सुदूरपश्चिममा सवारी दुर्घटनामा परी एक वर्षमा १७७ जनाको मृत्यु

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । सुदूरपश्चिम प्रदेशभित्र विगतका वर्षहरूको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा सवारी दुर्घटनामा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा ६ सय ७२ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुर्घटनामा आधाले कमी आएको छ । गत आर्थिक बर्षको अवधिभित्र ३ सय २० सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा सबैभन्दा बढी १ सय ६९ वटा मोटरसाइकल दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ३ सय ५६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मोटरसाइकल दुर्घटनामा पनि कमी आएको छ ।

सुदूरपश्चिममा गत आर्तिक वर्षमा ८ वटा ट्रक, दुई टिपर, चार डोजर, १७ बस, ५ माइक्रो बस, ४५ कार जिप, ४१ ट्याक्टर, ८ टेम्पु, लगायत ३ सय २० दुर्घटना भएका हुन् । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ३२ ट्रक, १० टिपर, तीन डोजर, ३१ बस, चार माइक्रो बास, एक सय ३ कार÷जिप, ६० ट्याक्टर, २४ टेम्पु, तीन सय ५६ मोटरसाइकलसहित ६ सय ७२ दुर्घटना भएका थिए ।

प्रदेश ट्राफिक प्रहरीका अनुसार सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर १ सय ७७ जनाको मृत्यु भएको छ भने आर्थिक वर्ष २०७८÷७९ मा १ सय ९६ जनाको मृत्यु भएको थियो । प्रदेशमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको छ । सुदूरपश्चिममा गत वर्ष १ सय ४४ पुरुष, २२ महिला, ६ बालक र ५ बालिकाको सवारी दुर्घटना परेर मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कले छ । २०७८/७९ मा १ सय ५३ पुरुष, २७ महिला, १२ बालक र चार बालिकाको सवारी दुर्घटनामा मृत्यु भएको समेत प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको विवरणमा उल्लेख छ ।

प्रदेशभित्र अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्यामा समेत कमी आएको छ । अघिल्लो वर्ष ३ सय ९५ जना घाइते भएकोमा गत वर्ष १ सय ९७ जना गम्भीर घाइते भएका छन् । प्रदेशभित्र २०७९/८० मा एक सय ५१ पुरुष, ३२ महिला, ७ बालक र ७ बालिका घाइते भएका हुन भने २०७८/७९ मा २ सय ८३ पुरुष, ७३ महिला, २७ बालक र १२ बालिका घाइते भएका थिए । ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्यामा समेत कमी आएको छ ।

त्यस्तै गत वर्ष २ सय ५२ वटा दुर्घटना पशु चौपायामा ठोक्किएर भएका छन् । अघिल्लो आर्थिक वर्षमा पाँच सय एक दुर्घटना पशु चौपायासँगै ठोक्किएर भएका थिए । गत वर्ष दुर्घटनाबाट १६ पशु चौपाया मरेका छन् । ६ घाइते भएका थिए। २०७८/७९ मा ३१ चौपाया मरेका थिए भने १० घाइते भएका थिए ।

ट्राफिक नियम विपरीत हिँड्नेलाई कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा कमी आएको दाबी गरिएको छ । सवारीसाधन कारबाही पर्ने क्रम बढ्दै जानुले पनि दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीको बुझाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?