शहीद स्मारक ‘ए’ डिभिजन लिग : एपीएफमाथि शेर्पाको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई तीन-दुई गोल अन्तरले पराजित गरेको छ । हिमालयनको जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक-एक गोल गर्नुभयो । एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक-एक गोल फर्काउनुभयो ।

खेलको सातौं मिनेटमा गिल्सनको गोलबाट हिमालयनले सुरुवाती अग्रता बनाएको थियो । १८औं मिनेटमा पिस्टनले हिमालय टनका लागि दोस्रो गोल गर्नुभयो । त्योसँगै पहिलो हाफमा हिमालयनले दुई गोलको अग्रता बनाएको थियो । दोस्रो हाफको ५१औं मिनेटमा अबायोमीले गोल गर्दै हिमालयनलाई ३-०ले अग्रता दिलाउनुभयो । त्यसपछि खेलको अन्त्यतिर एपीएफले लगातार दुई गोल फर्कायो । ८७औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई तीन-एक को स्थितिमा ल्याउँदै खेलमा फर्कने संकेत दिलाउनुभयो । इन्जुरी समयमा युवराजले गोल गर्दा खेल तीन–दुई को स्थितिमा पुगेको थियो । तर त्यसपछि भने खेलमा थप गोल भएन ।

हिमालयनको यो छैटौं जित हो । हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । हिमालयन सातौं स्थानमा छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ । एपीएफ ११औं स्थानमा छ । यस्तै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी र एफसी खुमलटारले दुई–दुई गोलको बराबरी खेले । दशरथ रंगशालामा भएको खेलमा आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक-एक गोल गर्नुभयो । खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक-एक गोल फर्काउनुभयो ।

खेलमा दुई पटक अग्रता बनाए पनि आर्मीले त्यसलाई जोगाउन सकेन । खेलको १४औं मिनेटमा जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ३५औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

खेलको ५१औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई फेरि दुई-एक को अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ७५औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई दुई-दुई गोलको बराबरीमा ल्याउनुभयो । यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ । खुमलटार पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?