म्याग्दी । समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजीकिराको प्रकोप देखिए पछि उत्पादन घट्ने चिन्ताले खिन्न बनेका छन् ।
विगतका वर्षहरूको तुलनामा यसवर्ष म्याग्दी जिल्लामा मकैको उत्पादन घट्ने चिन्ताले किसानहरु निराश बनेकाहुन् ।
जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानहरूले लगाएको मकै बालीमा रोग र फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोट समेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कडेंलले बताउनुभयो ।
जिल्लाको लेकदेखि बेंसीसम्मकाअधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक ३७ हजार ८ सय १७ टन मकै उत्पादन हुन्छ । यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा र जुम्लामा जाने गर्छ ।
“म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किराको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशंका छ”,कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । उहाँले खाना बाहेक बीउ मकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको जानकारी दिनुभयो ।
जिल्लामा मकै खेतीकुल ६० प्रतिशत खेती योग्य भू-भागमा गरिएको कृषि ज्ञान केन्द्रको एक तथ्यांकले देखाएको छ । म्याग्दीको खेतीयोग्य भू-भागमा मकै खेतीप्रति हेक्टरमा ३ हजार २ सय ८० केजीका दरले उत्पादन हुने गर्दछ ।
जिल्लाको १६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, सितला र उपल्लो क्षेत्रमा अरुण १, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेतीगरिन्छ । पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ । त्यसैगरी उत्पादन राम्रो भएपनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो १ मकै कृषकले नरुचाएको कृषि प्राविधिकहरुको भनाइ रहेको छ ।
जिल्लामा उत्पादन भएको कुल मकै खेतीको ३७हजार ८ सय, १७ मेट्रिकटन मध्ये २२ हजार ७ सय ८४ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ ।
कृषकहरूले समयमै मल र बीउप्राप्तगर्न नसक्नु,समयमै वर्षा नहुनु र मकै हुर्कदै जाँदा रोग किराको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकहरुको रहेको छ । म्याग्दीमा मकै माघ-फागुनमा लगाई असार महिनादेखि भाद्र महिनासम्म थन्काउने गरिन्छ । हिउँदे बाली असोज र कार्तिक महिनामा लगाई फागुन र चैत्र महिनामा थन्क्याउने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच