शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी र थ्रीस्टारको बराबरी, पुलिसद्वारा एपिएफ पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लबबीचको खेल एक-एकको बराबरीमा सकिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा दुवै टोलीले बराबरी खेलेका हुन् । थ्रीस्टारले खेलमा अग्रता लिए पनि जोगाउन सकेन । मिडफिल्डर लाकेन लिम्बूले थ्रीस्टारका लागि गोल गर्दा आर्मीका लागि दिनेश हेन्जनले बराबरी गोल फर्काउनुभएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८औँ मिनेटमा लाकेन लिम्बूले थ्रीस्टारलाई अग्रता दिलाउनुभएको थियो । आर्मीका गोलरक्षक विकेश कुथुले प्रहार गरेको किक मैदानको बीच भागमा लाकेन लिम्बूले नियन्त्रणमा लिँदै सोझै गरेको प्रहार गोलमा परिणत भयो ।

७३औँ मिनेटमा दिनेश हेन्जनको फ्रिकिकलाई गोललाइनबाट क्लियर गर्दै थ्रीस्टारका डिफेन्डर पिटर सेगुनले आर्मीको गोल हुन दिनुभएन । ८६औँ मिनेटमा आर्मीले बराबरी गोल फर्कायो । सुदिल राईको क्रसमा दिनेश हेन्जनले हेडरबाट गोल गर्नुभयो ।

यस बराबरीसँगै थ्रीस्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौँ स्थानमा नै छ ।
यस्तै, अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । पुलिसले एपिएफलाई एक-शून्यले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसको जितमा दोस्रो हाफमा विदेशी फरवार्ड मोसेसले निर्णायक गोल गर्नुभयो ।

खेलको ६१औँ मिनेटमा मोसेस गोल गर्न सफल हुनुभयो । जितसँगै पुलिसले रेलिगेसन क्षेत्र छाडेको छ । पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औँ स्थानमा उक्लिएको छ । पराजित एपिएफको पनि समान खेलबाटै २२ अंक रहे पनि हेड टु हेडमा पछि रहँदै ११औँ स्थानमा छ । पाँच टोलीको समान २२ अंक छ । आर्मी सातौँ स्थानमा रहँदा मनाङ र एनआरटी आठौँ र नवौँ स्थानमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?