महिला अरोहीद्वारा राष्ट्रपति पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनुभएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको कार्यक्रममा आफ्नो तस्वीर विश्वकै अग्लो चुचुरो सगरमाथामा पुर्‍याएर सप्राइज दिएको भन्दै उहाँले महिला अरोहीको साहस र आँटको प्रशंसा गर्नुभयो । उहाँले हिमाल अरोहणमा नेपाली महिलाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रको सम्मानका लागि आरोहीहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

हिमाल आरोही महिला याङ्जी शेर्पाले आफूले सप्राइज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुशी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्वीर हस्तान्तरण गर्नुभयो ।

संखुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्वीर सगरमाथाको चुचुरोमा पुर्‍याउने संकल्प लिनुभएको थियो । अन्य साना कुनै पनि चुचुरो नचढी आरोहीले एकै पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । एकै पटक हिमाल अरोहण चुनौतीपूर्ण भए पनि पायोनियर एड्भान्चर ट्रेकमार्फत आरोहण गर्नुभएकी शेर्पाले वातावरण प्रतिकूल र मौसम र हिमपहिरोको सामना गर्दै सफल आरोहण गरेर राष्ट्रपति पौडेलको तस्वीर र नेपालको नयाँ नक्सा एकैपटक सगरमाथाको चुचुरोमा पुर्‍याउन पाउँदा गौरव लागेको बताउनुभयो ।

पायोनियर एडभान्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोहि मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल अरोहण गर्ने महिलाहरूको संख्या उल्लेख्य रहेको र प्रतिकूल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताउनुभयो ।

कार्यक्रममा संखुवासभाका संघीय सांसद दीपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?