गर्मीका कारण बिरामी हुनेको संख्या बढ्यो

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । पहाडी जिल्ला इलाममा गर्मीका कारण बिरामीको संख्यामा बृद्धि भएको छ । बिरामी बढेपछि उपचारमा समेत समस्या भएको छ ।

पर्याप्त चिकित्सक नभएका कारण सदरमुकाममा रहेको इलाम अस्पतालममा उपचारमा समस्या भएको हो । एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा बृद्धि भएको छ ।

केही दिन यता चर्को घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा बृद्धि भएको हो । हाल इलाम अस्पतालमा दैनिक करिव दुई सयको संख्यामा बिरामी आइरहेको बताइएको छ । इलाम अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नभएका कारण पनि उपचारमा समस्या भएको इलाम अस्पताल प्रमुख डा. प्रभु शाहले बताउनुभयो ।

जेष्ठ महिनामा एकाएक गर्मी बढेका कारण पनि बिरामीको संख्यामा बृद्धि भएको हो । पानी पर्ने सिजनमा पानी नपरी घाम लाग्दा पहाडी जिल्लाहरुमा समेत गर्मी बढेको छ । बिरामीको चाप बढेका कारण उपचारमा समेत समस्या भएको इलाम अस्पताका स्वाथ्यकर्मी टिका प्रसाद लुइटेलको भनाई छ ।

इलाम अस्पताल लगायत जिल्ला भरकै निजी मेडिकल तथा अस्पतालहरुमा बिरामीको संख्यामा बृद्धि भएको छ । बिरामीको संख्या बढेसँगै बेडहरु भरिएका छन् । बिशेष गरि बालबालिका र बृद्धबृद्धालाई वढि समस्या हुने गरेको छ । प्रसस्त मात्रामा पानी पिउनु पर्ने र मास्कको प्रयोग र भिडभाडबाट जोगिन समेत चिकित्सकहरुले सुझाव दिएका छन् ।

पर्याप्त छैनन् डाक्टर

विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिनआएका बिरामी सघन उपचारको लागि जिल्ला बाहिर जाने क्रम रोकिएको छैन । सरकारले ५० श्ययाको अस्पतालको स्वीकृति दिए पनि १४ जना डाक्टरको दरबन्दी भएको ठाँउमा सिमित केहीले मात्र काम गरिरहनुपरेको कारण अस्पताल अहिले रेफर सेन्टर जस्तो मात्र रहेको छ ।

अस्पतालमा डाक्टर र कर्मचारी गरेर ५९ जनाको स्थायी दरबन्दी भएपनि हाल सीमित कर्मचारीले सेवा दिइरहेका छन् । इलाम अस्पतालमा मानव संशोधनको हिसाबले कुरा गर्ने हो भने दुईदशक पहिले भन्दा केही पनि फरक छैन ।

इलामसहित पाँचथर, ताप्लेजुङलगायत जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा सहज बनाउन ठूलो भवन र शड्ढया थप गरे पनि सामान्य बिरामी हुँदा पनि अन्यत्र जानुपर्ने बाध्यता छ  । इलाम अस्पतालको अवस्थाले इलामे जनताकै उपहास गरिरहेको छ भने ठूला नेताहरूको गृहजिल्लामा रहेको अस्पतालको दुरावस्थाले इलामेलीलाई नै लज्जित बनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?