एक अर्ब जनसंख्या हैजाको जोखिममा : राष्ट्रसंघ

Read Time = 4 mins

जेनेभा । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले संक्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले खोप अभियान नराम्ररी प्रभावित भएको जनाएको छ । ‘४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा छन्’, डब्लूएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले भन्नुभयो । यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ भने गत वर्षको मे महिनामा १५ देशमा हैजाको प्रकोप देखिएको थियो । पछिल्लो समय हैजाबाट सामान्यतया प्रभावित नभएका देशहरू प्रभावित भइरहेका छन् र मृत्युदर एक सयभन्दा धेरै बढी छ ।

गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसंख्या विस्थापनका कारण संक्रमण बढेको ग्रेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हैजाबाट प्रभावित देशहरूको संख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू अझ कम फैलिएका छन् ।’ ओरल हैजाको भ्याक्सिन एउटा उदाहरण हो । यस वर्ष एक करोड ८० लाखभन्दा बढी डोज माग गरिएको छ । तर, ८० लाखमात्र उपलब्ध गराइएको छ र त्यसैले रोकथामका अभियानहरू रोकिएका छन् ।

ग्रेले भन्नुभयो, ‘पूर्ण दुई डोजको साटो पहिलो खोप सबैलाई दिने र हैजाको प्रभावलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ’, उहाँले भन्नुभयो, ‘यो दृष्टिकोण अन्धकारमय छ ।’ डब्लूएचओले आगामी १२ महिनामा ४० भन्दा बढी देशका लागि १६ करोड अमेरिकी डलर उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले संयुक्त राष्ट्र संघीय बाल निकाय युनिसेफसँग समन्वय गरेर काम गरिरहेको डब्लूएचओले हैजाको समस्यालाई नियन्त्रण गर्न ४८ करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।

युनिसेफका जनस्वास्थ्य आपतकालीन एकाइका प्रमुख जेरोम फाफम्यान जाम्ब्रुनीले गत नोभेम्बरमा युनिसेफले हैजा नियन्त्रणका लागि १५ करोड अमेरिकी डलर मागेको उल्लेख गर्नुभयो । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यो सावधानीको लागि सूचना हो ।’ उहाँले थप्नुभयो, ‘महामारीले हाम्रो अगाडि गरिबको ज्यान लिइरहेको छ र यसलाई कसरी रोक्ने भन्ने हामीलाई ठ्याक्कै थाहा छ । तर, हामीलाई विश्व समुदायबाट थप सहयोग र कम जडताको आवश्यकता छ । हामीले अहिले नै कदम चालेनौं भने यो अझ खराब हुनेछ ।’
हैजा सामान्यतया दूषित खाना वा पानीको माध्यमबाट सर्ने एक रोग हो । विशेषगरी साना बच्चाहरूका लागि जोखिम निम्त्याउने यो रोगका कारण झाडापखाला र उल्टी हुने गर्छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?