शरणार्थी प्रकरण र नेपाली राजनीति

Read Time = 15 mins

नेपाली समाजको समयानुकूल हुन नसकेको सकारात्मक परिवर्तन र यसको असर विस्तारै सामाजको सबै तह र तप्कामा देखिन थालेको प्रत्यक्ष प्रमाण आजभोलिको नेपाली समाजको सामाजिक, आर्थिक एवं राजनीतिक परिवेश हो । नेपाली समाज आर्थिक पक्षमा मात्र पछि परेको कुरा बारम्बार गरिरहेका हुन्छौं । अधिकांश सञ्चारमाध्यममा यसबारेको कभरेज बढी हुन्छ । विकास र संमृद्धिको एउटा स्तरमा नपुगुञ्जेल यो छलफल बहस आवश्यक छ तर यो मात्रले समाजको सकारात्मक दिशानिर्देश गर्न सक्दैन । समाजमा सदीयौंदेखि विद्यमान मूल्यमा जसरी क्षयीकरण भइरहेको छ यस बारेमा कुनै तहमा आजसम्म बहस एवं छलफल हुन सकेको छैन ।

नब्बेको दशकपछि विश्वमानचित्रमा जुन विकासको गतिको कारण समाजको सकारात्मक परिवर्तन हुनसकेको छ, सो गतिमा हाम्रो समाज चल्न नसक्दाको परिणाम हामी खेपिरहेका छौं । समावेशी मान्यतासहितको बहुदलीय प्रजातान्त्रिक विधिमा आधारित शासन प्रणाली अवलम्बन गरिसकेको तीन दशक भइसकेको अवस्थामा न्यूनतम आधारभूत आवश्यकताका सेवामा बहुसंख्यक नेपालीहरू तड्पिरहेका छौं । राजनीति, प्रशाशन, शिक्षा, स्वास्थ्य, निर्माण, परराष्ट्र, उत्पादन, निर्यात, बैंक वित्तीय क्षेत्र, बजारलगायत क्षेत्रमा सन्तुष्ट हुने अवस्था देखिँदैन । राजनीतिक नेतृत्वमा देखिएको चरम विकृति र निराशाका बीच कसरी समाजले निकास पाउला भन्ने चासोको विषय छ ।

हालै सतहमा आएको भुटानी शरणार्थी प्रकरणले समग्र नेपाली सत्ता राजनीति र शक्तिको आडमा हुनेगरेको घिनलाग्दा कर्तुतहरूको भण्डाफोर गरेको छ । जेहोस् आजको दिनसम्म कानुनी रूपमा कसैलाई पनि दोषी निक्र्यौल गरिसकिएको अवस्था भने छैन । यस किसिमका आन्तरिक घट्नाले अन्तर्राष्ट्रियस्तरमा समग्र नेपाल र नेपालीहरूको नाकमा जसरी कालो लाग्न पुगेको छ, यसलाई शर्मनाक विषयवस्तुको रूपमा लिनुपर्ने देखिएको छ । यस किसिमका घट्ना हुनुका पछाडि समाजमा विद्यमान विविध तत्वको भूमिकालाई खोतल्ने प्रयास गरिएको छ । शरणार्थी प्रक्रियमा यदि दोषी ठहरिएमा कुनै व्यक्ति विशेष वा समूह विशेषको अपराधीकरणमा सबैलाई समान्यीकरण गर्न खोजिएको भने होइन । तर, विद्यमान प्रवृत्तिगत पक्षलाई इंगित गर्नमात्र खोजिएको हो ।

भर्खरै सतहमा आएको भुटानी शरणार्थी प्रकरणले समग्र नेपाली सत्ता राजनीति र शक्तिको आडमा हुने गरेको घिनलाग्दा कर्तुतको भण्डाफोर गरेको छ । जेहोस् आजका दिनसम्म कानुनी रूपमा कसैलाई दोषी निक्र्यौल गरिसकिएको अवस्था भने छैन ।

राजनीतिक नेतृत्वको गिर्दो निष्ठा र मूल्य : हालको राजनीतिक नेतृत्वहरूमा बीपीको जीवनदर्शनले सिञ्चित नेपाली कांग्रेस, पुष्पालाल मनमोहन एवं मदन भण्डारीले सुरुवात गरेको एमाले, दशकभारि सशस्त्र आन्दोलनमा हजारौं नेपालीहरूको शाहदत भएको माओवादीलगायत गजेन्द्रनारायण सिंह जस्तो आदर्श व्यक्तित्वको दर्शनबाट प्रभावित तराई केन्द्रित दलहरूकै दबदबा देखिन्छ । तर, दलहरूको राजनीतिक नेतृत्वमा हुनुपर्ने मूल्य, मान्यता र निष्ठको व्यवहारमा दिनानुदिन स्खलन आइरहेको छ ।

कांग्रेसी नेता तथा कार्यकर्तामा देखिएको भड्किलो एवं महँगो जीवन पद्धति, एमालेका नेता तथा कार्यकर्तामा विकसित भएको विलासितासहितको चाँडै धनी बन्ने प्रवृत्ति, त्रिसठ्ठी सालबाट मात्र खुला राजनीतिमा आएको माओवादी नेता तथा कार्यकर्ता माझ अप्रत्यासित रूपमा विकसित अति उपभोक्तावादी अमेरिकनस्तरको जीवनशैलीको प्रत्यक्ष असर सत्ता राजनीति तथा सरकारी सेवाप्रवाह हुने विभिन्न तह तथा तप्कामा देखिन थालेको छ । त्यसैगरी तराई केन्द्रित दलहरूमा विकसित द्वेद मानसिकताले तराईमा वर्षौंसम्म सिमान्तीकृत बन्न पुगेका लाखौं सर्वसाधारणको आशा एवं विश्वाशको केन्द्रमै धमिरा लाग्न थालेको छ । तराई केन्द्रित अधिकांश दल सत्तामा हुँदा र बाहिर बस्दाको व्यवहारमा फरकपनका कारण जेन्युन राजनीतिक विषयवस्तुको सम्बोधन हुन नसकेको हो । केन्द्रदेखि वडास्तरसम्मका सबै दलका कार्यकर्ता माझ विकसित भ्रष्ट व्यवहारले अन्तत्वगत्वा देखाउने बाटो भनेको स्वाभाविक रूपमा यही किसिमको हो । यो तथा त्यो स्तरको अपराध हो । दलगत राजनीतिको गलत प्रयोगका कारण समाजमा एउटा ठग समूहको निर्माण क्रमशः हुँदै गएको छ । सो समूहको पहुँच, सत्ता र केन्द्रीय राजनीतिसँग प्रत्यक्ष भएकाले यस किसिमका गतिविधिले प्रश्रय पाउँदै गएका हुन् । दलहरूको नेतृत्वले आजका दिनसम्म कार्यकर्तालाई इमानदारीका, मिहिनेत र परिश्रममा आधारित सरल, वैज्ञानिक सोचको जीवनशैली अपनाउन कहिल्यै अभिप्रेरित गरेको पाइँदैन ।

महँगो राजनीतिक प्रणाली : हाल मुलुकमा विद्यमान राजनीतिक तथा प्रशासनिक प्रणाली विश्वकै सबैभन्दा महँगो प्रणालीमध्येको एक हो । अर्थतन्त्रको आकार, संरचना, उत्पादन, निर्यात तथा नाफामुखी, समग्र आर्थिक क्रियाकलापमा विश्वको अन्त्यतिर पर्ने मुलुकको शासकीय प्रणाली सबैभन्दा महँगो छानेर लागू गरेपछि समाजमा आर्थिक अनियमितताको जात्रा देखिनु कुनै हिसाबले अस्वाभाविक हुँदैन । संघीय, प्रान्तीय तथा स्थानीय सबै निकायमा विनियोजित रकममा नराम्रो स्तरमा भ्रष्टचारका घटना देखिनुले यस विषयलाई पुष्टि गर्दछ । तीन करोडको जनसंख्याको मुलुक जसमा आन्तरिक राजस्व परिचालनले मुलुकको साधारण खर्चसमेत धान्न सक्दैन ।

हामीले विकासित गरेको प्रणालीमा वडाअध्यक्षलाई समेत पारिश्रमिकको व्यवस्था गरेका छौं । अनि हामी ऋणमा नडुबेर को डुब्ने ? कि आर्थिक तथा व्यावसायिक गतिविधिमा नीतिगत छलाङ मारेर जान सक्नुपर्‍यो कि त राजनीतिक प्रणाली सस्तो एवं सुलभ बनाउन सक्नुप¥यो । निर्वाचन प्रणाली अत्यन्त महँगो किसिमको छ, नेपाली आयस्तरले धान्न नसक्ने छ । स्थानीय, प्रान्तीय वा केन्द्रीय कुनै स्तरको निर्वाचनमा समान्य आर्थिक अवस्था भएको इमानदार कार्यकर्ताले प्रतिस्पर्धा गर्ने हैसियत राख्दैन । वडास्तरको निर्वाचन खर्च करोडौंमा हुनथालेपछि राजनीतिकर्मी कमाउ धन्दामा लाग्नु बाध्यता जस्तो हुँदै गएको छ । आमसर्वसाधारमा विकसित नेता तथा उच्चपदस्थ अधिकारीमाथि दैवी किसिमले विश्वास गर्ने धारणाले गैरकानुनिक कमाउमा लाग्न सजिलो उनीहरूलाई भएको हो । अत्यन्तै कमजोर आर्थिक धरातल भएको राजनीतिककर्मीको रातारात थुप्रिएको अर्बाैंको सम्पत्तिमाथि आँखा चिम्लेर सहस्र स्वीकार गर्ने हाम्रो राष्ट्रिय रोगले यस किसिमका घटनालाई बढावा दिएको हो ।

राजनीतिको व्यावसायीकरण : राजनीति व्यक्तिले अवलम्बन गरेको राजनीतिक वैचारिक मूल्य मान्यता र निष्ठाका लागि राजनीति गरिनुको साटो हाम्रो समाजमा व्यवसाय जस्तो व्यवहार गरिनाले मुलुकमा आर्थिक अपराधले प्रश्रय पाएको हो । एकातिर अत्यन्न महँगो निर्वाचन प्रणाली साथमा नेता तथा उच्चपदस्थ सीमित व्यक्तिको सत्ता, स्रोत तथा शक्तिमाथि अनियन्त्रित पहुँचका कारण एउटा अचम्म किसिमको राजनीतिकर्मी उत्पादन गर्ने संस्थाको विकास भइरहेको छ । यस संस्थालाई सिंहदरबार र बालुवाटारका साथमा कर्पोरेट र नेपालका बारेमा चिन्ता गर्ने वैदेशिक शक्तिले प्रत्यक्ष अप्रत्यक्ष सरसहयोग गर्ने गरेको पाइन्छ ।

वैदेशिक व्यापार एवं आयात-निर्यातको हकमा मुख्य व्यवसायीभन्दा बिचौलियाकै दबदबा देखिन्छ । वैदेशिक रोजगारको हकमा त अझ सरकारले घोषणा गरेको नीतिगत व्यवस्था पनि लागू गर्न सरकार स्वयं असक्षम देखिन्छ । वित्तीय क्षेत्र पनि थोरै सीमित व्यक्ति, समूह एवं घरानाहरूको पकडमा देखिन्छ ।

राजनीति यसरी कमाउधन्दामा परिणत हुँदै जाँदा माथिल्लो तप्कादेखि तल्लो तप्कासम्म भ्रष्टचारले संस्थागत रूपमा मलजलको सौभाग्य प्राप्त गर्न सक्यो । यो गैरकानुनी नेटवर्कको अन्त्य गर्नसक्ने किसिमको नेतृत्व आजको दिनसम्म बजारमा देखिएको छैन । दलविशेषमा एकाध व्यक्तिलाई नलिने हो भने एउटा विशेष वर्गमात्र शक्तिमा हावी हुँदा राजनीति व्यवसायको रूपमा परिणत हुँदै आएको छ । तीन दशककको समयमा भएका अत्यन्त ठूला आर्थिक अनियमिततका घटना सञ्चारमाध्यममा आएका छन् । तर, संलग्नमाथि कुनै किसिमको कानुनी उपचारको काम हुन नसक्दा अन्य भ्रष्टमा मनोबल बढ्दै गएको हो । गरिब समाजमा आजको वैश्य युगमा पैसाको आडमा कालोलाई सेतो र सेतोलाई कालो बनाउन धेरै गाह्रो काम देखिँदैन । अझ यसमाथि राजनीति र माथिल्लो दर्जाको कर्मचारी प्रशासनको साथ सहयोग भएको खण्डमा यस किसिमका क्रियाकलापले प्रश्रय पाउनु स्वाभाविक हो ।

नेताहरूभन्दा बिचौलियाको दबदबा : सबै निकायमा बिचौलियाको दबदबा बढ्दै गएको छ । पैसाको गैरकानुनी प्रयोग, अनियन्त्रित किसिमको सट्टेबाजीले स्थान लिँदा ठूला किसिमका आर्थिक अपराधीकरणले स्थान पाउने गरेका छन् । सम्पूर्ण क्षेत्रमा बिचौलियाविनाको काम फत्ते गर्न सम्भव छैन । निर्माणमा संलग्न व्यवसायीको दादागिरीमाथि राजनीतिको आशिर्वादका कारण सानो काम पनि वर्षौं सम्पन्न हुनसक्ने गरेको छैन । सीमित गन्न सकिने ठूला व्यवसायीले सम्पूर्ण निर्माणको काममा कार्टेलिङ गरेर आधिपत्य जमाउँदा सरकार निरीह बनेको छ । अन्तर्राष्ट्रियस्तरका व्यवसायीको यस्तै किसिमको रोग विकसित भएका धेरै उदारहण भेटिन्छन् ।

वैदेशिक व्यापार एवं आयात निर्यातको हकमा मुख्य व्यवसायीभन्दा बिचौलियाको नै दबबदा देखिन्छ । वैदेशिक रोजगारको हकमा त अझ सरकारले घोषणा गरेको नीतिगत व्यवस्था लागू गर्न सरकार स्वयं असक्षम देखिन्छ । वित्तीय क्षेत्र थोरै सीमित व्यक्ति समूह एवं घरानाको पकडमा देखिन्छ । सरकार तथा नियामक निकाय उनीहरूका अगाडि नतमस्तक भएर प्रस्तुत हुनेगरेको छ । बजारमा साना, मध्यम तथा सीमान्तकृत व्यवसायीका लागि सरल कर्जामा पहुँच कम हुँदै गएको र सीमित ठूला व्यवसायीहरूले कर्जामा अधिपत्य जमाउँदा व्यावसायिक जगत खुम्चिँदै गएको छ ।

अन्त्यमा सरकार जबसम्म आफू दह्रो हुँदैन । कानुनीराजको अवधारणा लागू गर्न समर्थ हुँदैन । तबसम्म यस किसमका घट्नाले स्थान पाइरहेका हुन्छन् । राजनीति नेतृत्व जुनसुकै स्तरको होस्, कानुनी दायरामा ल्याउने साहस क्षमता र सामथ्र्य राख्न सक्नुपर्दछ । राजनीतिमा होमिएको सम्पूर्ण पंक्ति यस विषयमा सचेत हुनुपर्दछ र समाजमा सबै किसिमको उज्यालोले क्रमशः मौका पाउने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?