पुनर्लेखनका लागि नीति तथा कार्यक्रम फिर्ता लैजान प्रधानमन्त्रीलाई एमाले अध्यक्ष ओलीको आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले सरकारलाई पुनर्लेखनका लागि नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ ।

शुक्रबार संसदमा पेस भएको आगामी नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले उक्त नीति तथा कार्यक्रम पुनर्लेखन गर्न फिर्ता लैजान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको हो ।

ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ ।

आजदेखि प्रतिनिधिसभामा सुरु भएको छलफलका क्रममा उहाँले यो नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम पुनःलेखन गर्न माग गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारको नीति तथा कार्यक्रमले १५औँ पञ्चवर्षीय कार्यक्रमकोसमेत समीक्षा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “१५औँ पञ्चवर्षीय कार्यक्रमको अन्तिम वर्षमा त्यसको गम्भीरतासाथ समीक्षा हुनुपर्नेमा, कार्यक्रम सफल भयो भएन रु कति उपलब्धि हासिल गर्न सकियो सकिएन समीक्षा गर्नुपर्नेमा त्यसमा सरकारको नीति तथा कार्यक्रम चुकेको छ ।”

उहाँले कुनै पनि कालखण्डको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र त्यसमा सबैको साथ तथा सहयोग हुनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने र निर्दोष व्यक्ति फस्न नहुने बताउनुभयो । “दोषीमाथि दृढताका साथ कारबाही होस् । ढाकछोप गर्ने धृष्टता नगरियोस्”, उहाँले भन्नुभयो ।

उहाँले राष्ट्रिय समस्या समाधानका लागि सहमति, सहकार्य र एकताबाट मात्रै अगाडि बढ्न सकिने धारणा राख्नुभयो । उहाँले सदन चलाउन तथा देशका समस्या समाधानका लागि शीर्ष नेताका बीचमा छलफल भएको जानकारी पनि दिनुभयो । तीन दलका शीर्ष नेता राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल गर्ने गरेको उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले न्याय र समृद्धि नै लोकतन्त्र भएकाले आफ्नो दलले त्यसलाई आत्मसात् गरेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?