मदन भण्डारी हत्याबारे समयक्रममा सत्यतथ्य बाहिर आउनेछ : ओली

‘सत्ता र स्वार्थका लागि बनेको अहिलेको गठबन्धन उद्देश्यहीन ’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याबारे समयक्रममा सत्यतथ्य बाहिर आउने बताउनुभएको छ । बुधबार मदन-आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भण्डारीको हत्याबारे समयमा खोजी हुने र सत्यतथ्य बाहिर आउने दाबी गर्नुभएको हो । ‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तर्वार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो । नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर,’ ओलीले भन्नुभयोे, ‘यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’ उहाँले देश बनाउने संकल्प बोकेर हिँडेका नेताहरू गुमाएको दिनका रूपमा यस दिनलाई स्मरण गर्नुभयो । ओलीले भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको पनि बताउनुभयो ।

सत्ता गठबन्धनमा रहेका दलहरूले राजनीतिलाई अति हल्का ढंगले लिनु दुःखद भएको बताउनुभयो । अध्यक्ष ओलीले कांग्रेसलाई ‘हावा न चावा’ को पार्टी भन्दै टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयोे, ‘देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किं कर्तव्य विमुख, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।’ अध्यक्ष ओलीले सत्तामा पुग्नका लागि, सरकार गठनका लागि एमालेबाट गठबन्धन बनाउने काम नहुने स्पष्ट गर्दै वस्तुतः नेकपा (एमाले) एक्लैले जटिल परिस्थितिबाट देशलाई जोगाउनुपर्ने धारणा राख्नुभयो । ‘उहाँले भन्नुभयोे, ‘हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ । अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो । नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन हो, कार्यक्रमविहीन गठबन्धन हो ।’ राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले अहिलेको सत्ता गठबन्धन टिक्छ कि जान्छ भन्नेमा मात्रै सीमित रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा महासचिव शंकर पोखरेलले मुलुकको संकटमोचन गर्नसक्ने पार्टी नेकपा (एमाले) मात्रै भएको बताउनुभयो । उहाँले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता आजका चुनौती रहेको बताउँदै मदन-आश्रितका योगदानको जगमा आजका चुनौतीको सामना गर्नुपर्ने धारणा राख्नुभयो । जननेता भण्डारीको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्दै अगाडि बढाउन सफलता मिलेको, पुष्पलालले अगाडि सार्नुभएको निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको अवधारणा कार्यान्वयन गर्न सफल भएको, २०४७ सालको संविधान जारी गर्दा जननेता भण्डारीले पार्टीका तर्फबाट राख्नुभएका २७ बुँदे फरक मत २०६२/६३ को जनआन्दोलनले अनुमोदन गरेको चर्चा गर्दै महासचिव पोखरेलले जननेता भण्डारी दूरदर्शी नेता भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?