अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा गराउने विभिन्न व्यक्तिको मुद्दामा विशेष अदालत काठमाडौंको फैसला चित्त नबुझी मंगलवार पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये सरकारी जग्गा व्यक्ति विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा आयोग पुनरावेदनका लागि सर्वाेच्च जाने निर्णयमा पुगेको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा गराएर भ्रष्टाचार गरेको मुद्दामा विष्णुकुमार राई, शम्भुप्रसाद शर्मा र अरुणकुमार रञ्जीतकारलाई विशेष अदालतले सफाई दिएको थियो ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) तथा दफा ८.१ को खण्ड (ज) बमोजिम चार लाख १२ हजार ६३७ बिगो कायमगरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेका थियो ।

जिसस प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समितिको कार्यालयका प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जडिबुटीसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा ८० लाख ५२ हजार बिगो कायम गरी जिल्ला समन्वय समितिको कार्यालय सुनसरीका तत्कालीन प्रमुख गोपालराज भण्डारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

जिसस प्रमुख भण्डारीसहित तत्कालीन जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराई र ठेक्का लिने आरके कन्स्ट्रक्सन इटहरीका सञ्चालक रामप्रसाद श्रेष्ठ र सो कम्पनीका प्रतिनिधि कृष्णबहादुर कटुवालविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७५÷७६ को ठेक्कामा अनियमितता भएको हो ।

पचास हजार घुससहित वडाध्यक्ष पक्राउ
यस्तै, सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका- ५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?