प्रधानसम्पादक पुरुषोत्तम दाहालको उपन्यास ‘कालपात्र’ लोकार्पण

राजनीति सफा नगरीकन देश बन्दैन : गृहमन्त्री श्रेष्ठ

कृष्ण भुसाल
Read Time = 10 mins

काठमाडौं । हिमालय टाइम्सका प्रधानसम्पादक प्राध्यापक पुरुषोत्तम दाहालको उपन्यास ‘कालपात्र’ लोकार्पण भएको छ । मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । कृति लोकार्पण गर्दै श्रेष्ठले राजनीति सफा नगरीकन देश नबन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाज सञ्चालन गर्ने राजनीतिले हो, राजनीति सफा नगरीकन समाज बन्दैन । देश बन्दैन ।’ स्रष्टा दाहाललाई असल मान्छे बन्ने प्रक्रियामा अघि बढेको मुक्ति योद्धाको संज्ञा दिँदै प्रमुख अतिथि श्रेष्ठले समाजमा खराबै खराब मान्छे मात्रै नभएको बताउँदै यथार्थको मरणशील पक्षमा आफ्नो कृतिमार्फत व्यक्त गर्न खोजको बताउनुभयो ।

राम्रा मान्छेले समाजलाई अघि बढाउनुपर्छ भन्ने आशयले यो कृति आएको उहाँको धारणा थियो । जीवनका मूल्यमा ठूलो ह्रास आएको बताउँदै मन्त्री श्रेष्ठले स्वार्थका लागि राष्ट्रघात हुने गरेका भए पनि आशावादी भएर समाज रूपान्तरणमा लाग्नुपर्ने बताउनुभयो । सबैतिर निराशै निराशा र विकृतिले गाँजिरहेको अवस्थामा यो पुस्तकले आशा रोपण गर्नेमा आफू विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।

मन्त्री श्रेष्ठले राजनीतिमा सत्ता र शक्तिका लागि जे पनि गर्ने प्रवृत्ति हाबी हुँदै गएको बताउँदै भन्नुभयो, ‘पाखण्ड, ढोंग, कालोबजारी, सत्ता, शक्तिका लागि जे पनि गर्ने प्रवृत्ति बढ्यो ।’ यसैले देश नबनेको उहाँको विश्लेषण थियो । ‘यसैले हाम्रो देश बनेन । अब देश बनाउनका लागि यहीँबाट सुरू गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

अहिलेको अवस्थाका लागि हिजोका ठूला ठूला आन्दोलन नभएको बताउँदै ‘के हामीले हिजोको युगान्तकारी परिवर्तन यत्तिका लागि, यही अवस्थाका लागि गरेका थियौँ ?’ भन्दै प्रश्न गर्नुभयो । अहिलेको राजनीतिले आफूलाई पनि पीडा दिने गुनासो गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अहिलेको राजनीतिले मलाईसमेत पीडा दिन्छ । भ्रष्टाचारी बढेका छन् । ढोंगीहरू बढेका छन् । कालोबजारी बढेको छ ।’ राजनीतिक आवरणमा हुने विकृतिलाई पुस्तकले उजागर गरेको बताउँदै श्रेष्ठले भन्नुभयो, ‘राजनीतिक आवरणमा हुने विकृतिलाई यस पुस्तकले उजागर गरेको छ । वर्तमान देशको अवस्थाले पिरोलिएर स्रष्टा दाहालको यो कृति आएको हो, देशको मूल नीति राजनीति सफा नभईकन देश बन्दैन भन्ने यसको अन्तरनिहित आशय छ ।’

कृतिको समीक्षा गर्दै प्राडा. ज्ञानु अधिकारीले दाहालको कृतिमा तीनवटा पक्ष रहेको बताउनुभयो । उहाँले कृतिमा वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शन रहेको भन्दै यसमा प्रशासन, कानुन, संविधान जस्ता अन्य पक्ष जोडिएर आएको टिप्पणी गर्नुभयो । यसलाई राजनीतिक उपन्यास भन्दा पनि हुने भनाइ राख्दै अधिकारीले उपन्यास पढ्दा डरलाग्दो दहमा फसेको अनुभूति हुने जिकिर गर्नुभयो । हाम्रो राजनीति, प्रशासन, पत्रकारिता, कानुन लगायतमा देखिएको चरम विकृतिलाई स्रष्टा दाहालले यसमा उजागर गरेको उहाँको भनाइ थियो । यो उपन्यासको अर्को सशक्त पक्ष दार्शनिक चिन्तन रहेको अधिकारीको धारणा थियो ।

यस्तै, पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै पूर्वसांसद एवं लेखक शोभाखर पराजुलीले राजनीतिमा रहेका छदमभेषी अनुहारको यस कृतिमा छरपस्ट रूपमा आएको बताउनुभयो । राजनीतिले धर्म छाड्दा अहिलेका अवस्था आएकोमा चिन्तित देखिनुभएका स्रष्टा दाहालले उपन्यासमार्फत वर्तमान अवस्थालाई चोटिलो प्रहार गरेको उहाँको जिकिर थियो । दाहालले यत्रो उपन्यास लेख्नुपर्ने अवस्था किन आयो ? समाजले सोच्नुपर्ने बेला आएको बताउँदै असल मान्छेको पुनरोदय हुने पराजुलीको भनाइ थियो ।

कृतिका सर्जक प्रा. पुरुषोत्तम दाहालले आफ्नो अमेरिकामा रहेका नाति श्रीयमरत्न दाहालको गर्त वर्ष जन्मदिनको दिनमा यस कृति लेखन सुरुवात गरेको स्मरण गर्दै श्रीयमकै जन्मदिनका दिन मंगलबार कृति लोकार्पण गरेको जानकारी दिनुभयो । उहाँले कृतिको नामका विषयमा काल भनेको गतिहीन स्थिर हुन्छ भन्दै यो स्थिर कालमा अनेक घटना परिघटना अघि बढाउने पात्र हुने बताउनुभयो । समाजका नायक भन्नेहरूले पढ्नैपर्ने कृति रहेको जिकिर गर्दै तिनीहरूकै लागि लेखिएको उहाँको स्पष्टोक्ति थियो । उहाँले भन्नुभयो, ‘म विसं. २०२७ सालदेखि राजनीतिमा सचेत नागरिकका रूपमा रहेको छु, राजनीति अपराधको पीडा भएर यो कृति लेखेको हुँ ।’ हिंसा, व्यभिचार र भ्रष्टाचारलाई जहिल्यै आफूले घृणा गरेको बताउँदै उहाँले समाजमा रहेका तमाम विकृतिलाई यस कृतिमार्फत उजागर गर्ने केसिस गरेको सुनाउनुभयो । फरक प्रसंगमा सोमबार सार्वजनिक भएको बजेटमा सञ्चार क्षेत्रलाई सम्बोधन हुन नसकेकोमा स्रष्टा दाहालले चिन्ता व्यक्त गर्नुभयो । राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको उल्लेखनीय योगदान रही आएको भए तापनि राज्यले उचित सम्बोधन गर्न नसकेको उहाँको भनाइ थियो । कृति कालपात्रको बिक्रीबाट आएको रकम प्रेसको खर्च कटाएर बाँकी रकम शान्ता फाउण्डेशनमा जम्मा हुने स्रष्टा प्रा. दाहालले जानकारी गराउनुभयो । शान्ता फाउण्डेशनले विपन्न परिवारका क्यान्सर पीडितको उपचारका लागि सहयोग पुर्‍याउँदै आएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकुलपति प्राडा. कुलप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रामजी दाहालले गर्नुभएको थियो भने स्वागत मन्तव्य कृष्ण भुसालले राख्नुभएको थियो ।

इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालि. हिमालय टाइम्स राष्ट्रिय दैनिकको आयोजनामा भएको कार्यक्रममा सांसद रामहरि खतिवडा, सांसद ऐनबहादुर शाही, सांसद मैना कार्की, संविधानसभा सदस्य हाजी नजिर मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङ, हिमालय टाइम्स राष्ट्रिय दैनिकका निर्देशक उज्ज्वल शर्मा, वरिष्ठ चिकित्सक एवं साहित्यकार प्राडा. अर्जुनदेव भट्ट, महिला दबाब समूहकी अध्यक्ष कल्याणी शाह, वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, कृतिका भूमिका लेखक कवि कलानिधि दाहाल, कृतिका भाषा सम्पादक कवि पत्रकार विनोद दाहाल वत्स, कृतिका कला संयोजक कलाकार तथा साहित्यकार रमेश पौडेल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, साहित्यकार हरिभक्त सिग्देल, लेखनाथ पोख्रेल, विश्व पोख्रेल, महेन्द्र पोख्रेल, विनोद भट्टराई, केशवप्रसाद चौलागाईं, लक्ष्मण रायमाझी, हिमालय टाइम्सका सम्पादक सन्दीप पौडेल, गीता अधिकारी, लेखनाथ पोख्रेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र सञ्चारकर्मीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?