नेपाल छुवाछुतमुक्त घोषणा भएको १७ वर्ष पूरा

राष्ट्रपति भन्नुहुन्छ- छुवाछूत मानवीय गरिमाविरुद्धको अपराध हो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।

यसैको सम्झनामा २०६८ सालदेखि जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाइन्छ।

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक-पटक सार्वजनिक घोषणा भएका छन् । तर समाजमा रहेको सोच र चेतनास्तरका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलंलको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको अपराध रहेको बताउनुभएको छ । उहाँले यस प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको औँल्याउनुभयो ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना दिँदै उहाँले यस प्रथाको विरुद्धमा सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन संघ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, सुरक्षा निकायलगायत सामाजिक संघसंस्थालाई आह्वान गर्नुभयो ।

उहाँले यस दिवसबाट आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि भई सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिल्नुका साथै आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका उत्पीडनको क्रमशः अन्त्य हुँदै जाने आधार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी यस दिवसबाट सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना वृद्धि गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउने उहाँको विश्वास छ । संविधानले सबै प्रकारका विभेद र छुवाछूतको अन्त्य गरी समानुपातिक र समावेशी सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्दै उहाँले विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारण अझै पनि जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्य हुन सकिरहेको छैन भन्नुभएको छ ।

विसं २०६३ मा मुलुकलाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?