अरुण गाउँपालिकाको चरम्वीमा प्रहरी पोष्ट स्थापना

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ४ चरम्वीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अरुण गाउँपालिका प्रमुख शालिकराम खत्री, कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भिमप्रसाद ढकाल र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नयाँ स्थापना भएको अस्थायी प्रहरी पोष्टको उद्घाटन गर्नु भएको हो ।

चरम्वी स्वास्थ्य चौकी भवन नजिकै स्थापना भएको प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षक राजेन्द्र कटुवालको नेतृत्वमा प्रहरीको ब्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताउनुभयो । प्रहरी पोष्ट स्थापनासँगै चरम्वीवासीमा समेत उत्साह देखिएको छ ।

जिल्ला सुरक्षा समितिले २०७९ मंसिरमा प्रहरी पोष्ट स्थापनाका लागि गृह मन्त्रालयसँग माग गरे अनुसार फागुन महिनामा स्वीकृती आएपछि प्रहरी पोष्ट स्थापना भएको हो । अन्य प्रहरी पोष्ट भन्दा टाढा रहेका कारण सो क्षेत्रमा स्थानीयले प्रहरी युनिटको माग गरेका थिए । प्रहरी पोष्ट स्थापनासँगै चरम्वीवासीले शान्ति सुरक्षाको प्रत्याभुति गर्ने भएकाले सोही अनुसार प्रहरी कर्मचारीले काम गर्नु पर्ने गाउँपालिका अध्यक्ष खत्रीले बताउनुभयो । ग्रामीण क्षेत्रहरुमा स्थापना हुने प्रहरी युनिटहरुले नागरिकमा सुरक्षाको प्रत्याभुती देखिने अध्यक्ष खत्रीको भनाई रहेको छ ।

प्रहरीबाट नागरिकले गरेका अपेक्षा अनुसार शान्ति सुरक्षा सुदृढ गर्ने कार्यमा लाग्न चौकीमा खटिएका प्रहरी चौकीका प्रहरी कर्मचारीलाई कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी ढकालले निर्देशन समेत दिनुभयो । ढकालले आफनो गृह जिल्ला भएकाले जिल्लाका लागि सधै आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नेपाल सरकारको योजना अनुसार नेपाल प्रहरी प्रधान कार्यालयको गत फागुन २३ गते आदेश अनुसार अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । चरम्वीसहित आसपासका नागरिकका लागि स्थापना गरिएको प्रहरी पोष्ट संचालनका लागि वडा कार्यालयले सधै सहयोग गर्ने वडाध्यक्ष जंगबहादुर राईले बताउनुभयो । शान्ति सुरक्षामा सहयोग मिल्ने भन्दै वडाध्यक्ष राईले वडाका तर्फबाट एक थान मोटरसाइकल समेत प्रहरी पोष्टलाई सहयोग गर्नु भयो ।

जिल्ला सुरक्षा समितिले ग्रामीण क्षेत्रमा पनि प्रहरी पोष्टहरु आवश्यक देखेकाले सोही अनुसार चरम्वीमा पनि अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि सिफरिस गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । नागरिकमा सुरक्षाको प्रत्याभुति दिलाउन आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले दुर्गम क्षेत्रहरुमा पनि प्रहरी पोष्टहरु आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?