देहमा जीवतत्व हो राजनीतिमा नैतिकता, विचार र आदर्श !

Read Time = 16 mins

‘हुुकुुमको जबाफ छैन, कालको ओखती छैन’ भन्ने कट्टर पुरातन समाजमा ‘रुल अफ् ल’ को शङ्खनाद गर्दै निरङ्कुश एकतन्त्रीय राणा र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध आजीवन सङ्घर्षमा समाहित हुने नेपालका लौह पुरुष एवं सर्वोच्च नेता गणेशमानका भुुक्तभोगी अनुुभवबाट उत्पन्न विचारहरू कालजयी छन् जसले लोकतन्त्रको राजपथ देखाएका छन् । उनले जनतन्त्रमा विकृतिको खेती गर्न पल्किएका तर लोकतन्त्रको राग अलापेर राज्यसत्तामा अलमस्त हुँदै सम्पूर्ण नीतिको राजाको रूपमा रहेको राजनीति हाकाहाकी द्रव्यार्जन गर्ने व्यवसाय ठम्याउनेहरूप्रति पचासकै दशकतिर थप्पड हान्दै बोलेका थिए : ‘राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो व्यापार हुन्छ’ ।

सामान्यतया राजनीति भनेको नागरिकहरूमा शान्तिसुरक्षा कायम गरी उनीहरूका आवश्यकताको अध्ययन गरेर कार्यान्वयनका लागि प्राथकितासाथ ठीक नीतिहरू तय गर्ने, मौलिक अधिकारको निर्वाध उपभोग गर्न दिने, राज्यको शासन व्यवस्थासम्बन्धी नीति, राज्य र प्रशासनसित सम्बन्धित एक सामाजिक सिद्धान्त हो राजा वा श्रेष्ठ नीति । त्यसैले त राजनीतिलाई कला, विज्ञान र संभावनाको खेलको रूपमा भाष्य गरिन्छ ।

भिन्न-भिन्न मतमतान्तरका राजनीति चिन्तकहरू राजनीतिबारे आफ्ना चिन्तन र अनुुभूति पोख्दछन् : प्रसिद्ध विचारक म्याक्स बेबरले राजनीतिलाई शक्ति विभाजनमा भाग लिने वा यसलाई प्रभावित गर्ने संघर्षको रूपमा विश्लेषण गरेका छन् । कोही राजनीति सम्भावनाको कला हो भन्छन् त कोेही आवश्यकताको परिपूर्ति र शंका समाधानको विज्ञान हो पनि भन्छन् । समय समयका राजनीतिक विसंगतिबाट वाक्क दिक्क भएकाहरू राजनीतिलाई जुवाको तहमा चित्रण गर्दछन् र राजनीति सज्जनको लागि नभएर दुुर्जनको लागि हो भनी जुुगुप्सा पनि छेपेका छन् । नीतिकार भतृहरिले त बेश्याको नटखटसित दाँज्न पो पुुगेका छन् राजनीतिलाई ।

यतिखेर हाम्रो राजनीति नवसम्भ्रान्तहरू मूूलतः दलका शीर्षउपशीर्षका महत्वाकांक्षा र अहंको चपेटामा चेपिएको र हेपिएको छ । धर्मरहित राजनीति अहंवादको जडतामा ढुुसी परेर दुुर्गन्धित भइरहेको छ । यस्तो अन्धो राजनीति आत्महीनताबाट घिस्रिएको छ ।

नेपालको वर्तमान राजनीति यही दशाबाट गुुज्रिरहेको छ । यतिखेर हाम्रो राजनीति नव सम्भ्रान्तहरू मूूलतः दलका शीर्षउपशीर्षका महत्वाकांक्षा र अहंको चपेटामा चेपिएको र हेपिएको छ । धर्मरहित राजनीति अहंवादको जडतामा ढुुसी परेर दुुर्गन्धित भइरहेको छ । यस्तो अन्धो राजनीति आत्महीनताबाट घिस्रिएको छ । राजनीति भनेको त म अर्थात् आफू केही पनि होइन केही हो भने देश र जनता हो भन्ने अभिबोधको गुुदी हो । जसलाई राजनीतिक अभिकर्ताहरूले स्पष्टसित प्रयोगमा देखाउन सक्नुुपर्छ ।

अमेरिकाका तीसौँ राष्ट्रपति क्याल्भिन कुलिजको पहिलो कार्यकाल सकिएपछि सबैले तपाईं फेरि पनि राष्ट्रपति बन्नोस् भनेर अनुरोध गर्दा उनले भनेका थिए : ‘मैले यो कुरा थाहा पाएँ कि कुर्सीमा केही पनि हुँदो रहेनछ । त्यति जान्दा जान्दै दोहोर्‍याएर जानुु मूूर्खता हो’ तर नेपालका कथित राजनीतिज्ञहरू यसको उल्टो यात्रा गर्न रुचाउँछन् । यही कारण नेपालको राजनीति सर्वपक्षीमा दुर्दशा दिने तत्व हो भन्दा अति उक्ति पक्कै हुँदैन । आजको हाम्रो राजनीति भीडबाट सञ्चालित छ, भीडले मानवतालाई बहकाउँछ । त्यसैले त ‘मान्छे’ मान्छे कम र जनावर बढी हुँदा देश र जनताले चरम दुुर्गति बेहोर्नु पर्छ ।

डेबिड इष्टनजस्ता आधुनिक राजनीति चिन्तकले राजनीतिको गरिमालाई उचाल्दै बोलेका छन् ‘मूूल्यहरूको अधिकतम विनियोजनको कार्यरूप हो राजनीति । अर्का वरिष्ठ राजनीति विचारक रवर्ट ए डेहालले पनि लोकतान्त्रिक राजनीतिको गरिमा र आवश्यकता उजागर गर्दै आफ्नो अभिमत राखे : ‘दमनकारी शासन हटाई आधारभूत अधिकारको बहाली गर्दै आत्म स्वतन्त्रता, आत्मनिर्णयको अधिकार, नैतिक स्वायत्तता, मानवीय विकास, अत्यावश्यकीय निजी हितहरूको संरक्षण, समानता र शान्ति-समृद्धिको कामना हो अभिनव लोकतान्त्रिक राजनीति’ ।

तर, विडम्बना ! लोकतन्त्रको जामा पहिर्‍याएर सुुशासनको डङ्का पिटी पारदर्शिता र जबाफदेहीता थिच्दै हिँड्ने शासकीय स्वभाव त्रिकालकै लागि भत्र्सना, निन्दा एवं ग्रहण गर्न योग्य छ । त्यसैले त नीति बोल्छ :
दुर्मन्त्री राज्यनाशाय ग्रामनाशाय कुुञ्जरः ।
श्यालको गृहनाशाय सर्वनाशाय दुर्मतिः ।।
खराब मन्त्रीहरूले राज्यलाई नाश वा विघटन गर्छन्, मातिएको सन्काहा हात्तीले गाउँहरू सखाप पार्छ । सालाहरूले घरलाई सिध्याउँछन् भने दुुर्बुुद्धिवाला विवेकहीन जमातले सबै पक्षको नाश गर्छन् । यतिखेरका औसत बुद्धिजीवीहरू पनि वेदव्यासले भनेझैँ भोगवादको कुण्डमा डुुबेका छन् ( पण्डितास्तुकलत्रेण रमन्ते महिषाः इव । पुत्रस्योत्पादने दक्षाः अदक्षाः मुुक्ति साधने ।।)

राजनीतिमा नैतिकता :
नैतिक राजनीति नै सही शिष्ट र उदात्त राजनीति हो नीतिहीन राजनीति त अराजनीति, वञ्चक वा डाँका कुुनीति हो । त्यसैले नैतिकताभित्र नीतिको भाव सद्गुण, उदात्त आचरणको आभा पल्लवित र पुष्पित हुन्छन् । नीति (नी+क्तिन्) त्यो नियम हो जसमा हिँड्नाले मान्छेहरूका इहलौकिक, पारलौकिक र सनातन कल्याण हुन्छ तथा समाजमा स्थिरता, शान्ति, सन्तुलनजस्ता पक्ष कायम रहन्छन् । त्यही नीति शब्दमा इक प्रत्यय लागेर नैतिक विशेषण पदवर्गको शब्द निष्पन्न हुन्छ अनि नैतिक+ता=नैतिकता भाववाचक नाममा रूपान्तर हुन्छ । यसैले हाम्रा पूूर्वीय नीतिविद् आचार्यहरूले नैतिक मानदण्ड यसरी उतारेका छन् ।
१, नियममूलक सिद्धान्त-जसभित्र ईश्वरीय नियम, परम्परागत विधि, सामाजिक नियमहरू पर्दछन् ।
२, लक्ष्यमूलक सिद्धान्त (प्रयोजनवाद) भित्र भौतिकवादी सुखवाद र अध्यात्मवाद रहन्छन् । (डा. दिवाकर पाठकद्वारा लिखित भारतीय नीतिशास्त्र पेज नं. १०९) आज सुुनीतिलाई कुनीतिमा व्यवहारद्वारा हाकाहाकी सिद्ध गर्न कसिने जमात बढेकैले भयकारी काण्डै काण्डपछि अर्को महाकाण्ड भुटानी शरणार्थी काण्डको ताण्डव आँखामा फुलो पारेर हेर्न परेको छ ।

‘नैतिकतामा त्यस्तो तागत हुन्छ जसले मानिसको अन्तर विवेकलाई सञ्चालन गर्ने खुुबी राख्छ’ पाश्चात्य दार्शनिक ग्रिन भन्दछन् । नित्से अति अनीश्वरवादी थिए तर नैतिकता सम्बन्धमा उनको कथन घत लाग्दो छ : ‘मानवलाई नाकको बलमा चलाउने सबै साधनमा नैतिकता सर्वोत्तम हो’ । नैतिकताभित्र एकता र प्रेम भाव हुन्छ भनी स्वामी विवेकानन्दले आफ्ना कृतिहरूमा उल्लेख गरेका छन् भने महात्मा गान्धीले ‘आचार विचाररहित कोरा ज्ञान बासनादार मसला लगाएको मुर्दा हो । यसबाट के बुझिन्छ भने विज्ञता भएरमात्र हुँदैन नैतिकतालाई प्रयोजनपरक बनाउन नसक्नेहरू बेकम्मा हुन्छन् । मनोवैज्ञानिक कथाकार एवं राजनीतिज्ञ बीपीले एक सन्दर्भमा भनेका छन् : राजनीति नैतिकताको व्यापक रूप हो । राजनीतिलाई कति परिशुुद्ध बनाउने धारणा छ यो सुुभाषितभित्र । यसैले नैतिकतारहित राजनीति बाजनीति हो भन्न कुनै आइतबार पर्खनु पर्दैन ।

राजनीतिमा विचार र आदर्श :
आदर्शरहित राजनीति नाविकविहीन डुुंगाजस्तै हो भन्ने दृष्टिकोण थियो महात्मा गान्धीको । राजनीति चिन्तक वर्कको मान्यता थियो : ‘आदर्श’ मान्छेको एकमात्र पाठशाला हो । वास्तवमा आदर्श भनेको ऐना हो, टीका व्याख्या र सच्चिदानन्दको रूप हो । त्यस्तै राजनीतिमा विचार पानीमा माछाजस्तै हो, त्यसै भएर त सर्वोदय सिद्धान्तका प्रणेता कर्मयोगी तपस्वी सन्यासी विनोवा भावे यस्तो निचोडमा पुुगेका थिए ‘विचारको बत्ती निभ्नाले आचार अन्धो हुन्छ’ । हुन पनि हो हाम्रो राजनीति पर्व र काण्डहरूको घिनलाग्दो फेहरिस्त बनेर गिज्याइरहेको छ अक्षम, अयोग्य र स्वार्थी शासकका गलत आचरणले ।

कोतपर्व, भण्डारखालपर्व, गाईगलैँचा काण्ड, वन, सुुडान घोटाला काण्ड, लाउडा, चेजएयर, धमिजा, चाइना साउथ वेष्ट, एयरबस, सुन काण्ड, सुरक्षा मुद्रणसम्बन्धी काण्ड, ललिता निवास काण्ड, ओम्नी, यति, माओवादी शिविर घोटाला काण्ड, सांसद किनबेच काण्ड, कार्पेट र गाई गलैँचा काण्ड, मल काण्ड, चिनी काण्ड, जनमतसंग्रह काण्ड र नदीकाण्ड, भुटानी शरणार्थी काण्डजस्ता अनगिन्ती पर्वले हाम्रा हुर्मत, गर्व र गौरव लुट्ने काम कत्ति पनि टुटेको छैन । यी सबै विसंगति विचारहीनताकै राजनीतिको कैफियत हो । पण्डित नेहरूको मान्यता थियो ः ‘जुन विचार कार्यरूपमा परिणत हुँदैन त्यसको तुलना गर्भपातसित गर्न सकिन्छ, त्यसैले विचारमा आधारित नभएको राजनीति अराजकता हो’ ।

गौतम बुद्धले धेरै अघि उपदेश गरे : महान् विचारले नै महान् काम गर्न सकिन्छ । यसरी विचारसित मृत्युहीन धैर्य हुने कुरा युुग युुगका महामानवहरूले अथ्र्याएका छन् । दार्शनिक इमर्सन पनि यो निचोडमा पुुगेका थिए विचारभन्दा ठोस वस्तु ब्रहृमाण्डमा केही छैन । नेपालका पुराना राजनीतिक दलहरू आफ्ना अतीतको केही असल इतिहासको इज्जत सक्न केही समय अघिदेखि वणिक् राजनीतिमा न्वारनदेखिको बल झिकेर लागेका छन् । दलहरूमा न आदर्श छ न नैतिकता र सुुविचार ! न त दर्शन सर्वजन हितायका राजा खालका नीति । मात्र नातावाद, गुटवाद, दामकामवादले दलहरूमा खुट्टा घुमाएर पुठ्ठा हल्लाएको दशकौँ बितिसक्यो । सबै दलका निश्चित एलिटहरूको शुुभलाभार्थ दास कार्यकर्ताहरू खटिने र हर कुरामा दलाली, भृत्यवाद, बिचौलियातन्त्र, निकृष्ट स्वार्थपूर्ति हेतु गठबन्धने अराजक नीतिको अभिनव संस्करण प्रयोगमा ल्याएका छन् । जसलाई ठगबन्धन, हठबन्धन, कठबन्धन, लभबन्धन आदि विरूप नाममा जनसाधाणसमेत घृणापूूर्व उच्चारण गर्न बाध्य छ । सत्ताधारीहरूको सम्पत्ति शुुद्धीकरण फगत् अशुुद्ध कर्मकाण्डबाट चोखिने क्रम ज्यूूँको त्यूँ छ ।

‘इदं भ्रष्टं उदं भ्रष्टं सर्वं भ्रष्टमयं अहो’ ! को यो थितिमा स्वाभिमानी र देशप्रेमी प्राध्यापक, वरिष्ठ अधिवक्ता, मानव अधिकारकर्मी, सफा चरित्रका न्यायाधीशहरूको सर्वाधिकार सम्पन्न आयोग बनाएर विकृतिको किनारा लाउनुपर्छ । नयाँ पुराना राजाहरूका देशविदेशमा रहेका धनसम्पत्ति यथाशीघ्र राष्ट्रियकरण गरी उनीहरूलाई कारबाहीको दायरामा ल्याइनु प्रथम कर्तव्य हो । खर्बौं रुपैयाँ सिध्याएर निर्माण गरिएको संविधानलाई कागजको खोष्टो बनाउने प्रवृत्तिमा उपचार हुनुु जरुरी छ । संघीय शासनलाई भद्दा बोझपूर्ण नबनाउन संविधानमा सुधार आवश्यक छ । त्यसैले नैतिकता, विचार र आदर्शमा नेपालको राजनीति मार्च गराउन अबेला गर्न हुँदैन । सामप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?