घरेलु महासंघद्वारा बजेटको स्वागत

Read Time = 5 mins

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अर्थतन्त्र गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने उद्देश्य लिएको भन्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आएको बजेटको स्वागत गरेको छ । बजेटले सबै क्षेत्रलाई समेटेको महासंघको ठहर छ । मुलुकमा आर्थिक मन्दीको स्थिति र तरलता अभावको संकटमा रहेको वर्तमान अवस्थामा अर्थतन्त्र गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने उद्देश्य लिएको बजेटमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास वित्तीय क्षेत्र सुधार गर्ने कार्यलाई प्राथमिकता दिइएको महासंघको भनाइ छ ।

बजेटका कतिपय व्यवस्थाको कार्यान्वयनको समय सीमासमेत निर्धारण गर्दै खर्च कटौतीका लागि विदेश भ्रमण, अनावश्यक सरकारी भवन निर्माणमा गरिएको बन्देजलगायत राम्रा पक्ष भए पनि कार्यान्वयन पक्ष महत्वपूर्ण रहने महासंघले जनाएको छ । स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी कृषिको व्यावसायीकरण, लघु तथा साना उद्योग प्रवद्र्धन र सूचना प्रविधि तथा पर्यटन क्षेत्रको विकासमा केन्द्रित गर्ने बजेटको सकारात्मक पक्ष भएको महासंघले जनाएको छ ।

प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत् स्वदेशी कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना र मझौला उद्योगलाई प्रशोधन र प्रविधि स्तरोन्नतिका साथै भण्डारण र बजारीकरणमा सहयोग गर्ने कुरा पनि स्वागतयोग्य रहेको बताइएको छ । सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने गरी छुट्टै कोष स्थापना गर्ने तथा नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि स्टार्टअप इकोसिष्टम विकास गर्ने बजेटको सकारात्मक पक्ष भएको महासंघको भनाइ छ । त्यस्तै, नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था र विद्युतीय प्रणालीमार्फत् एकल बिन्दु सेवा केन्द्रबाट उद्योग दर्ता, लगानी स्वीकृतलगायतका सेवा प्रदान गर्ने कुरा पनि स्वागतयोग्य रहेका महासंघले उल्लेख गरेको छ ।

साथै एक सय १३ वटा स्थानीय तहमा निर्माणाधीन औद्योगिक ग्रामको कामलाई तीव्रता दिई काभ्रेको पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्राम नामाकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहन, स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण ऋण र बजार प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरी परम्परागतरूपमा सञ्चालित उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न मेसिनरी प्रतिस्थापन, प्रविधि सुधार तथा पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्थाको पनि महासंघले स्वागत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?