाँ आम्दानी गरेको कनकासुन्दरी गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेले जानकारी दिनुभयो । सो कार्यक्रम अन्तर्गत पालिकामा १७ वटामध्ये १० वटा आयोजना सम्पन्न भइसकेका छन् । आर्थिक वर्ष ०७९।०८० मा कार्यक्रमका लागि एक करोड एक लाख १५ हजार बजेट छुट्याइएको थियो ।

कार्यक्रम अन्तर्गत चिन्डेखोला–तलिगाउँ गोरेटोबाटो, धोबीघाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुंगा बिछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाईंवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माणाधीन अवस्थामा रहेको संयोजक न्यौपानेको भनाइ छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन भएका योजनाहरुको अन्तिम अनुगमन गर्ने बाकी रहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । पालिका भित्रका नौवटा वडा सो कार्यक्रम लागु भएको तिला गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत जिल्लाका स्थानीय तहले सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माण र ग्रामीण बाटो निर्माण लगायतका काम गरिएका थिए । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?