सद्‌भाव र सुवासलाई तीन स्ट्रोकको अग्रता

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगितामा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन बुधबार दुई एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङ संयुक्तरूपमा शीर्षस्थानमा रहनुभएको छ ।

गोकर्ण गल्फ क्लबमा सद्‌भाव र सुवासले ३६ होलको समाप्तिमा समग्रमा ९-अण्डर १३५ को स्कोरमा निरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पार्नुभएको छ । गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका खेलाडी सद्भावले ७-अण्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिनुभयो । सुवासले भने इभन-पार ७२ मा दोस्रो दिनको खेल सक्दा शीर्षस्थान बाँड्नुभयो ।

दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा निरज तामाङले ८-अण्डर ६४ को स्कोर बनाउनुभयो । यो स्कोरमा निरज र डिफेण्डिङ च्याम्पियन शुक्रबहादुर राईले संयुक्तरूपमा तेस्रो स्थान बाँड्नुभयो । शुक्रले ५-अण्डर ६७ मा दोस्रो दिनको खेल सक्नुभयो । दुवैले समग्रमा ६-अण्डर १ सय ३८ स्कोर गर्नुभयो ।

४-अण्डर १४० सहित भुवन नगरकोटी र तोरणविक्रम शाही संयुक्तरूपमा पाँचौँ स्थानमा रहनुभएको छ । भुवनले ४-अण्डर ६८ र तोरणले इभन-पार ७२ स्कोर गर्नुभयो ।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरूपमा सातौँ स्थानमा रहनुभएको छ । दुवैले इभन-पार ७२ को कार्ड बनाउनुभयो । समग्रमा २–अण्डर १ सय ४२ सहित सूर्यप्रसाद शर्मा नवौँ स्थानमा हुनुहुन्छ । उहाँले २-अण्डर ७० स्कोर गर्नुभयो । इभन-पार ७२ सहित समग्रमा १-अण्डर १ सय ४३ सहित दिनेश प्रजापती दशौँ स्थानमा रहनुभयो ।

३६ होलको समाप्तिमा ७-ओभर १५१ स्कोर गर्ने २३ प्रोफेसनल गल्फर र ६ एमेच्योर गरी २९ खेलाडीले कट बनाउनुभयो । प्रोफेसनलतर्फ रवि खड्का, राजेन्द्र थापा मगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवनकुमार रोक्का, धनबहादुर थापा, दलबहादुर गुरुङ, रामे मगर, पूर्णप्रसाद शर्मा, भुबहादुर गुरुङ, टासी घले, दीपक मगर, टंकबहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले अन्तिम ३६ होलका लागि स्थान सुरक्षित गर्नुभयो ।

एमेच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा रहनुभएको छ । उहाँले २-अण्डर ७० सहित समग्रमा १४४ स्कोर गर्नुभएको छ । यसैगरी वाङ्चेन डोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङसहित ६ एमेच्योर खेलाडीले पनि कट बनाउनुभयो ।

युवा एमेच्योर सद्भावले दिनको सुरूवात बर्डीबाट गर्नुभयो । यसपछि तेस्रोदेखि छैटौँ होलसम्म लगातार चार होल र नवौँ होलमा एक–एक सट बचाउनुभयो । सातौँ होलको बोगीको फ्रन्ट नाइन ५–अण्डर ३१ मा पूरा गर्नुभयो । त्यसपछि १३औँ र १५औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अण्डर ३४ मा सक्नुभयो ।

पहिलो दिनका लिडर तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवासले फ्रन्ट नाइन १-अण्डर ३५ मा सक्ने क्रममा पहिलो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गर्नुभयो । छैटौँ र आठौँ होलमा एक–एक सट खेर फाल्नुभयो । १२औँ होलमा बर्डी प्रहार गरे पनि १४औँ र १८औँ होलमा बोगी खेप्नुभयो । ब्याक नाइन १-ओभर ३७ मा सक्नुभयो ।

धरानका प्रोफेसनल गल्फर निरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गर्नुभयो । उहाँले तेस्रोदेखि नवौँ होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गर्नुभयो । फ्रन्ट नाइन ७-अण्डर २९ मा पूरा गर्नुभयो । ११औँ, १२औँ र १५औँ होलमा एक-एक सट बचाउनुभयो भने १४औँ र १६औँ होलमा बोगी प्रहार गर्नुभयो ।

यसैगरी डिफेण्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४-अण्डर ३२ मा सक्नुभयो । पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौँ होलमा एक-एक सट बचाउनुभयो भने आठौँ होलमा बोगी खेप्नुभयो । ब्याक नाइन १–अण्डर ३५ मा सक्नुभयो । १२औँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गर्नुभयो भने ११औँ र १३औँ होलमा बोगी खेप्नुभयो ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ । कुल १५ लाख २० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले दुई लाख ७० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः एक लाख ७० हजार, एक लाख २० हजार र एक लाख प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन् ।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत आठमध्ये सातवटा प्रतियोगिता सकिँदा पाँच लाख १३ हजार ५०० रुपैयाँका साथ भुवन नगरकोटी यो सिजनको सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्षस्थानमा हुनुहुन्छ । उहाँभन्दा १९ हजार ५०० रुपैयाँ कम चार लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहनुभएको छ । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानोसमेत गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?