उदयपुरको घुर्मी–कुमलटार जोड्ने सडक निर्माण सुरु

Read Time = 4 mins

-सरोज निरौला
उदयपुर । उदयपुरको घुर्मीदेखि विकट पहाडी ताप्ली गाउँपालिका जोड्ने कच्ची सडक निर्माण कार्य सुरु भएको छ। कुल ३७ किलोमिटर सडकमध्य ८ किलोमिटरमा ट्रयाक खोल्ने काम सुरु भएको हो ।

प्रदेश १ सरकार, पूर्वाधार विकास मन्त्रालय मातहत पूर्वाधार विकास कार्यालय उदपुरले चालु आर्थिक वर्ष २ करोड बजेटबाट उक्त सडक निर्माणको काम थालेको हो।

ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मा, उपाध्यक्ष धनम मगरलगायत स्थानीय जनप्रतिनिधि पहलमा उक्त सडक खण्डको ८ किलोमिटर सडकको लागि प्रदेश नम्बर १ सरकारबाट तीन करोड बजेट सुनिश्चिता भएको थियो ।

मंगलबारदेखि सुरु सडकको काम घुर्मीदेखि कुमालटार हुँदै कुनाईघाटसम्म सुनकोसी नदीको उदयपुरतर्फ किनारैकिनार ८ किलोमिटर निर्माण हुने पूर्वाधार कार्यालयका प्रमुख (डिई) शम्भु साहले बताउनु भयो । उहाँका अनुसार घुर्मी–कुटाईघाट खण्डको २५ किलोमिटर नयाँ कच्ची सडक खन्नुपर्ने इस्टीमेट रहेकोमा चालु वर्ष ८ किलोमिटर मात्र निर्माण गर्ने गरी २ करोड विनियोजित रकम ठेक्का लगाएर काम थालिएको हो।

जस अनुसार चालु वर्ष मूल्य अभिवृद्धि कर (भ्याट) सहित १ करोड ७२ लाखमा ठेक्का लागेको छ । आउँदो असार मसान्तभित्र सम्पन्न गरिसक्ने गरी सडक निर्माणको काम डिसी–दोभान–डिआर वेबीले सम्झौता गरेको हो । घुर्मी–कुमालटार खण्डको बीचमा पर्ने बेँसीगाउँदेखि कुमालटारसम्मको ६ किलोमिटर कच्ची सडक भने यसअघि नै निर्माण भईसकेको छ ।

विभिन्न प्राविधिक समस्याका कारण सम्झौता गर्न ढिला भए पनि तोकिएकै समयभित्र सडक निर्माण सक्ने गरी काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ । ४ महिना मात्र अवधि भए पनि सबै यन्त्र उपकरण र कामदार जनशक्ति तैनाथ रहेकाले असार १५ भित्रै सडक निर्माण सक्ने गरी काम भइरहेको जेवीका प्रतिनिधि हेम दाहालले बताउनु भयो ।

हाल काठमाडौसम्म यात्राको गर्नका लागि ताप्लीका नागरिकहरु कटारी, गाईघाट धाउनु पर्ने बाध्यता छ । उक्त सडक निर्माण भएर यातायात संञ्चालनमा आए स्थानीय नागरिकहरुको जीवनस्तरमा बृद्धि हुने साथै स्थानिय उत्पादनहरुले बाहिरी जिल्ला सम्मको बजार पाउने जनाइएको छ ।
यो सडकले सदरमुकामदेखि कटारी, घुर्मी, कुमालटार हुँदै ताप्ली मुकाम रुपाटार पुग्न पनि आधा बाटो छोटिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?