खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छ : मन्त्री लिम्बू

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चित हुनुपर्ने मागसहित बुझाएको ज्ञापनपत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताउनुभएको हो ।

ज्ञापनपत्र बुझिसकेपछि उपस्थित पदाधिकारीलाई सम्बोधन गर्ने क्रममा खेलाडी पलायन सम्बन्धमा सरकार चिन्तित भएको भन्दै खेलाडीलाई स्वदेशमा नै रहने वातावरण मिलाउने प्रबन्ध गर्ने विषयमा योजना ल्याउन लागेको समेत बताउनुभयो । नयाँ आर्थिक बजेट आएसँगै युवा, खेलाडी र खेलसँग जोडिनेका लागि छिट्टै योजना सार्वजनिक गर्ने समेत जानकारी दिनुभयो ।

खेलसँग जोडिएका खेलाडीहरूलाई खेलपछिको बाँकी जीवन बिताउनका लागि खेलका अलावा व्यावसायिक हुने गरी समय प्रबन्ध गर्न पनि मन्त्री लिम्बूले आग्रह गर्नुभयो । सबै खेलाडीको आर्थिक अवस्था र भौगोलिक अवस्था फरक-फरक भएकाले विकल्पको समय मिलाउन मन्त्री लिम्बूले आग्रह गर्नुभयो ।

यस्तै, विभिन्न प्रदेशमा भौतिक पूर्वाधार निर्माणका लागि पनि सरकारले कार्यक्रमहरू अगाडि ल्याएको र पहिलो चरणमा प्राथमिकतामा रहेका पूर्वाधारलाई जोड दिने मन्त्री लिम्बूले बताउनुभयो । खेलाडीको वृत्ति विकास र प्रशिक्षणको व्यवस्थापनका लागि पनि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय भइरहेको र नयाँ आर्थिक वर्षसँगै कार्यान्वयन हुने प्रस्ट पार्नुभयो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले भौतिक पूर्वाधार निर्माण, खेलाडी पलायन रोक्न, धेरैभन्दा धेरै खेलका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्थापन गर्न, खेलकुदभित्रको अनियमितता रोक्न, राष्ट्रिय टिम तयारीलाई वर्षभरि निरन्तरता दिन लगायतका विभिन्न १४ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो ।

१० क्लबले लिग सकिएपछि मात्र खेलाडी रिलिज गर्ने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारी खर्च, म्याच मनी, ‘म्यान अफ द म्याच’ ले पाउने रकम उपलब्ध नगराउँदासम्म असन्तुष्ट १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई रिलिज गर्ने जनाएका छन् ।

बिहीबार बसेको १० क्लबको बैठकले एन्फाबाट पाउनुपर्ने आर्थिक सहयोग नपाएको भन्दै आफ्ना खेलाडीलाई राष्ट्रिय क्याम्पका लागि रिलिज नगर्ने जनाएका हुन् । यस्तै, क्लबहरूले जेठ १९ गतेपछिका लिग खेलमा विरोध स्वरूप टोलीका खेलाडी तथा पदाधिकारीहरू कालोपट्टी लगाएर मैदानमा उपस्थित हुने निर्णय पनि गरेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

बैठकमा तीन विभागीय र जावलाखेल युथ क्लबबाहेकका अन्य क्लबका पदाधिकारीहरूको उपस्थिति थियो भने लिखितरूपमा सहमति जुटाएका हुन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग जेठ २७ गते सकिँदै छ । त्यसलगत्तै एन्फाले खेलाडीलाई भारतमा आयोजना हुने साफ च्याम्पियनसिपको क्याम्प राख्ने निर्णय गरेको छ । शीर्ष लिग जारी रहेकै अवस्थामा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले साफ च्याम्पियनसिपका लागि मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभएको थियो ।

साफ च्याम्पियनसिपको १४औँ संस्करण असार ६ देखि १८ गतेसम्म बेंग्लोरमा हुँदैछ । साफअगाडि नेपालले फिलिपिन्ससँग मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ । साफमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउँदैछन् । फिफाको प्रतिबन्धका कारण श्रीलंकाले यस संस्करण खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?