सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनु पर्छः उपसभामुख राना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ ।

शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताउनु भएको हो । त्यस अवसरमा उहाँले महिला सांसदहरुका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताउनु भयो ।

उपसभामुख रानाले सबै विद्यालयहरुमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गर्नु भयो । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरुले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘यो राष्ट्रिय प्रोग्राम नै हुनु पर्‍यो कि महिला दिदीबहिनीहरुलाई, छोरीहरुलाई सुरक्षित राख्नु पर्छ भन्ने प्रोग्राम हाम्रो नेशनल प्लानिङ भित्र, बजेट भित्र यो आउनु पर्‍यो । बजेट भित्र आएर हरेक स्कुलमा स्यानिटरी प्याड, जसले इन्भारोमेन्टलाई असर गर्दैन । त्यस्तो प्याडहरुको व्यवस्था गर्नु पर्‍यो । र, हामीले यो संसद भवनमा पनि त्यहाँ सेनिटरी प्याडहरु राखिएको छैन । सूरुवात माथि नै छैन भने तलसम्म पुग्छ भन्ने हुँदैहुँदैन । म यसमा के भन्न चाहन्छु भने हाम्रा माननीयज्यहरुलाई पनि, महिला माननीयज्यूहरुलाई सेनेटरी प्याडको लागि जोडदार ढंगले कुरा गर्ने र यसलाई राष्ट्रिय योजना भित्र राखेर हरेक ठाउँमा यो सेनिटरी प्याडको व्यवस्था गर्नु पर्छ भनेर म भन्दा सिनियर सम्मानितज्यहरुसँग त्यो कुरा गर्ने भनाई राख्न चाहन्छु । यहाँ एक्सपोज नेपालले धेरै कुराहरु गर्नु भएको छ । घरेलु हिंसादेखि लिएर बलात्कारहरुको विषयमा पनि मुद्दा उठाईरहनु भएको रहेछ । यसका लागि म यस संस्थालाई धन्यवाद दिन चाहन्छु । र, अव महिलाहरुले चुप लागेर बस्ने बेला छैन ।’

उपसभामुख रानाले महिलाहरुको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंशा पनि गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?