दलितले मन्दिरमा बिहे गर्ने थाहा पाएपछि पुजारी ताला लगाएर फरार

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ स्थित बडिमालिका मन्दिरमा दलितले बिहे गर्ने कुरा थाहा पाएपछि मन्दिरका मुख्य पुजारी देवराज पाध्याय फरार हुनुभएको छ । आइतबार नै पुजारीलाई भोली सोमबार बिहे गर्ने भन्दै खबर गरेको र बिहेकै दिन सोमबार मन्दिर नै बन्द गरेर पुजारी फरार रहेको बाजुराका पत्रकार मदन बिकले बताउनुभएको छ ।

मन्दिरमा पुजारी आउलान् भनेर बिहानदेखि ३ घण्टासम्म मन्दिर बाहिर कुरेर बसेका थियौं पुजारीलाई फोन गर्दा फोन सम्पर्क हुँदैन ३ घण्टा पछि मन्दिर बाहिर नै टिका लगाएर समान्य हिसाबले बिहे गरेर जोडी घर फर्किएको बिकले बताउनुभयो ।

जिल्लाको सदरमुकाम मार्तडीमै पर्ने बडिमालिका नगरपालिका–९ का प्रकाश बिकले कञ्चनपुर जिल्लाबाट पार्वती सुनारलाई भगाएर ल्याएपछि बडिमालिका मन्दिरमा बिहे गर्ने कुरा थियो ।

कञ्चनपुरबाट भगाएर ल्याएको दुई महिना बढी भएपनि बिधिवत तरिकाले बिहे गर्ने उद्देश्यले मन्दिरमा बिहे गर्ने गरी मन्दिरका मुख्य पुजारीलाई जानकारी गराएको बेहुला प्रकाश बिकले बताउनुभयो ।

'हामीलाई मन्दिर भित्रै पस्नु थिएन पुजारीले बडिमालिका देवीलाई चढाउने पुजाको सामान राखिदिए भइहाल्थ्यो तर मन्दिरमा पुजारी नआएपछि मन्दिरको झ्यालबाट बडिमालिका देवीलाई प्रसाद चढायाैँ' बिकले भन्नुभयो ।

यो बिषयमा मन्दिरका मुख्य पुजारी देवराज पाध्यायसँग फोन सम्पर्क गर्दा फोन सम्पर्क हुँन नसकेको बेहुला प्रकाशले भन्नुभयो । पुजारीका छिमेकीलाई सोध्दा बिहान मन्दिरमा दियो बाल्ने काम छ भन्दै गएको तर त्यसपछि घर नफर्किएको पुजारीका छिमेकीको भनाई छ ।
बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले आफूले पनि सामाजिक सञ्जालमा पुजारी फरार भएको कुरा थाहा पाएपछि बडिमालिका–९ का वडा अध्यक्ष सुर्यकिरण बिकलाई फोन गरेर सम्बन्धित निकाएमा निवेदन दिनु र त्यस पछि वास्तविकता के हो छानविन गर्ने बताउनुभयो । यदि उजुरी पछि छानविनमा गलत भएको देखिए कानुन अनुसार पुजारीलाई कार्वाही गरिने समेत नगरप्रमुख खड्काले जानकारी दिनुभयो ।

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बडिमालिका नगरपालिका–९ का वडा अध्यक्ष सुर्यकिरण बिकले फोन गरेर घटना बारे जानकारी गराएको बताउनुभएको छ । आफूपनि घटनाको बारेमा बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले भन्नुभयो ।

पीडित पक्षको निवेदन आएपछि घटनाबारे अनुसान्धन थाल्ने प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो । अनुसन्धानको क्रममा दोषी देखिए कानून बमोजित कार्बाही अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी खड्काको भनाई छ ।
पीडित पक्षले जातीय छुवाछूत तथा अमानविय व्यवहार सम्बन्धि उजुरी दिने तयारीमा रहेको स्थानीयले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?