प्रतिशोधको राजनीतितर्फ उन्मुख पाकिस्तान

Read Time = 17 mins

✍️ शम्भु कोइराला

नमागिएको सल्लाह :
गएको मे ९ का दिन इस्लामावाद हाईकोर्ट परिसरबाट पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछिको प्रदर्शनले हिंसात्मक रूप लियो । कुनै भाग्नै लागेको गम्भीर अपराधीलाई पक्राउ गर्ने शैलीमा प्रस्तुत भएको अर्धसैन्य बल रेन्जर फोर्सको रवैया जोसुकै सभ्य समाजलाई पच्ने किसिमको थिएन । त्यस गिरफ्तारीको शैलीले प्रतिशोधको राजनीति कति निर्लज्ज हुँदोरहेछ भन्ने छनक दिइरहेको थियो । इमरानलाई लगाइएका आरोप वास्तविकतामा आधारितभन्दा राजनीतिक प्रतिशोध साध्न गरिएका थिए भन्नेमा आमनागरिकको जानकारीमा हुँदाहुँदै पनि पाकिस्तानी संस्थापनले हदैसम्मको बल प्रयोग गर्‍यो ।

इमरानको गिरफ्तारीपछि देखिएको उनका समर्थकको प्रतिक्रियाले पाकिस्तान गृहयुद्धमा फस्न लागेको हो कि ? भनेर विश्लेषण हुन सुरु भइसकेको थियो । गिरफ्तारीको दुई दिनपछि पाकिस्तानी सुप्रिम कोर्टले रिहा गर्न आदेश दिएपछि परिस्थिति सहजतातर्फ उन्मुख भयो । सन् १९४७ मा स्वतन्त्र भएपछि सधैंजसो अस्थिर राजनीतिको शिकार भएको पाकिस्तान किन झन् अस्थिर हुने बाटोमा गइरहेको छ ? निर्वाचित सरकार किन सेनाको निसानामा परिरहेका छन् ? के विगारे इमरानले जस्को कारण उनीमाथि भौतिक आक्रमणसमेत भइरहेको छ । बनाबटी मुद्दा बनाएर किन मुलुकलाई थप अस्थिरतातर्फ लगिँदैछ, चुनावी कार्यक्रमहरू किन परिवर्तन भइरहेका छन् ? यस आलेखमा यिनै विषयमा चर्चा हुनेछ ।

पाकिस्तानको राजनीति :
२५ जुलाइ, २०१८ मा भएको निर्वाचनले तीन दललाई मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित ग¥यो । इमरानको नेतृत्वमा रहेको पार्टी पाकिस्तान तहरीक-ए- इन्साफ (पिटिआई) सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो भने शेहवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग दोस्रो ठूलो पार्टीको रूपमा स्थापित भयो । बेनजिर पुत्र बिलाबल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी तेस्रो ठूलो दलका रूपमा रहृयो । संसद्मा कुनै पनि दलको स्पष्ट बहुमत नभएको कारण साना दलहरूको समेत निर्णायक अवस्था रहेको छ ।

पाकिस्तान मुस्लिम लिग (एन) र पाकिस्तान पिपुल्स पार्टी पुराना पार्टी हुन् भने इमरान नेतृत्वको (पिटिआई) अपेक्षाकृत रूपमा नयाँ पार्टी हो । क्रिकेटको कप्तानीबाट निवृत्त भएपछि राजनीतिक कप्तानीमा डेब्यु गरेका इमरानलाई सुरुवाती दिनहरूमा खासै सफलता मिलेन । १९९६ मा स्थापना भएको यस पार्टीले १९९७ मा भएको नेसनल एसेम्लीको पहिलो चुनावमा एक सिटमा पनि जित हासिल गर्न सकेन भने २००२ मा भएको चुनावमा इमरान एकजनाले मात्र विजय हासिल गरे । सैनिक शासकको रूपमा परवेज मुसर्रफले गराएको पहिलो चुनाव बहिष्कार गरेको पिटिआई सन् २०१३ को चुनावमा नेसनल एसेम्लीमा तेस्रो स्थान हासिल गर्न सफल भयो ।

पाकिस्तानको राजनीतिमा परम्परागत रूपमा नै हावी भएको शक्ति सेना हो । राजनीतिक अस्थिरताको मुख्य कारण पनि सेनाको राजनीतिप्रतिको रुचि र हस्तक्षेप पनि हो । हालै उनलाई गरिएको पक्राउलाई इनरानले सेना प्रमुख जनरल असिम मुनिरको निर्देशनमा भएको भनेका छन् ।

‘परिवर्तन आउँदैछ’ नारा दिएर सन् २०१४ मा ‘आजादी मार्च’ सञ्चालन गरेका इमरानको पार्टी सन् २०१८ को चुनावमा लगभग पौने दुई करोड मत हासिल गरेर नयाँ कीर्तिमान बनाउन सफल भयो यद्यपि संसदमा बहुमतका लागि केही सिटको कमी रहेको थियो । केही पार्टीको सहयोगमा उनी पहिलो पटक प्रधानमन्त्री बन्न सफल भए । यो सफलताको पछाडि उनको क्रिकेट कप्तानको रूपमा बनेको व्यक्तित्व र पाकिस्तान पिपुल्स पार्टीलाई मतदान गर्दै आएका मतदाता उनको पार्टीप्रति आकर्षित हुनु हो । प्रधानमन्त्री बनेपछि सरकारी सुविधा नलिई आफ्नै पुरानै जीवनशैलीलाई निरन्तरता दिएका कारणले पनि मतदातामाझ उनको सकारात्मक प्रभाव रहेको छ ।

सन् २०२२ मा उनीउपर पेश भएको अविश्वास प्रस्ताव संसद्को बहुमतबाट पारित भएपछि इमरान प्रधानमन्त्रीबाट बहिर्गमित बन्न पुगेका हुन् । उनी प्रधानमन्त्रीबाट विस्थापित भएपछि दोस्रो ठूलो दल पाकिस्तान मुस्लिम लिग (एन्) का नेता सहवाज सरिफ साना दलको समर्थन जुटाएर प्रधानमन्त्री बनेका छन् भने तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका नेता भुट्टो परिवारका बिलाबल भुट्टो जर्दारी विदेशमन्त्री छन् ।

संस्थापनको निशानामा इमरान :
पातिस्तानको राजनीतिमा परम्परागत रूपमा नै हावी भएको शक्ति सेना हो । राजनीतिक अस्थिरताको मुख्य कारण पनि सेनाको राजनीतिप्रतिको रुचि र हस्तक्षेप पनि हो । हालै उनलाई गरिएको पक्राउलाई इनरानले सेना प्रमुख जनरल असिम मुनिरको निर्देशनमा भएको भनेका छन् भने सरकारी संस्थापन पक्षले इमरानले आतंकवादलाई प्रश्रय दिएको, आतंकवादी काम गरेको बताइरहेको छ ।

पाकिस्तानी सरकारकी प्रवक्ताद्वारा अदालतबाट इमरान अनुकूल फैसला आउला भन्ने भयले अदालतलाई र न्यायाधीशलाई सार्वजनिक सञ्चारमाध्यमबाट धम्क्याउने काम पनि भएको थियो । त्यसको बाबजुद पनि सर्वोच्च अदालतले कुनै पनि मुद्दामा दुई सातासम्म उनलाई पक्राउ नगर्न दिएको आदेशले उनलाई केही राहत भएको छ ।

इमरानले आफूलाई पुनः भौतिक आक्रमण भएमा सेनाका केही जनरलहरू जवाफदेही हुने भनेर पाकिस्तानी जनतालाई सार्वजनिक सम्बोधनमार्फत बताएको कारण उनको गिरफ्तारीपछि पाकिस्तानको इतिहासमा पहिलो पटक सैनिक इलाकाहरू प्रदर्शनकारीको आक्रमणको निशानामा परेका थिए । सेनाको कठोर तारबार तोडेर जनताले सैनिक परिसरभित्र छिरेर विध्वंश मच्चाएका थिए ।

जनउभारलाई मध्यनजर राखेर सरकारले त्यस्तो विध्वंशलाई पनि मूकदर्शक बनेर हेरिरहृयो । यस घटनाबाट सेनाको साख घटेको छ, सरकार लज्जित बन्नुपर्ने अवस्था बनेको छ भने इमरानको लोकप्रियता बढेको आकलन गरिएको छ । चुनावमा इमरानको राम्रो प्रदर्शन होला भनेर डराएको त्यहाँको संस्थापन गैरसंवैधानिक रूपमा चुनावको मिति सारिरहेको आरोप इमरान र उनका समर्थकको रहेको छ ।

अदालत परिसरबाट अर्धसैन्यबल लगाएर अस्वाभाविक रूपमा पक्राउ गरेको कारण देशभरि विध्वंशको वातावरण बनेर आठजनाको मृत्य भएको बताइएको छ भने ठूलो मात्रामा धनको क्षति भएको छ । सयौं पिटिआई कार्यकर्ता हिरासतमा रहेका छन् । सेनाको निसानामा इमरान छन् भने इमरानको निसानामा पूर्वसेनाप्रमुख बज्वा र वर्तमान सेना प्रमुख असिम मुनिर रहेका छन् । इमरानको बुझाइमा बज्वाको कन्स्पिरेसी सिद्धान्तमा मुनिरले काम गरिरहेको भन्ने छ । उनीमाथि भएका भौतिक आक्रमणको दोष पनि तिनै सैनिक जनरलपट्टि लक्षित रहेको छ । सेनाको कारण उनको सत्ता गुमेको बुझाइ छ । संयुक्त राज्य अमेरिकाको आडमा उनीमाथि षड्यन्त्र भइरहेको बुझाइसमेत इमरानको रहेको छ ।

इमरान सत्तामा टिकिरहनेभन्दा केही परिवर्तन गर्ने नारा लिएर सत्तासीन भएका थिए । उनको प्रशासनले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने नीति लिएको कारण चीन, रुस र अफगानिस्तानसँग उनको सम्बन्ध राम्रो रहृयो । यो विषय परम्परागत रूपमा आफ्नो प्रभाव जमाइ राखेको संयुक्त राज्य अमेरिकालाई सहृय भएन र घरेलु राजनीतिमा प्रवेश गरेर उनी बहिर्गमन हुनुपरेको बुझाइ खानको छ । अफगानिस्तान सम्बन्धलाई लिएर उनका विरोधीहरूले उनलाई तालिवान खान पनि भन्ने गरेका छन् ।

आगामी दिन चुनौतीपूर्ण :
सर्वोच्च अदालतको आदेशको कारण हिंसात्मक प्रदर्शन रोकिएको छ । अदालती आदेशबाट त्यहाँको सत्ता र संस्थापन खुसी छैन भन्ने सहजै बुझ्न सकिन्छ । जति बन्दुकको नाल अगाडि सर्छ, न्याय कमजोर बन्दै जान्छ । अदालती फैसलामा न्याय देखिनु जति महŒवपूर्ण छ, न्यायिक फैसला गर्ने सुरक्षित वातावरण हुनु पनि उत्तिकै महत्वपूर्ण छ । सरकारी प्रवक्ताले न्यायाधीशलाई दिएको धम्कीलाई मध्यनजर राख्दा पाकिस्तानी न्यायाधीशले कति न्यायिक मनको प्रयोग गर्न सक्छन्, कति विवेकको प्रयोग गर्न सक्छन्, पाकिस्तानका आगामी दिनहरू त्यसैबाट निर्धारित हुनेछन् ।

क्रिकेट खेलाडीका रूपमा इमरानले सैयौं चौका र छक्का हाने होलान्, त्यस्को तरिका पनि बुझेका होलान् । तर, राजनीतिमा सत्ता हान्न सिकेका छैनन् । राजनीतिक यात्राको दुई अढाई दशकमा सत्ता हान्न के कति सिके, उनको भविष्य पनि त्यसैमा निर्भर रहनेछ ।

पाकिस्तानमा प्रजातन्त्रलाई बचाइराख्न त्यहाँका मुख्य तीन दलको सुझबुझ पनि उत्तिकै महत्वपूर्ण छ । राजनीतिक प्रतिद्वन्द्वीको रूपमा उदाएका खानलाई राजनीतिक सहयात्रीको व्यवहार गरेर आगामी चुनावमार्फत राजनीतिक समाधान निकाल्ने कि प्रतिशोधको आगोले जलेर खरानी बन्ने ती दलका मुख्य नेताको सुझबुझ र विवेकमा भर पर्ने विषय हो । कस्को रिसले कसलाई कुटेको भन्ने नेपाली उखान चरितार्थ हुनेगरी सैनिक शासनको बाटो सजिलो बनाउने कि जनताको इच्छा बमोजिम जनताबाट रुचाइएका प्रतिनिधिबाट शासित हुने भन्ने छनौट गर्ने काम त्यहाँका प्रमुख नेताहरूमा रहेको छ ।

वर्तमान प्रधानमन्त्री सरिफले आफू अगाडिका नेताले पाएको हण्डर र अपमान सम्झेर निर्णय गर्छन् कि प्रतिशोधमा पिल्सिन्छन्, हालका विदेशमन्त्री रहेका बिलाबल भुट्टो जर्दारीले आफ्ना हजुरबा जुल्फिकर अलि भुट्टोले झुठा आरोपमा फाँसीमा झुण्डिएर बलिदानी दिएको कारण जेजस्तो भए पनि चुनाव भएर जनताका प्रतिनिधिले शासन गरिरहेका छन् भन्ने ख्याल राख्छन् कि अल्पायुको विदेश मन्त्रालयको रवाफमा रमाउँछन्, पाकिस्तानका आगामी दिनहरू त्यसैमा निर्भर हुनेछन् ।

अब कुरो रहृयो नेता इमरानको, क्रिकेट खेलाडीका रूपमा उनले सैयौं चौका र छक्का हाने होलान्, त्यस्को तरिका बुझेका होलान् । तर, राजनीतिमा सत्ता हान्न सिकेका छैनन् । राजनीतिक यात्राको दुई अढाई दशकमा सत्ता हान्न के कति सिके, उनको भविष्य त्यसैमा निर्भर रहनेछ । उनका आगामी दिनहरू धेरै चुनौतीपूर्ण हुने पक्का छ । हालै उनको गिरफ्तारीपछि भएको प्रदर्शनमा भएका हिंसालाई लिएर उनी र पिटिआईका कार्यकर्तामाथि कठोर मुद्दा चलाउन सरकारी प्रयास हुनेछ ।

अदालतले पनि सत्ताको निसानामा भएको कारण सधैं उनको संरक्षण गर्न सक्नेछैन । राष्ट्रिय सेनामाथि विभाजन ल्याउन खोजेर देशद्रोही काम गरेको लगायत अनेकौं मुद्दा उनले खेप्नुपर्ने हुनसक्छ । उनी दुई तरबारको धारमा रहेका छन् जनताको शक्ति प्रदर्शनलाई कमजोर बनाएको अवस्थामा उनीमाथि भौतिक आक्रमणदेखि लिएर अनेकौं झुटा मुद्दामा फसाउने काम हुनेछ भने शक्ति प्रदर्शन गर्दा सेना र सरकारी संरचना लक्षित बनेर ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।

पाकिस्तानको प्रजातन्त्रलाई जोगाउन, विगतका सैन्य गतिविधिलाई सम्झेर तीन दलका ठूला नेता बसेर प्रतिशोध होइन सौहार्द्रताको सञ्चार गर्न जरुरी छ । यस कामको मध्यस्थताका लागि बिलाबल भुट्टो उपयुक्त पात्र बन्न सक्दछन् । उनमा हजुरबा जुल्फिकर अलि भुट्टो र आमा बेनजिरको विरासत तथा रक्त सञ्चारित छ । उमेर छ, देश बनाउँने सपना पक्कै होला । उच्च शिक्षा छ, कूटनीतिको अनुभव छ । अरूले पनि बुझ्नुप¥यो, उनले त बुझ्नै पर्‍यो, राष्ट्र समृद्ध भए जनता सुखी हुन्छन् । तिनै पार्टीका नेताको वैभवमा के कमी छ र प्रतिशोध साधेर मुलुकलाई कमजोर बनाउनु । किन अदृश्य र विदेशी शक्तिको गोटी बन्नु ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?