एसियन कपको छनोटका लागि यू-२० टोलीको घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे रहेका छन् । ए समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

घोषित नेपाली टोलीको गोलकिपरमा कविता विक, लीला जोशी, सावित्री किसान, डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जिटी, सारा बज्राचार्य, अञ्जली मचामासी र फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान हुनुहुन्छ ।

यस्तै भारतीय महिला लिग (आइडब्लुएल) खेलेर राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा, मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बू स्वदेश फर्कनुभएको छ । सावित्राले गोकुमल केरेला एफसी तथा रेनुका र सरुले किकष्टार्ट एफसीबाट लिग खेल्नुभएको थियो । आइतबार भएको फाइनलमा किकष्टार्टलाई ५-० ले हराउँदै गोकुलमले उपाधिमा हृयाट्रिक गरेको थियो । सावित्रा २९ गोलसहित सर्वाधिक गोलकर्ता बन्नुभएको थियो । यसपटक ६ नेपाली खेलाडीले एकै पटक आई लिग खेलेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?