आर्थिक मन्दीको मारमा मलेखुको माछा, व्यापार ठप्प

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 11 mins

धादिङ । त्रिशूली नदीको माछाका लागि प्रसिद्ध धादिङको मलेखु बजार विगतमा चौबीसै घण्टा चलायमान हुन्थ्यो । यहाँका होटल तथा खाजा घरहरूमा दिनरात यात्रुले खचाखच भरिन्थे । काठमाडौंबाट ७० किलोमिटरको दूरीमा रहेको मलेखु बजार माछा बजारको उपनामले समेत चिनिन्छ । मलेखु बजार राजधानी जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्गअन्तर्गत पर्दछ । त्यसकारण पनि निजी सवारीसाधनमा राजधानी भित्रिने र बाहिरिनेहरूको विश्राम स्थलसमेत बनेको छ ।

खासगरी माछा पारखीको गन्तव्य नै मलेखु बजार मनकामना, पोखरा, बन्दीपुर जाने–आउने पर्यटकसहित काम विशेषले मलेखु भएर निजी सवारी साधनमा सवारी गर्ने युवा, वयस्क र वृद्धवृद्धासमेत मलेखुको माछा र चप नचाखेको सायद कमै होलान । २०३५ सालबाट सुरु भएको व्यावसाय अहिले तेस्रो पुस्ताले जिम्मा लिने बेला भइसकेको छ । छोटो समयमा धेरै मुनाफा कमाउनु भन्दा पनि दिगो रूपमा ग्राहकलाई सेवा र वस्तु बेच्ने गरी लागेको होटल सञ्चालक रमेश सेढाईंको भनाइ छ । तर, पछिल्लो समय भने मलेखु बजार सुनसान बन्दै गएको छ ।

देशको आर्थिक मन्दीका कारण धादिङको मलेखु बजारका व्यवसायीहरू मारमा परेका छन् । माछाका परिकार खानेहरूको चौबीसै घण्टा भिड हुने मलेखु बजार अहिले मसानघाट जस्तै सुनसान बनेको छ । न त व्यापार भएको छ, न त माछाको माग नै छ । कारण हो आर्थिक मन्दी । मन्दीले देश अवस्था नाजु बनाएको मात्र होइन व्यापार व्यवसायसमेत ठप्प पारेको छ । मलेखु बजार भन्नासाथै थरीथरीका माछा फ्राई गरेर पेरुंगामा झुण्डाइराखेको दृश्य पृथ्वीराजमार्ग भएर यात्रा गरेका जो कोहीको मनमा आउँछ । अहिले पनि मलेखुमा माछा यसैगरी नै राखिएको छ । तर, माछाको स्वाद लिन र कोसेली लैजानेहरूको संख्या भने ह्वात्तै घटेको छ ।

देशकै अर्थतन्त्रमा छाइरहेको मन्दीको प्रभाव आफूहरूको व्यवसायमा पनि परेको यहाँका व्यवसायीको भनाइ छ । व्यापार हुन छाडेपछि व्यवसायीहरू पलायन हुने अवस्था छ । पहिलेको तुलनामा २५ देखि ३० प्रतिशत मात्रै व्यापार भए पनि खर्च धान्न मुश्किल पर्दा आफूहरूलाई व्यवसायमा टिक्न नै मुश्किल परिरहेको व्यवसायीहरूको गुनासो छ । बैंकको व्याजदर बढि हुनु र सहज रूपमा लोन नपाइराखेका कारण पनि अर्थतन्त्रमा मन्दी देखिएको यहाँका व्यवसायीको विश्लेषण छ । अर्थतन्त्रमा आएको मन्दीपछि बजार विस्तारै चलायमान बन्दै जाने भएकाले धैर्यता राख्न उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताउनुभयो । सरकारले उचित कदम नचालेमा व्यवसाय अझै नकारात्मक बन्दै जाने र आफूहरू सटर बन्द गरेर हिँड्ने अवस्था आउने चिन्ता व्यवसायीको छ ।

मलेखुमा सबैभन्दा पहिले माछाको व्यवसाय सुरु गर्ने व्यक्ति हुनुहुन्छ छविलाल मरहठ्ठा । उहाँले २०३५ फागुनदेखि मलेखुमा माछाको परिकार बनाएर व्यवसाय थालनी गर्नुभएको हो । मरहठ्ठाले सुरुवात गरेको माछाको व्यवसाय विस्तार हुँदै अहिलेको अवस्थामा आइपुगेको हो । पुख्र्यौली थलो गोरखा जिल्ला भए पनि छविलाल वर्माबाट फर्किएर मलेखु आइपुग्नु भएको थियो । बर्मामा हुर्किनुभएका मरहठ्ठाले वंगाली भाषामा ‘वैगुन भर्ती आलु चोखा’ भनिने आलुचप बनाएर व्यवसाय सुरु गर्नुभएको थियो ।

‘एकदिन जाल खेल्दै आएका एकजना चेपाङले त्रिशूली नदीमा जालमा पारेको माछा बेच्न ल्याए । त्यही माछा किनेर त्यस्लाई तारेर बेच्न सुरु गरेको हुँ’–छविलाल बताउनुहुन्छ । पहिलो दिनमै आधा केजी माछा बिक्यो । भोलिपल्टबाट तिनै चेपाङलाई आग्रह गरेर नदीमा माछा मार्न पठाएर माछा ल्याउँदै तारेर र सिलमा सुकाएर बेच्न थालेको ७८ वर्षीय मरहठ्ठाले जानकारी दिनुभयो । मलेखुमा माछाको व्यापार सुरु गर्दा पोखरा–काठमाडौं जोड्ने पृथ्वीराजमार्ग भर्खरै खुलेको थियो । त्यति बेला दैनिक सात आठवटा गाडी चल्थ्यो । सुरुवातका केला ५० पैसा प्रतिगोटा चप र पाँच रुपैयाँ प्रतिप्लेट माछा बेच्ने गरिएकोमा अहिले चपको प्रति गोटा १५ र माछाको प्रति प्लेट १८० रुपैयाँ पुगेको र व्यापार पनि विस्तार हुँदै गएको उहाँले बताउनुभयो । मलेखुमा लकडाउन सुरु हुनु अघिसम्म दैनिक १५ क्विटल माछा र एक क्विन्टल आलुको चप बिक्री हुने गर्दथ्यो ।

पर्यटक तान्न बनाइएको थियो माछाको प्रतिमा
माछाका परिकारहरूका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा २०७७ साल साउन ११ गते माछाको प्रतिमा निर्माण गरिएको थियो । प्रतिमा निर्माण गर्न ६ लाख १८ हजार र राख्ने स्थानको निर्माण गर्न चार लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी गाउँपालिकाले जनाएको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई मलेखुमा थप आकर्षित गर्न गजुरी गाउँपालिकाले ढलौटको माछाको प्रतीक बनाएर मलेखु चोकमा राखेको थियो । अहिले मलेखु आसपास सयौँ होटल र गजुरी गाउँपालिकामा मात्रै ४५ वटा होटल व्यावसायिक रूपमा सञ्चालन भएकोमा मलेखुमा माछाको प्रतीक बनाएर मलेखुको पहिचानलाई जोगाउन खोजिएको थियो । मलेखुमा राखिएको माछाको प्रतिमा ललितपुरस्थित विद्याधारी हस्तकला केन्द्रका बावुराजा महर्जन र उहाँका छोरा अनिश महर्जनले निर्माण गर्नुभएको हो ।

त्रिशूलीदेखि तराईसम्मका माछा
मलेखु बजारमा मलेखु खोला, त्रिशूली नदी, स्थानीय पोखरी र चितवन, विरगंज, जनकपुर लगायतका स्थानबाट ल्याइएका माछा पाइन्छन् । सुरुका दिनमा मलेखु खोला र त्रिशूली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किएपछि बैकल्पिक स्रोतबाट मलेखुमा माछा ल्याउन थालिएको हो । २०५० साल पछि तराई क्षेत्रका माछाले मलेखुमा प्रवेश पाएको व्यवसायीहरू बताउँछन् । अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछाका परिकार उपलब्ध हुने गर्दछन् ।

स्थानीय व्यवसयी रमेश सेढाईंका अनुसार तेलमा तारेको (फ्राइ माछा) माछा सबैले मन पराउँछन् । माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन् । जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन् । खाना खानेहरूले त झोल हालेर नै बनाउन लगाउँछन् । अधिकांशले आफूले खाएपछि परिवारका लागि समेत फ्राई गरेको, आलो, सुकाएको माछा घर लाने गरेको सेढाईंले बताउनुभयो ।

मलेखुमा माछासँगै खाने लोकप्रिय भएको अर्को परिकार हो आलु चप । मधुमेह भएकाबाहेक सबैले खान हुने परिकारका रुपमा आलुचपलाई लिइन्छ । आलु उसिनेर जिरा, धनियाँ, नुन खुर्सानी, प्याज मोलेर सानो ढ्याक आकार बनाई बेसनको लेदोमा चोपेर तेलमा पकाएर बनाइन्छ आलु चप । तातो खाँदा छुट्टै स्वाद भएकाले सबैले मन पराउँछन् । मलेखुका सबै माछा पसलमा आलुचप बनाइन्छ । माछाको स्वाद लिनुपूर्व तातोतातो आलु चपको स्वादसँग आन्तरिक तथा विदेशी पर्यटकहरू आकर्षित हुने गरेका छन् । सुरुका दिनमा एक परिवारको जीविकोपार्जनका लागि सुरु गरेको व्यवसायले मलेखुको पहिचान र यस क्षेत्रको आर्थिक समृृद्धिमा ठूलो टेवा पुगेकोमा स्थानीय सन्तुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?