लामो खडेरी पछि म्याग्दीमा भीषण असिनापानी

मकै, फलफूल र टिम्मुर खेतीमा क्षति

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । लामो खडेरी पछि आइतबार साँझ परेको भीषण असिना पानीले म्याग्दीमा मकै, फलफूल र टिमुर खेतीमा क्षति पुर्याए पछि किसानहरू चिन्तित बनेका छन् । खडेरीका कारण गहुँबालीमा समेत क्षति व्यहोरेका यहाँका किसानहरू मकै बाली असिनाले नष्ट गरिदिए पछि थप समस्यामा परेका हुन् ।

आइतबार दिउँसो पश्चिमी र उत्तरी म्याग्दीका धवलागिरि, मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाका प्रायः सबै गाउँमा असिना परेको थियो । असिनाले आलु, मकै, सुन्तला जात फलफूल र टिम्मुर बालीमा क्षति पुगेपछि कृषक चिन्तित भएका जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलका अनुसार असिनाले पुर्याएको क्षतिको विवरण संकलन भैरहेको छ ।

असिनाका कारण म्याग्दीको लेकाली क्षेत्रमा राखिएको धानको व्याडमा समेत क्षति पुगेको मालिका गाउँपालिका ६ का कृषक टीकाबहादुर राम्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार बारीमा हुर्कदै गरेका मकैका विरुवा र खेतमा राखिएको धानको विऊका बेर्नाहरु असिनाले नष्ट गरेको छ ।

त्यसैगरी सुन्तला, कागती र टिम्मुरका बतिला पनि असिनाले झारेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ, पन्थोक, मगरदाङ, जुग्जा, रुम,मंगला गाउँपालिकाको अर्मन,कुँहू, रघुगंगाको मौवाफाँट, अन्नपूर्णको टिकोट लगायतका क्षेत्रमा हावाहुरीसहितको असिना परेको र ठूलो क्षति पुर्याएको कृषकहरूले बताएका छन् ।

पश्चिम म्याग्दीको देविस्थान, रुम, पन्थोक लगायतका क्षेत्रमा तीन घण्टा भन्दा बढी असिना परेको किसानहरूले बताएका छन् । लामो समयसम्म परेको ठूल्ठूलो असिनाले चुटेर यस क्षेत्रको बाली कामै नलाग्ने अवस्थामा पुगेको पन्थोकका किसान ललित घर्तीमगरले बताउनुभयो ।

असिनाले सबैभन्दा बढी क्षति मकैबालीलाई पुर्याएको किसानहरुले बताएका छन् । मकै म्याग्दीको प्रमुख खाद्यबाली हो । आलु र सुन्तला म्याग्दीबाट निकासी हुने मुख्य कृषि उपज हुन् । यसपालि हिउँ र बर्सात नहुँदा जौ, गहुँ, उवा, तोरी, केराउलगायत हिउँदेबालीको उत्पादनमा असर परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?