पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा शुक्रबार पुरुष क्रिकेट प्रतियोगितामा स्वर्ण जितेको छ । महिला क्रिकेटको उपाधि भने काठमाडौंले जितेको थियो । चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण जितेको हो ।

निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र जोडेपछि चिवतनले सहज जित निकाल्यो । चितवनका बलरले उत्कृष्ट बलिङ गरेपछि ललितपुरका ब्याटर लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । चितवनका बलर दिवस आचार्यले पाँच विकेट लिँदै ललितपुरको इनिङ धराशायी बनाउनुभयो । उहाँले चार ओभरमा १५ रनमात्र खर्चिनुभयो ।

दीपेश श्रेष्ठले दुई तथा गौतम केसीले एक विकेट लिँदै ललितपुरलाई सस्तैमा रोक्नुभयो । ललितपुरका विवेक रानामगर २७ रनमा नटआउट रहँदा ओपनर आशुतोष घिरैया २५ रन, रोनिम तिवारीले १६ रन र आरस तामाङले १४ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सक्नुभएन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रनको योगफल जोड्यो । निकै खराब सुरुवात चितवनले २.१ ओभरमा नै दुई विकेट गुमाउँदा ११ रनमात्र जोडेको थियो ।

ललितपुरका बलर प्रसिद्ध बज्रचार्याले ओपनर साकार ढकाल चार रनमा र सन्तोष न्यौपानेलाई एक रनमा पवेलियन फर्काउँदै चितवनलाई ठूलो झड्का दिनुभयो । यद्यपि, तेस्रो विकेटका लागि ओपनर पाल्देन लामा र जेनिस महतले ५३ रनको अर्धसतकीय साझेदारी गर्दै इनिङ सम्हाल्नुभयो । गौतम केसीले ३६ रन, पाल्देनले ३४ रन र जेनिस र प्रतीक श्रेष्ठले समान ३२ रन जोडेपछि घरेलु टोलीले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो ।

ललितपुरका बलर प्रसिद्धले तीन विकेट लिँदा विवेक रानामगरले दुई तथा युनिस थापा र आदिल खानले एक विकेट लिनुभयो । प्रतियोगितामा काठमाडौंका इसान पाण्डे प्लेयर अफ दि सिरिज हुनुभयो । काठमाडौंकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याटर घोषित हुनुभयो । विजेतालाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यलय प्रमुख देवनारायण चौधरीलगायतले पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?