ओलीको २ घण्टे लामो भाषण संसदीय इतिहासमा कीर्तिमान : राजु थापा

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति तथा सङ्घीय सांसद राजु थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण पट्यार लाग्लो भएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको २०८०/८१ को बजेटमाथिको छलफलमा आज बोल्दै उहाँले एमाले अध्यक्ष ओलीले संसदमा २ घण्टा पट्यारलाग्दो भाषण गरेर नेपालको संसदीय इतिहासमा कीर्तिमानी राखेको तथा विश्वकै संसदीय अभ्यासमा पनि कीर्तिमानी राख्नसक्ने बताउनुभएको छ ।

बजेटमाथिको छलफलका क्रममा थापाले बजेट यथार्थ धरातलमा आएक‍ो, बजेट सकारात्मक भएको, बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएको, बजेटले युवाहरूलाई समेटेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो 'साधारण चालु खर्च ६५ प्रतिशत र विकास खर्च १७ प्रतिशत हुनुले हाम्रो यथार्थ धरातल बताएको छ ।'

उहाँले बजेटको कार्यान्वयन सधैं चुनौतीपूर्ण भएको बताउँदै यसमा राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, राजनैतिक दलका नेता लगायत सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सांसद थापाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको समर्थन गर्दै भन्नुभयो, 'यो ५ करोड सांसदले कुनै घर बनाउन लगेको होइन । जनताको तटबन्ध, बाटो, स्वास्थ्य, कृषि उत्पादनसँग जोडिएका समस्या समाधानका लागि यो बजेट हो । जनताको भावनाहरूलाई मल्हमपट्टी लगाउने प्रयास गरिएको हो । यसले बजेटको दुरुयोग हुँदैन । नेपाल सरकारको खरिद ऐनमा टेकेर काम हुनेछ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम राम्रो छ ।'

स्थानीय तहका प्रमुखले सांसदलाई वडाध्यक्षको संज्ञा दिएको भन्दै सांसद आम नागरिकको वडाध्यक्ष भएकाले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको आलोचना गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?