पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते

Read Time = 18 mins

सत्तारुढ नागरिक उन्मुक्ति पार्टी सरकारमा बसेर पाँच दिने नेपाल बन्दको घोषणा गर्छ र रेशम चौधरीलाई जेलबाट छुटाउने विधेयक ल्याएपछि बन्द स्थगित गर्छ, सत्ताधारी बर्दियाको सांसद १५ सूत्रीय माग राखी अनशनमा बस्छन् एक प्रायोजित व्यवस्थामा रमिता छ यहाँ । नेपाली नागरिकलाई खाडीको मुलुकहरू र मलेशियामा पठाएर नेताहरू न अघाएकाले अहिले नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा ठूला नेता र नेत्रीहरू तथा कर्मचारी, नेताका पुत्रहरू संलग्न भएका छन् । उनीहरूलाई अमित तृष्णाले असत् काम नगरी बस्नै नसक्ने अवस्थामा पुर्‍याइदिएको छ । त्यसको प्रमुख चाहे त्यो पुरुष होस् वा स्त्री थाहा छ कानुन उनीहरूको हातको खेलौना हो, त्यसैले उनीहरूलाई केही हुँदैन ।

ठूला तीन नेताहरूको छत्रछाया उनीहरूमाथि छ, उनीहरूले समेत बगिरहेको दूषित नालामा आफूहरूलाई चुर्लम्म डुबाएका छन् । संैंया भए कोतवाल तो डर काहेका भन्ने हिन्दी उखान छ जो यिनीहरूमा लागू हुन्छ । अहिले भ्रष्टाचारको मुद्दालाई दिग्भ्रमित पार्न रेशम चौधरीको मुद्दाको फैसला गराइन्छ, माओवादीले रोपेको जातीय बिरुवाको छहारीमा राई लिम्बुबीच द्वन्द्व खडा गरी कोशी प्रदेश नामकरणमा वितण्डा खडा गरिएको छ, हिन्दू राष्ट्र वा धर्म निरपेक्षको जनमत संग्रहको माग उठिरहेको छ, कतै अनशन, कतै भ्रष्टाचारको विरोधमा महाभ्रष्टचारी नै सडकमा उभिइरहेका छन् ।

कुनै पनि व्यक्ति जो आफ्नो मातृभूमिबाट रोजीरोटीका सन्धानमा वा कुनै कारणवस टाढा भएको छ उसको मनभित्र उसलाई आफ्नो जराबाट काटिएको तुस रहन्छ तर यस्तो तुस राष्ट्रघाती तथा भ्रष्टाचारीहरूमा हुँदैन किनकि तिनलाई कहिल्यै मातृभूमिको पवित्र माटोप्रति आस्था नै रहँदैन ।

प्रधानमन्त्री दाहालले आफूलाई भ्रष्टाचारी प्रमाणित गर्न सदनबाटै चुनौती दिएका छन् । उनीहरूलाई थाहा छ यो व्यवस्था रहुन्जेल कसैले उनीहरूको रौं पनि उखेल्न सक्दैनन् । अदालत, अख्तियार, प्रहरी, सेना आदि जताततैका निकायहरू उनीहरूको पञ्जाभित्र छन् । जनतालाई झुक्याउन सस्तो लोकप्रियताको बजेट पस्किन्छन् । कार्यान्वयन हुने कुनै आश छैन । देशको माया कस्तो हुन्छ यो विदेशमा बस्ने नेपालीहरूलाई थाहा हुन्छ । धेरै जसो नेपाली बाध्यताले विदेशमा बस्नुपरेको छ तर यी भ्रष्ट नेता, कर्मचारी, सेना र प्रहरीका उच्च पदस्थ अधिकारी जो यहाँ ब्रहृमलुट मच्चाएर विदेशमा बस्न गएका छन्, जसले यहाँ अवैध तरिकाले कमाएको अकूत धन विदेशी बैंकहरूमा राखेका छन् उनीहरूलाई जहाँ बसे पनि देशको माया हुँदैन । उनीहरूलाई देशभन्दा धन ठूलो हुन्छ । यस्ता प्रकृतिका नेता, कर्मचारी वा अन्य जो यहाँ बसिरहेका छन् देशलाई लुट्ण्न, देशसँग गद्दारी गर्न, एकदिन यो देश छोडेर भाग्नेछन्, जुन दिन नेपाली जनतामा चेतना फिरेर यिनीहरूविरुद्ध जाइलाग्ने शक्ति, उनीहरूको मुटुमा सञ्चार हुनेछ । अहिले जनता जिउँदा लाश सरी भएकाले यिनीहरूले मनपरी गर्न पाएका छन् ।

सन् २०१२ मा त्रिनिदाद एण्ड टोबैगोका प्रधानमन्त्री श्रीमती कमला परसाद बिसेसर भारत भ्रमणमा आएकी थिइन् । आफ्नो भ्रमणको दौरान उनी बिहार राज्यको बक्सर जिल्लाको भेलुपुर गाउँमा पुगेकी थिइन् जहाँ उनको जिजुबुबा श्री रामलखन सन् १८८९ मा मजदुरी गर्न त्रिनिदाद पुगेका थिए, अंग्रेजहरूले उनलाई मजदुर बनाएर त्रिनिदाद लगेका थिए । उनी पछि त्यहीँ बसे, भारत फर्केनन् । आफ्नो पूर्वजहरूको भूमिमा पुगेर कमला भावुक भइन्, आफूलाई रोक्न सकिनन्, आँखामा आँसु आयो, एक्कासि उनी झुकिन र भेलुपुरको भूमिमा आफ्नो शिर राख्दै झुकिन् । केही समयपछि उनी उठ्दा उनको शिर धुलधुसरित थियो र आँखाबाट अश्रुधारा बगिरहेका थिए । त्यहाँ उपस्थित सबैजनाको आँखा रसाए ।

कुनै पनि व्यक्ति जो आफ्नो मातृभूमिबाट रोजीरोटीका सन्धानमा वा कुनै कारणवस टाढा भएको छ उसको मनभित्र उसलाई आफ्नो जराबाट काटिएको तुस रहन्छ । तर, यो तुस राष्ट्रघाती तथा भ्रष्टाचारीहरूमा हुँदैन किनकि उसलाई कहिल्यै यो मातृभूमिको पवित्र माटोप्रति न त आस्था नै रहन्छ न त रुचि नै । ऊ यहाँ बस्नुपर्ने एकमात्र कारण विदेशीको गुलामी गरेर यो माटो र यो माटोका बासिन्दाहरूलाई लुट्नु छ, यो माटोलाई जात, धर्म, रंग, अनुहार आदिको नाममा विखण्डन गर्नुछ । परिस्थितिवस ऊ यो माटो छोडेर पराई माटोमा भागेर जाँदा गर्व नै महसुस गर्छ । भ्रष्टाचारको मुद्दामा फसेर प्रहरी हिरासतमा जाँदा पनि ऊ हाँस्दै, हात हल्लाउँदै, नमस्ते फर्काउँदै गर्वका साथ जान्छ ।
आफूले गरेको अपराधका लागि उसलाई आत्मग्लानि हुँदैन । भोलि यो देश छोडेर भाग्दा पनि उसलाई आत्माग्लानि हुने छैन ।

देशद्रोहीहरूलाई सम्मान गर्ने झोलेहरू पनि देशद्रोहीका मतियार हुन् । एउटा देशभक्त आफ्नो माटो छोडेर विदेशिनु परे पनि आफ्ना पुर्खाको, मातृभूमिको, आफ्नो विरासतलाई स्मृतिपटलमा सजाएर राख्छ र आउने पुस्ताका लागि यसलाई अगाडि बढाइरहन्छ, ता कि कहिले मौका मिले फेरि पनि आफ्नो मूल माटोसँग जोडिन सकून् । सवा सय वर्षपछि पनि कमला परसाद बिसेसरले आफ्नो पुर्खाले दिएको जानकारी सम्हालेर राखेकी थिइन् र मौका पाउँदा त्यो भूमिमा फर्केर गइन् जहाँबाट उनका जिजुबुबा मजदुरीका लागि आफ्नो माटो छोडेर गएका थिए । कुनै परपौत्रीद्वारा आफ्नो प्रपितामहलाई दिइने ठूलो श्रद्धा यसभन्दा अरू के हुन सक्छ र ?

इजरायलले संसारको जुनसुकै कुनामा बस्ने यहुदीहरूलाई इजरायलको नागरिकता पाउने हक दिएको छ । तर, नेपालबाट विदेशमा कामको खोजीमा गएर उतै बसेका नेपालीका सन्ततिहरूले नागरिकता पाउँदैनन् । विदेशीहरूका लागि यहाँ पटक पटक कानुन बनाएर लाखौंको संख्यामा उनीहरूलाई नागरिकता दिइन्छ । टिभीले चलाएको सांगीतिक कार्यक्रममा भाग लिन आसाम, बंगाल, सिक्किम, बर्मा, थाइल्याण्ड आदि ठाउँबाट नेपाली युवा युवतीहरू आउने गरेका छन् । नेपाली माटोमा टेकेपछि आफ्नो पुर्खाको भूमि सम्झेर उनीहरू भावुक हुने गरेका छन् । पुर्खाको भूमिप्रति माया कस्तो हुन्छ विदेशमा बस्ने नेपालीहरूलाई सोध्नुपर्छ । तर, इण्डिया आदि देशबाट यहाँ आएर नागरिकता लिएर बसेका गैरनेपाली भाषीहरूको मुटुलाई छामौं त्यहाँ कतै नेपाल हुँदैन, हुन्छ उनीहरूको पुर्खाको माटाको माया, यदि ऊ मुस्लिम हो भने इण्डियाबाट आए पनि उसको माया पाकिस्तान वा अरबमाथि नै हुन्छ । उसको मुटुमा नेपाल कतै हुँदैन । ख्रिष्टान हो भने उसको माया भेटिकन हुन्छ, नेपाल हुँदैन । सांगीतिक कार्यक्रममा भाग लिन आएका हुन् वा घुम्न, विमानस्थलमा जहाजबाट झरेपछि आफ्नो पुर्खा विदेशिन बाध्य भएकाका सन्तानहरू आफ्नो पुर्खाको माटोलाई शिर झुकाएर प्रणाम गर्छन् र यहाँको माटोलाई चुम्छन् । आफ्नो माटोप्रति माया भनेको यो हो ।

हाम्रा कुनै सांसद मन्त्री भएपछि आफ्नो जिल्लामा आउँदा जिल्लाको सीमामै घोप्टो परेर धेरै बेरसम्म ढोगेको नाटक गर्छन् तर उनीहरू मौका मिल्नासाथ आफ्ना जिल्लावासीको शोषण गर्छन् । जिल्लामा विकास निर्माणको काम भनेर अर्बाैं रुपैयाँ विनियोजित गरेर निकासा पनि गर्छन्, ठेक्कापट्टा पनि खोल्छन् । तर, यो ठेक्कापट्टा आफ्नै प्र्रियतम झोलेलाई दिलाउँछन् र त्यो ठेक्कामा आफू साइलेन्ट पार्टनर बन्छन् । गुणस्तरहीन विकास निर्माणलाई मैले यसो गरेँ, त्यसो गरेँ भनेर शंखघोष गर्ने गर्छन् । उनीहरूको आफ्नो माटोलाई ढोग्ने नाटक एउटा स्वाङबाहेक केही होइन् । एउटा देशभक्त र एउटा देशद्रोहीको आफ्नो माटोलाई ढोग्ने तरिकामा पनि जमिन आकाशको अन्तर हुन्छ ।

यी नक्कली नेपाली राजनीतिक व्यवसायीहरू हुन् वा नोकरशाह प्रतिकूल परिस्थिति आए कि परिस्थितिसँग समझौता गरेर, परिस्थिति अनुसार आफू पनि ढल्केर यहाँ बस्छन् वा देश छाडेरै भाग्छन् । किनकि उनीहरूलाई कदापि यो देशको र यो देशको माटोका माया हुँदैन । यो देश, यो देशको माटो उनीहरूका लागि केवल दुहुनो गाई सिवाय केही होइन् तर आफ्ना पुर्खाको भूमिमा टेकेपछि आफ्नो पुर्खाको पदचाप खोज्न ती विदेशी नेपाली यही माटोमा बस्ने इच्छा व्यक्त गर्छन् । तैपनि उनीहरूलाई यहाँ बस्न दिइँदैन । राज्यको नजरमा उनीहरू विदेशी हुन् तर इन्डियन, रोहिंगा, बंगलादेशी, पाकिस्तानी, तिब्बतीहरू स्वतः यहाँको नागरिक हुन पाइरहेका छन् ।

नेपाल एकीकरणका वीर योद्धा बलभद्र कुवँर नालापानीको युद्धमा पराजयपछि पञ्जावका राजा रञ्जित सिंहको सेनामा भर्ती भएर उनको पक्षबाट बेलायतीसँग लड्न गए र अन्ततः अफगानिस्तानको लडाइँमा उनले वीरगति प्राप्त गरे । के बलभद्रलाई पञ्जावी भन्ने ?

भुटानबाट नेपालीहरू लखेटिए । किन लखेटिए, यो भिन्न विषय हो तर भुटानबाट शरणार्थी भएर नेपाल आउन बाध्य भएका नेपालीहरूका पुर्खाको भूमि त यो नेपाल नै हो नि, इण्डिया त होइन् । आसाम, बर्मा आदिबाट नेपालीहरू लखेटिएर किन नेपाल नै आउँछन् ? किनकि उनीहरूको साइनो नेपालको माटोसँग गाँसिएको छ । उनीहरूका पुर्खा कामको खोजीमा यहीँबाट मुग्लान लागेका थिए । नेपाल एकीकरणका वीर योद्धा बलभद्र कुवँर नालापानीको युद्धमा पराजयपछि पञ्जावका राजा रञ्जित सिंहको सेनामा भर्ती भएर उनको पक्षबाट बेलायतीसँग लड्न गए र अन्ततः अफगानिस्तानको लडाइँमा उनले वीरगति प्राप्त गरे । के बलभद्रलाई पञ्जावी भन्ने ? किन अहिले पनि बलभद्रलाई नेपाली नै भनेर इतिहासमा लेखिन्छ ? दरबारबाट सहयोग नपाएर, यसमा भीमसेन थापाको पनि गल्ती थियो वा षड्यन्त्र, नालापानीमा वीरतापूर्वक लड्दा पनि पराजित हुनु परेपछि उनी रञ्जित सिंहको सेनामा भर्ती भएर एशियाबाटै अंग्रेजलाई लखेट्ने उद्देश्यले गएका थिए । के अहिलेसम्म कुनै नेपाली शासक नालापानीमा गएर राष्ट्र एकीकरणका महान नायकनायिकाहरू प्रति सम्मान व्यक्त गरेका छन् ? आफ्नो माटो र आफ्ना वीर योद्धाहरूप्रति हाम्रा शासकहरूको माया कति छ यसैबाट प्रमाणित हुन्छ ।

कोही देशका लागि, कोही कामका लागि विदेशिन बाध्य भएका नेपालीका सन्तानलाई नागरिकता नदिएर जो वास्तविक विदेशी हो, जसको पुर्खाको यो धरतीसँग गोरु बेचेको पनि साइनो छैन तिनीहरूले लाखौंको संख्यामा नागरिकता पाएका छन्, फेरि विधेयक ल्याएर तिनीहरूलाई नागरिकता दिने प्रयास हुँदैछ । नेपालीहरू जहाँ बसे पनि उनीहरूको जरो नेपाल हो । जरोबाट हाँगा अलग हुन सक्छन् र ? ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते । योे पूर्ण हो, यो पनि पूर्ण हो, पूर्णबाट पूर्ण नै उत्पत्ति हुन्छ, यदि पूर्णबाट पूर्णलाई झिके, तब पनि पूर्ण नै बाँकी रहन्छ । अहिले शरणार्थी मुद्दालाई अगाडि सारेर सरकारले विभिन्न वितण्डाहरू उठाउँदै जनताको ध्यान दिग्भ्रमित गर्दैछ । एउटा राष्ट्रघातलाई लुकाउन अर्को राष्ट्रघात गर्ने प्रपञ्च मिलाउँदै छ । यस माटोसँग पुर्खाको साइनो भएका भुटानी नेपालीहरूलाई किन नागरिकता नदिएको ? आज भुटानी नेपालीहरूको देश छैन । भुटानले त आफ्नो नागरिकहरूलाई देशविहीन बनायो तर नेपालले पनि ती भुटानीहरूका पुर्खाको माटोसँग साइनो गाँसिएको देशमा पनि आफ्नो पुर्खाको अधिकारलाई स्थापित गर्न पाएनन् ।

किनकि, भुटानी शरणार्थीका नाममा उनीहरूलाई मानव बेचबिखनको व्यापार गर्नुथियो, सहयोगको भिख मागेर आफ्नो ढुकुटी भर्नुथियो । जुन शासकलाई पुर्खाको माटोबाट वियोगको पीडा के हुन्छ भन्ने मुटुमा लाग्छ त्यो शासकले मात्र पुर्खाको थातथलोबाट बाहिरिनु परेको र त्यहाँबाट पनि लखेटिन बाध्य भएका वा आफ्नै थातथलोमा फर्किन चाहनेलाई पुर्खाको माटोमा स्वागत गर्दै उनीहरूलाई गाँस, बास कपासको व्यवस्था गर्ने आँट गर्छ । त्यस्ता शासक पनि थिए जसले विदेशीलाई होइन नेपालीलाई मात्र नेपालमा बसाए, उनीहरूको व्यवस्थापन गरे र नागरिकता दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?