चुच्चे नक्सामा चीनको साथ र समर्थनका लागि एमाले महासचिव पोखरेलको आग्रह

Read Time = 3 mins

बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ ।

एमाले महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच सोमबार बेइजिङमा भेटवार्ता भएको हो ।

भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी नयाँ नक्सा (चुच्चे नक्सा) जारी गरेको जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गर्नुभयो ।

'सन् १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरे अनुसार नेपालको नक्सा संसद्बाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं, त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ, हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं, चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौँ' उहाँले भन्नुभयो ।

आफूहरु एक चीनको पक्षमा दृढ रहेको भन्दै महासचिव पोखरेलले नेपालको भूमिबाट चीनविरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्ने प्रष्ट्याउनु भयो । एमालेले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको उहाँले बताउनुभयो ।

'हाम्रो अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको चीन भ्रमण र महामहिम चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटो भन्दा छिटो कार्यान्वयनको पक्षमा छौँ' महासचिव पोखरेलले भन्नुभयो ।

सो अवसरमा सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?