मन्त्रिपरिषद् बैठक : असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

१२० मिलियन डलर ऋण स्वीकार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार असोज २ नेपालमा सबै बालबालिकालाई अनिवार्य निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिनलाई शिक्षा दिवस मनाउने निर्णय गरिएको हो । यसअघि २०३१ सालदेखि फागुन १२ गते शिक्षा दिवस मनाइँदै आएको थियो । ०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा शिक्षा दिवस मनाउने गरिएको थियो ।

यस्तै, जापान सरकारबाट प्राप्त हुने मानव संशाधन विकास छात्रवृत्तिको ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । भन्सार महसुलसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको र उक्त निर्णयले भन्सार महसुलसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने बाटो खुलेको मन्त्री शर्माले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?