पुस्तक : समालोचनाको नवीनतम् पुस्तक मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ सुशीला घिमिरे

‘अभिव्यञ्जना यात्राप्रति’ साहित्यकार गोपी मैनालीको नवीनतम् कृति हो र यो कृति समालोचना सङ्ग्रह हो । गोपी मैनाली नेपालको निजामती प्रशासनमा रहेर पनि नेपाली साहित्य सिर्ननामा लाग्ने केही थोरै साहित्यकारको पंक्तिमा पर्नुहुन्छ । उहाँ नेपाल सरकारको उच्च पदस्त अधिकारी सचिव पदबाट केही वर्ष पहिले सेवानिवृत्त हुनुभएको छ । सेवामा छँदा पनि निरन्तर लेखिरहनुभएका मैनाली काभ्रे कानपुरका हुनुहुन्छ ।

नेपाली भाषाका पहिलो आधुनिक कथाकार गुरुप्रसाद मैनालीबाट पनि उहाँ अभिप्रेरित हुनुहुन्छ भन्ने अनुमान किन पनि गर्न सकिन्छ भने गुरुप्रसाद मैनाली पनि काभ्रे कानपुरकै हुनहुन्थ्यो र गोपी मैनमालीका अग्रज पनि । गोपी मैनालीको पारिवारिक परिवेश हेर्ने हो भने पनि उहाँका दाजुभाइहरू निजामती सेवामा उच्च पदमा पुग्नुका साथै साहित्यमा पनि संलग्न हुनुहुन्छ । गोपी मैनाली निरन्तर लेख्दै आउनु भएको छ ।

यही क्रममा यो उहाँको पछिल्लो कृति हो र विधा हो समालोचना । समालोचना अरू स्रष्टाहरूका सिर्जनामाथिको समग्र दृष्टिकोण हो तर यो सिर्जनाभन्दा जटिल कार्य हो । मौलिक सिर्जना जस्तो रसप्रधानता र भावप्रभानता यसमा हुँदैन । त्यसैले पनि हुनसक्छ समालोचनाहरू कम लेखिने गरेका छन् । यिनै कम लेखिने र कम लेखिएका विधामै गोपी मैनालीले हात हाल्नुभएको छ । सुरभि साहित्य प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकको यो पहिलो संस्करण हो । यो २०७९ ‘सालमा प्रकाशित भएको छ र यसको सर्वाधिकार समालोचकमै रहेको छ ।

अलिक गोपी मैनालीको यस समालोचकीय कृतिमा समेटिएका समालोचनाहरू परम्परागत समालोचनाभन्दा भिन्न छन् । मैनालीको भाषा समालोचनात्मक र काव्यात्मकसमेत छ । उहाँले शैलीमा पनि सरलता अपनाउनु भएको छ । प्राध्यापकीय समालोचनात्मकताबाट उहाँ पूर्णरूपमा मुक्त हुनुहुन्छ ।

पुस्तक भूमिका खण्डका १२ र पाठ्य खण्डका २६० गरी जम्मा २७२ पृष्ठको छ । यस पुस्तकको मूल्य ५५० रुपैयाँ रहेको छ । दीपेन्द्र बस्नेतको लेआउट रहेको यस पुस्तकको मुद्रण सूर्योदय छापाखाना हाडीगाउँ काठमाडौंले गरेको छ । डिएमआई साइजको यस पुस्तकमा तौलयुक्त सेतो कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ तर कतै कतै अशुद्धिहरू चाहिँ भेटिन्छन् । आवरणमा सुन्दर अमूर्त कला रहेको छ । झट्ट अर्थ लगाउन नसकिने साधा नीलो, सेतो र कालो रङको पृष्ठभूमिमा अमूर्त कला छ । माथि ठूला सेता अक्षरमा पुस्तकको शीर्षक ‘अभिव्यञ्जना यात्राप्रति’ लेखिएको छ भने तल सेता र अलिक साना अक्षरमा समालोचक गोपी मैनालीको नाम दिइएको छ ।

पृष्ठ आवरणमा फोटोसहित समालोचक मैनालीको परिचय दिइएको छ जसबाट उहाँ काभ्रे कानपुर (हाल नमोबुद्ध नगरपालिका वडा नं. ५) का बासिन्दा हुनुहुन्छ भन्ने थाहा हुन्छ । रेवती मैनाली र केदारनाथ मैनालीका सुपुत्र मैनाली हाल क्षितिज मार्ग शङ्मूल काठमाडौंमा बस्दै आउनुभएको छ । मैनालीले अर्थशास्त्र, वित्त, विकास जस्ता विषयमा स्नातकोत्तर गर्नुभएको छ भने बिए, बिएल, बिएड र बिबिएसमेत गर्नुभएको छ भन्ने पनि यही पृष्ठबाट थाहा हन्छ ।

यसपूर्व उहाँका ‘अवसाद अभिनयी (निबन्ध सङ्ग्रह) २०४०, ‘आँखाभरि रमिता मनभरि वेदना’ (नियात्रा) २०५३, ‘युगकवि सिद्धिचरण ः कृति र प्रवृत्ति विश्लेषण’ (समालोचना) २०६८, ‘अपेक्षा र अनुभूति’ सामयिक निबन्ध’ (२०७४), ‘घाउ आफैँलाई दुख्छ’ (निबन्ध सङ्ग्रह) २०७८ प्रकाशित भइसकेका छन् । यस्ता स्थूल कृतिका साथै विभिन्न पत्रपत्रिकामा उहाँका कथा समालोचना र निबन्धहरू प्रकाशित हुँदै आएका छन् । ‘रमेश विकल ः समालोचनात्मक अन्वेषण’ शीर्षकको पुस्तक प्रकाशोन्मुख छ भन्ने जानकारी पनि यस पृष्ठमा दिइएको छ । यसैगरी यस पृष्ठमा उहाँका व्यवस्थापन तथा समसामयिक विषयका कृतिहरू भनेर पनि केही कृतिहरूको नाम दिइएको छ ।

यसका साथै उहाँले पाउनुभएको पौने एक दर्जन मान, सम्मान र पुरस्कारका साथै उहाँको संलग्नता रहेका केही संघसंस्थाको नामसमेत यहाँ उल्लेख भएको छ । पुस्तकको भूमिका खण्डमा प्रकाशक संस्था सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको ‘नमोन्मेष र उद्बोधनमा : समालोचक गोपी मैनाली’ तथा यस पुस्तकका लेखक गोपी मैनालीको ‘आफ्नै भनाइ’ रहेका छन् । यसपछि विषयसूची रहेको छ र त्यसपछि समर्पणमा ‘अग्रज स्रष्टा एवं समालोचकहरूमा’ भनिएको छ । त्यसपछि भने समालोचनात्मक लेखहरू सुरु हुन्छन् ।

गोपी मैनालीको यस समालोचकीय कृतिमा समेटिएका समालोचनाहरू परम्परागत समालोचनाभन्दा भिन्न छन् । मैनालीको भाषा समालोचनात्मक र काव्यात्मकसमेत छ । उहाँले शैलीमा पनि सरलता अपनाउनु भएको छ । प्राध्यापकीय समालोचनात्मकताबाट उहाँ पूर्णरूपमा मुक्त हुनुहुन्छ । विश्वविद्यालयका प्राध्यापकहरूले विशेषगरी प्राध्यापनका लागि तयार पारेको नोट केही परिमार्जन गरेर प्रकाशन गर्ने गरेको हाम्रो परम्परा रहिआएको छ । कि प्रायोजित समालोचना गर्ने गरिन्छ, स्वतन्त्र रूपमा समालोचना कम लेखिने गरेको छ । गोपी मैनाली यसरी थोरै स्वतन्त्र समालोचकहरूमध्ये पर्नुभएको छ ।

उहाँको यस पुस्तकका समालोचनाहरूमा नवीन आयाम पाइन्छ भने यी समालोचकीय लेखहरू तुलनात्मक ढंगले पनि लेखिएका छन् । लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनालीलगायत पुराना पुस्तादेखि नयाँ पुस्ताका हालसम्म लेखिरहनुभएका साहित्यकारहरूको कृतित्व र व्यक्तित्वमा समेत मैनालीले आफ्नो समालोचकीय विचार व्यक्त गर्नुभएको छ । गोपी मैनालीका केही मौलिक पुस्तकहरू पनि प्रकाशित छन् र उहाँका समालोचनाहरू समालोचना सिद्धान्तमा आधारित छन् । मौलिक लेखनमा उहाँका निबन्ध र नियात्राहरू प्रकाशित भएका छन् ।

यस समालोचना सङ्ग्रहमा मैनालीका ३२ वटा समालोचनात्मक लेखहरू रहेका छन् । यीमध्ये केही लेखहरू नेपाली साहित्यको समग्र अवस्था, तिनको विकास क्रम, ऐतिहासिकता र वर्तमान लेखन प्रवृत्तिमा केन्द्रित छन् । कुनै समालोचनाहरू व्यक्तित्वलाई प्रधानता दिएर लेखिएका छन् भने केही समालोचना कृतिहरूमा केन्द्रित भएर रचना भएका छन् ।

पौर्वत्य तथा पाश्चात्य समालोचना सिद्धान्तको गहन अध्ययन गरेरमात्रै उहाँले यो लेखन गर्नुभएको छ । यस पुस्तकमा समालोचक गोपी मैनालीको मौलिक प्रवृत्ति पाइन्छ । उहाँको अभिव्यक्ति संप्रेषणमा सबलता छ । यस पुस्तकमा समेटिएका समालोचनात्मक लेखहरू मध्ये केही नेपाली साहित्यको प्रवृत्तिमा आधारित छन् भने केही व्यक्तिका प्रवृत्तिमाथि र निश्चित निश्चित कृतिहरूको बारेमा लेखिएका छन् ।
यस समालोचना सङ्ग्रहमा मैनालीका ३२ वटा समालोचनात्मक लेखहरू रहेका छन् । यीमध्ये केही लेखहरू नेपाली साहित्यको समग्र अवस्था, तिनको विकास क्रम, ऐतिहासिकता र वर्तमान लेखन प्रवृत्तिमा केन्द्रित छन् । कुनै समालोचनाहरू व्यक्तित्वलाई प्रधानता दिएर लेखिएका छन् भने केही समालोचना कृतिहरूमा केन्द्रित भएर रचना भएका छन् ।

महाकवि लक्षमीप्रसाद देवकोटा, प्रसिद्ध आख्यानकार बीपी कोइराला, युगकवि सिद्धिचरण श्रेष्ठ, आदर्शोन्मुख यथार्थवादी सामाजिक कथाकार गुरुप्रसाद मैनाली, राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल, रमेश विकल, विजय चालिसे, कलानिधि दाहाल, तीर्थराज अधिकारी, नरेन्द्रराज पौडेल, कवि गिरिराज आचार्य, प्रहृलाद पोखरेल, गोविन्द घिमिरे वेदमणि, बाजुराम पौडेल, लव गाउँले, हरिभक्त कटुवाल तथा पारिजातहरू गोपी मैनालीका यस पुस्तकमा समाविष्ट समालोचनामा समेटिएका छन् । यहाँ ती स्रष्टाहरूको व्यक्तित्वका साथै कृतित्वको समेत चर्चा भएको छ । यसरी यहाँ उल्लेख भएका स्रष्टाहरूको लेखन प्रवृत्ति वा लेखकीय विशेषताको चित्रण भएको छ ।

यसैगरी केही कृतिकेन्द्रित समालोचनाहरू मैनालीको यस पुस्तकमा समेटिएका छन् । व्यक्ति एक दृष्टि अनेक, सर्पदंषित मेरो वर्तमान, रोबोटका आँखा, एक्लो नायक, गायक यात्री, पागल बस्ती, छोडिएका पाइलाहरू, पुनर्वास, मेरी रजनि, भुइँचालोको डर, अनिच्छित आवाजहरू आदि यसका दृष्टान्त हुन् भन्न सकिन्छ । केही समालोचना भने समग्र लेखन प्रवृत्ति, लेखनको अवस्था, गति र स्थितिप्रति केन्द्रित छन् ।
यस पुस्तककमा समालोचक मैनालीले सन्दर्भ सामग्री पनि दिनुभएको भए सुनमा सुगन्ध हुनेथियो । पुस्तकका लागि उहाँलाई बधाई तथा पुस्तकको सफलताको कामना । त्यसै पनि गोपी मैनाली नेपाली साहित्याकाशमा चम्किलो नक्षत्रका रूपमा उदाउनुभएकै छ । उहाँबाट नेपाली साहित्यले यस स्तरका अन्यान्य पुस्तकहरूको अपेक्षा गर्नु अन्यथा हुँदैन । अझै उहाँको लेखनी चम्किलो बन्दै जाओस्, हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?