चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दुई विधाको मनोनयन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 6 mins

धनगढी । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरूलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ ।

असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोटर््स अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्नुभएको छ । शाहीले ९औँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताउनुभएको थियो । फेन्सिङमा सुदूरपश्चिमलाई उहाँले पहिलोपटक स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले नै पहिलोपटक फेन्सिङ सिकाएका खेलाडीहरुले पहिलो सहभागितामा सुदूरपश्चिमलाई दुई कांस्य पदकसमेत दिलाउनुभएको थियो ।

आनन्दले पनि ९औँ राष्ट्रिय खेलकुदमा कराँतेतर्फ ५० किलो तौल समूहमा स्वर्ण जित्नुभएको थियो । सुदूरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उहाँ एक्ला खेलाडी हुनुहुन्छ । उहाँले प्रशिक्षण दिएका दुईजना खेलाडीले राष्ट्रपति रनिङ शिल्डमा पनि दुई कांस्य पदक जित्नुभएको थियो । कामीले भारतमा भएको इण्डो नेपाल च्याम्पियनसिपमा पनि स्वर्ण जित्नुभएको थियो ।

जियारत उमेर समूहमा नेपाली पुरुष टिममा सहभागिता जनाउँदै २० वर्षमुनिको साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका सदस्य हुनुहुन्छ । उहाँले खुमलटार युवा क्लबलाई ए डिभिजनमा पुर्‍याउनका लागि पनि उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । मनाङ मस्र्याङ्दी क्लबबाट व्यावसायिक ‘ए’ डिभिजन लिग खेलिरहनुभएका उहाँ गत वर्ष भएको यस्तै तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षक हुनुभएको थियो । उहाँले एफसी यू-२० छनोटमा नेपाली टिमको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको थियो ।

सुदूरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा पर्नुभएको थियो । मनिषाले ९औँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समूहमा स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पार्नुभएको थियो । कविताले सुदूरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उहाँ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्नुभएको थियो । यस्तै, मेयर कप र नेपाली महिला क्रिकेट टिमबाट सहभागिता जनाउँदै खेल खेल्नुभएको थियो ।

‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्ररूपमा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?