श्रमिक, मजदुरलाई गणतन्त्र ‘हर्ष न विस्मात !’ भन्छन्: ‘गणतन्त्रले चुलो बाल्दिन्न’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । सोमबार ‘धुमधाम’का साथ १६ औं गाणतन्त्र दिवस मनाइयो । तर नागरिकस्तरमा दिवसले कुनै खुसी दिएन । दिनभर श्रम गरेर साँझ पेट भर्ने श्रमिक तथा मजदुरलाई त गणतन्त्र आउनुले कुनै फरक पारेन । उनीहरूको दुःख, अभाव र पीडा उस्तै छ ।

बगनासकाली घोरबन्दाका मानबहादुर कुमालाई गणतन्त्र दिवस किन मनाइन्छ, थाहा छैन । अघिल्लो वर्ष दिनभर भारी बोकेर साँझ घर फर्किएपछि थाहा पाउनुभएको थियो ‘गणतन्त्र दिवस’ रहेछ भन्ने । यो साल पनि त आयो गणतन्त्र दिवस भन्दा उहाँ विरही स्वरमा भन्नुहुन्छ, ‘गणतन्त्र दिवस आयो, त्यसको न चिन्ता न चासो छ मलाई । मेरो चिन्ता देशमा गणतन्त्र दिवस आउँदा मेरा लागि बाटोमा भारी बोकाउने मान्छे आउँछन् आउँदैनन् भन्ने हो ।’ उहाँलाई थाहा छ ‘चाडपर्वसँगै उहाँसँग परिवारले गर्ने आशा । अनि महिनौंदेखि थाप्लोमा नाम्लो नपर्दाको आफ्नो नियति’ । कुमाल भन्नुहुन्छ, ‘गणतन्त्र दिवसले मेरो चुलो बाल्दैन । चुलो बल्न भारी बोक्नुपर्छ । भारी बोक्न यहाँको बजार खुल्नुपर्छ ,यही मेरा लागि ठूलो कुरा हो ।’

‘गणतन्त्र आइसकेपछि हामी जस्ता मजदुरको लागि रोजगारीलगायत केही व्यवस्था हुनुपथ्यो । तर, केही भएन । नेताहरु आफैँ कुर्सीको लागि लड्दै ठीक छ’ सोमबार तानसेनको मखनटोलमा हातमा नाम्लो लिएर कामको खोजीमा भौतारिदै गर्नुभएका शंकर कुमालले भन्नुभयो । ‘२०६० सालदेखि तानसेनमा भारी बोकेरै जिविकोपार्जन गर्दै आएको अहिले २० वर्ष भयो । गणतन्त्रको आन्दोलनमा हामी पनि सहभागी भयौं हो । तर, हाम्रा लागि भने केही भएन । यही भारी बोक्ने काम पनि पहिलेजस्तो पाइदैन । खोइ त हामीलाई सरकारले हेरेको ? भारी नबोके खाने अर्को उपाए छैन् ।’ कोभिड पछि सुुस्ताएको तानसेनको बजारमा भारी बोक्ने काम समेत पाउन छोडि सकेको कुमालको गुनासो छ । उहाँले भन्नुुभयामे ‘ केही काम गरौं भने पनि नेपालमा अरु उद्योग, कलकारखाना छैन, बालबच्चा पाल्नलाई धौं धौं छ । जनतन भारी बोकेरै भएपनि बालबच्चालाई हुर्काउने र पढाउने गरेको थिए । तर अहिले काम नै नपाएपछि हामीले के गरेर खाने । अनि यो गणतन्त्रले हामीलाई के दियो त ?’ गणतन्त्र आएपछि त हामी जस्ता गरिबलाई त यस्ता कुरामा हेर्नुपथ्यो तर सरकारले हेरेन गहभरी आँसु झार्दै कुमाले गुनासो पोख्नुभयो । उहाँको जस्तै सुन्तली नेपालीको पनि व्यथा उस्तै छ ।

तानसेन धरम्पानीकी मञ्जु खनालले तानसेनका गल्ली गल्लीमा सागको डोको बोकेर हिँड्न थालेको एक दशक बित्यो । छोरा सानै थिए, छोरालाई हुर्काउने र बिहान बेलुकाको छाक टार्नका लागि कमाउने जिम्मेवारी उहाँको एक्लो काँधमा थियो । कैयौं दिन छोरालाई आडमा राखेर उहाँले सागका मुठा बेच्नुभयो । ती अप्ठ्यारा दिनको कल्पना गर्दा आज पनि उहाँलाई दुःख लाग्छ । खनालले डोकोमा तरकारी डुलाउँदा डुलाउँदै कयौं गणतन्त्र दिवस आए गए तर उहाँलाई कुुनै सहज भएन । हिजो पनि तरकारीको पैसाले छाक टारेर तरकारीमा लगानी गर्न पुग्छ पुग्दैन भन्ने चिन्ताले सताउँथ्यो । आज पनि सोही चिन्ता र पिरले पछ्याइरहन्छ उहाँलाई ।

तानसेनमा घर बनाउने काम गर्दै आउनुुभएकी नेपालीले पनि गणतन्त्रको कुनै पनि अनुभूति नभएको बताउनुुहुुन्छ । उहाँलाई ज्याला मजदूरी गरेर दैनिक पाँच सय रुपैयाँबाट छोराछोरीको पढाइ र घर खर्च चलाउनुपर्ने बाध्यता छ । ‘गणतन्त्र आएपछि देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो तर, १५ वर्ष बित्यो हामी मजदूरको अवस्था उस्तै छ,’ उहाँले भन्नुभयो, ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता सबै आयो । हाम्रो अवस्थामा खै कुनै परिवर्तन आएन ।’ गणतन्त्र दिवसको अघिल्लो दिन रिडी खोलाको बगरमा भेटिनुभएकी गुल्मी चन्दकोटकी मीना दर्जीलाई गिट्टी नकुटे साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन् । खोला छेउछाउ दिनभर गिट्टी कुटेर दर्जीले ५ जनाको परिवार पाल्दै आउनुुभएको छ । खोला छेउछाउ पुगेर ढुङ्गा खोज्ने अनि, दिनभर शीतल छहारीमा बसेर गिट्टी कुट्ने कामले दर्जीलाई दिन गएको पत्तो हुँदैन । ‘के श्रमिक दिवस के गणतन्त्र ? केही थाहा छैन्’ मुसुक्क मुस्कुराउँदै उहाँले भन्नुुभयो । ‘गणतन्त्र आयो त भन्छन्, खै हामी मजदूरी गरेर खानेलाई गणतन्त्रको कुनै महशुस नै हुनसकेको छैन,’ उहाँले थप्नुभयो ‘बूढेसकाल लागिसक्यो । गणतन्त्र आयो तर, हाम्रा दिन फेरिएनन् ।’ कुमाल, खनाल दर्जी र नेपाली त केही प्रतिनिधि पात्रा मात्र हुन् । उहाँहरु जस्ता धेरैको अवस्था उस्तै छ । सोमबार सरकारले सार्वजनिक बिदा दिएर देशैभर हर्षोल्लासपूर्वक दीप बालेर पन्ध्रौं गणतन्त्र दिवस मनाइरहँदा दैनिक ज्याला मजदुरी गरी जीवन चलाउँदै आएका पाल्पाका श्रमिक तथा मजदुुरहरुलाई भने चुलो बाल्नै हम्मेहम्मे छ । एउटा राजा फालेर गाउँ–गाउँमा सरकार पुग्ने गरी आएको संघीय लोकतान्त्रिक गणतन्त्र श्रमिक, मजदुरका लागि भने कागलाई बेलजस्तै भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?