प्रचण्ड सरकारले पायो पूर्णता

जसपाबाट महतो वन तथा वातावरणमन्त्री र राज्यमन्त्रीमा प्रमिलाकुमारी यादव

कृष्ण भुसाल
Read Time = 8 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको छ । मंगलबार ११औँ पटक मन्त्रिपरिषद् पुनर्गठन भएसँगै सरकारले पूर्णता पाएको हो । दाहाल सरकारमा मंगलबार जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट वन तथा वातावरणमन्त्रीमा वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिलाकुमारी यादव नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्री र राज्यमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । योसँगै प्रधानमन्त्रीसहित २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । जसपाबाट यसअघि नै नेता अशोक राई शिक्षामन्त्री बन्नुभएको थियो ।

प्रचण्ड सरकारमा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री छन् । नेपाली कांग्रेसबाट नौ मन्त्री छन् । नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट एक/एक मन्त्री छन् ।

नेकपा (एमाले)सहितको समर्थनमा प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले पहिलोपटक पुस ११ गते मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । एमालेसहित सातदलीय गठबन्धनबाट पहिलोपटक तीन उपप्रधानसहित ६ मन्त्रीले शपथ लिएका थिए । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक माघ ३ गते मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो । ०७९ माघ १४ गते नागरिकता प्रकरणका कारण तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै खाली रहेको गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्नुभएको थियो । चौथोपटक माघ २३ गते मन्त्रिपरिषद् फेरबदल गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छाडेपछि तीन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैँले सम्हाल्नुभएको थियो । फागुन १४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छाडेपछि पाँचौँपटक मन्त्रिपरिषद्मा फेरबदल गरियो । राप्रपाले छाडेका तीन मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री आफैँले सम्हाल्नुभएको थियो ।

छैटौँपटक फागुन १६ गते एमालेले सरकार छाडेपछि थप आठ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हाल्नुभएको थियो । पुस १० मा बनेको गठबन्धन राष्ट्रपतिको निर्वाचनताका भत्कियो । कांग्रेससहितको लोकतान्त्रिक–वाम गठबन्धन बनाउँदै प्रचण्डले आफ्नो सरकारलाई अघि बढाउनुभयो । उहाँले सातौँपटक चैत १७ गते कांग्रेसका चार, एकीकृत समाजवादीका दुई, लोसपाका एक, नागरिक उन्मुक्तिका एक र आफ्नै पार्टी माओवादीबाट समेत मन्त्री थप्दै सरकार विस्तार गर्नुभएको थियो । प्रधानमन्त्रीले आठौँपटक वैशाख ३ गते मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । कांग्रेस सांसद एनपी साउदलाई उहाँले परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको थियो । एकीकृत समाजवादीबाट नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्नुभयो । यस्तै, वैशाख ५ गते उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुनमन्त्री बन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले वैशाख २० गते नवौँपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो । जसमा कांग्रेसबाट तीन मन्त्री नियुक्त भएका थिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त हुनुभएको थियो ।

वैशाख २४ गते १०औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । जसमा कांग्रेसबाट सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्त गरिएको थियो । महिलामन्त्री रहनुभएका महिन्द्र राय यादवको जिम्मेवारी सोही दिन हेरफेर गरिएको थियो । उहाँलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो । जेठ ९ गते मंगलबार मन्त्री थपिएसँग प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

मधेश प्रदेशमा तेस्रोपटक मन्त्रिमण्डल विस्तार, अझै पाएन पूर्णता
मधेश प्रदेशमा नेपाली कांग्रेसका दुई तथा नेकपा एकीकृत समाजवादीका एक मन्त्रीले शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले भौतिक पूर्वाधार तथा विकासमन्त्री र वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रूपमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । यस्तै, एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा शपथ लिनुभएको छ । शपथग्रहण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले ६ दलीय गठबन्धनको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार गरिएको र बाँकी रहेका मन्त्रालयको विषयमा पनि छलफल भइरहेको र यसै साता विना विभागीय मन्त्रीहरूलाई पनि जिम्मेवारी तोक्ने जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?