प्रतिवादीको गुनासो- टेकुमा बस्न गाह्रो भयो, दरबारमार्गकै हिरासतमा राखियोस्

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । नक्कली शरणार्थी प्रकरणका प्रतिवादीले हिरासतमा बस्न समस्या भएको गुनासो गरेका छन् । जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहसपछि उनीहरूले हिरासतमा बस्न समस्या भएको गुनासो गरेका हुन् । उनीहरूले हिरासतमा अमानवीय व्यवहार हुने गरेको गुनासो जिल्ला न्यायाधीशसमक्ष राखेका छन् । दरबारमार्गबाट टेकुमा सारिएका उनीहरूले पुनः दरबारमार्ग वृत्तमै राखिनुपर्नेसमेत माग गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक भइरहेको छ । बहसमा सहभागी हुन पक्राउ परेका १८ प्रतिवादी दैनिक अदालतमा उपस्थित हुने गरेका छन् ।

आइतबारको बहस सकिएपछि शरणार्थी नेता टेकनाथ रिजाल र शमशेर मियाँलगायतले न्यायाधीश न्यौपानेसामु टेकुमा बस्न गाह्रो भएको गुनासो गरेका हुन् । हज कमिटीका अध्यक्षसमेत रहनुभएका मियाँले हिरासतमा बस्न समस्या भएको गुनासो गर्नुभयोे । उहाँले हिरासत कक्षमा नमाजसम्म पढ्न नपाएको बताउनुभयो । प्रहरीले आफ्नो कुराहरू नसुन्ने गरेकोसम्म उहाँको गुनासो छ । ‘हामीलाई दरबारमार्ग वृत्तबाट टेकु सारिएपछि निकै गाह्रो भएको छ । मैले दैनिक पाँचपटक नमाज पढ्ने गरेको थिएँ, तर टेकुमा निकै समस्या परेको छ,’ न्यायाधीशसमक्ष उहाँले गुनासो गर्दै भन्नुभयो, ‘त्यहाँका प्रहरी निकै खराब रहेछन् । कसैले कुरा सुन्दैनन् । हामीलाई दरबारमार्गकै हिरासतमा राखियोस् ।’

त्यस्तै, शरणार्थी नेता रिजालले पनि टेकुको हिरासतमा श्वास फेर्न पनि समस्या हुने गरेको गुनासो गर्नुभयो । टेकुमा बस्न समस्या हुँदा आफू बिरामी परेको उहाँको गुनासो थियो । ‘टेकुमा खप्टिएर बस्नुपर्छ । श्वास फेर्न पनि गाह्रो भयो,’ उहाँले भन्नुभयो ।
प्रतिवादीहरूको गुनासो सुनेपछि न्यायाधीश न्यौपानेले समस्या समाधान गर्न प्रहरीलाई निर्देशन दिनुभएको थियो । उहाँले गुनासो नआउने गरी प्रतिवादीलाई हिरासतमा राख्न निर्देशन दिनुभएको हो ।

उनीहरूलाई शनिबार मात्रै प्रहरीले दरबारमार्गको हिरासतबाट काठमाडौं प्रहरी परिसर टेकु सारेको थियो । मियाँसहित शरणार्थी नेता रिजाल, नरेन्द्र केसी र सन्देश शर्मालाई परिसरको हिरासतमा लगिएको थियो ।

प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार छन् ।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आरोपीहरूलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे आदेश गर्नेछ । जिल्ला अदालतका न्यायाधीश न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै आउँदो बुधबार मध्याह्नअघि बहस टुंग्याउन आग्रह गर्नुभएको छ । सुुरुमा सरकारी वकिललाई तीन दिन बहसका लागि समय दिइएको थियो । यस्तै, प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय दिइएको छ ।

पूर्वप्रशासक भन्छन्- गृहको नेतृत्वमा खराब व्यक्ति पुग्नुको परिणाम
पूर्वप्रशासक र पूर्वसुरक्षा अधिकारीले गृह प्रशासनकै उच्च अधिकारी नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित हुनु गम्भीर विषय भएको बताएका छन् । आइतबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले ‘राष्ट्रिय सुरक्षासम्बन्धी नीति, कानुन, संस्थागत संरचना, राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका सवाल, समस्या, चुनौती र भावी योजना’बारेको छलफलमा भाग लिएका उनीहरूले गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वमा खराब व्यक्तिहरू पुगेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरणका लागि वातावरण बनेको बताएका हुन् ।

छलफलमा सुरक्षा विज्ञको रूपमा पूर्वसचिवत्रय खेमराज रेग्मी, वामनप्रसाद न्यौपाने र आत्मराम पाण्डे उपस्थित हुनुहुन्थ्यो ।
‘गृहमन्त्री र गृहसचिव नै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न हुनु अभिभावकले आफ्नै सन्तान बेच्नुसरह हो,’ पूर्वसचिव रेग्मीले भन्नुभयो । ‘नेपालको सुरक्षा नीतिबारे पासपोर्ट लिएर विदेश जाँदा महसुस गर्न सकिन्छ,’ अर्का पूर्व सचिव न्यौपाने भन्नुभयो, ‘नेपालको पासपोर्ट घोरिएर नियाल्छ । यसको कारण पनि नक्कली भुटानी शरणार्थी प्रकरण नै हो । विदेश जानु विदेशीको अपमान सहनुजस्तो हुन थालेको पूर्वएआइजी राजेन्द्रबहादुर सिंहले बताउनुभयो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि सुधार्न निकै मेहनत गर्नुपर्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?