सुदूरपश्चिम प्रदेश सरकारका सय दिनः के–के भए उपलब्धि ?

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 8 mins

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ । गत माघ २७ मा शपथ खाएका मुख्यमन्त्री शाहको शुक्रवार पदभार ग्रहण गरेको सय दिन पुगेको हो ।

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्रीले राजनीतिक सहमति र स्थायित्वको नेतृत्व गर्दै वर्तमान सरकारले काम गरिरहेको उहाँको दाबी छ ।

भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुवात र वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको विजारोपण भएको उल्लेख गरिएको छ । सरकारले धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनीकरणमा सहकार्य र शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पहल थालिएको मुख्यमन्त्री शाहले बताउनु भयो ।

सरकारले पूर्वाधारतर्फ २२ किलोमिटर पक्की र ७५ किलोमीटर ग्राभेल सडक निर्माण भएको र खानेपानीका ३३ वटा आयोजनाबाट ४ हजार ५३८ जना लभान्वित भएका छन् । यो अवधिमा ३ वटा सडक पुल र १ झोलुङ्गेपुलको काम सम्पन्न भएको दाबी गरेको छ ।

प्रदेश सरकारले थप १ हजार २२६ हेक्टरमा सिँचाइ सुविधा पुगेको, १५० लाख किलोग्राम खोटो र ५ लाख किलोग्राम जडिबुटी संकलन हुँदा प्रदेशभर ४५ हजार बिरुवा रोपिएको जनाएको छ ।

एक सय दिनको अवधिमा प्रदेश सरकारले सदाचार नीति र भ्रष्टाचार नियन्त्रण कार्ययोजना तर्जुमा गरिएको छ । मागमा आधारित अनुशासित बजेट तर्जुमा प्रक्रियाको सुरुवात भएको, संघ र स्थानीय तहसँग समन्वय एवं विकास साझेदारसँग परामर्श गरिनुका साथै ३ लाख ५० हजार पशुपन्छीलाई खोप, आलु, किबी र चैते धान खेती विस्तार भएको सरकारले आफ्नो सय दिनको उपलब्धि मानेको छ ।

मुख्यमन्त्री शाहले प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजना र जिल्लाहरूको स्थलगत अवलोकन र अनुगमन गरी समस्या पहिचान र भावी कार्यदिशा निर्धारण गर्ने काम भएको बताउँनु भयो । सरकारले प्रदेशको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न गरेको, खप्तड, रामारोशन पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि विशेष पहल हुनुलाई सरकारको उपलब्धि ठानेको छ ।

यस्तै, प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको तयारी पूरा हुनुलाई पनि सरकारले उपलब्धि मानेको छ । सय दिनको अवधिमा सरकारले मुख्य रुपमा प्रणाली सुधारमा केन्द्रित रहेर काम गरेको जनाएको छ । सरकारले लामो समयदेखि निर्माण कार्यमा कुनै प्रगति नभएको विकास आयोजनाको स्थलगत अनुगमन गरि सम्बन्धित निर्माण व्यवसायी र कर्मचारीलाई आयोजनाको शीघ्र कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

प्रदेश सरकारले अनुशासन नीतिगत र प्रणालीगत सुधारका अतिरिक्त विकास निर्माणलाई तीव्रता दिइएको जनाएको छ । सरकारले पहिलो चौमासिकमा रहेको १४ प्रतिशतको न्यून प्रगति दरलाई बढाएर ३३ प्रतिशतमा पु¥याइएको छ । मुख्यमन्त्री शाहले प्रदेशमा रहेका राष्ट्रिय गौरव र प्रादेशिक गौरवका आयोजना कार्यान्वयनमा तीव्रता दिन समन्वय गरिएको दाबी छ । साथै संघीय सरकार तथा कुटनीतिक एवं विकास साझेदार निकायसँग समन्वय र परामर्श गरिएको जनाएको छ ।

सुदूरपश्चिम सरकारको १०० दिन घुमघाममै बित्यो : पूर्व मुख्यमन्त्री रावल

नेकपा एमाले सुुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुुमघाममै बिताएको टिप्पणी गर्नु भएको छ । एमाले संसदीय दलले शुुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका रावलले घुमघाममै दिन बिताएको बताउदै जनपक्षीय काम नभएको बताउनु भएको हो ।

‘मुख्यमन्त्री जीले पत्रकार साथीहरुलाई १०० दिनमा काम गरे भनेर बिहानै बोलाएर लामै फेहरिस्त बाड््नुुभएछ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले यो काम गरे त्यो काम गरे भन्दैमा कसले पत्याउँछ,’ रावलले भन्नुभयो, ‘यो सरकारका मुुख्यमन्त्री र मन्त्रीहरु घुमघाममै ठीक्क छन् ।’ रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजन बाहेक तीन महिनासम्म प्रदेशसभालाई कुनै विजनेश नै दिन नसकेको बताउँनु भयो ।

मन्त्रिपरिषद्लाई पूूर्णता दिन नसक्नु प्रदेश सरकारको पहिलो असफलता भएको बताउदै उहाँले सरकारका एक सय दिन उत्साहविहीन र निराशावादी रहेको उल्लेख गर्नुभयो । आफूहरुकै दबाबमा बजेट निर्माणका सम्बन्धमा स्थानीय तहबाट योजना छनौटको प्रक्रियाको थालनी गर्नुु राम्रो पक्ष भएको उहाँको भनाई छ ।

‘सरकारले पूर्णता पाउन सकेको छैन, उत्साहविहीन र निराशा बाहेक केही छैन । जनताले विकासको प्रत्याभूती गर्न पाएका छैनन्,’ रावलले भन्नुभयो, ‘प्रदेशसभालाई विजनेश दिन सकेको अवस्था छैन, ऐन कानून निर्माणमा ध्यान छैन । मुख्यमन्त्री र मन्त्रीहरु राज्यको पैँसामा घुमफिरमा मात्र व्यस्त देखिन्छन् । यो सरकार असफल देखियो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?