जोकोभिचले जिते २३ औँ ग्राण्डस्लामको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले कीर्तिमानी २३औँ ग्राण्डस्लाम उपाधि जित्नुभएको छ । आइतबार राती फ्रेन्च ओपनको उपाधि जित्दै जोकोभिचले कीर्तिमानी २३औँ ग्राण्डस्लाम उपाधि जित्नुभएको हो ।

जोकोभिचले नर्वेका क्यास्पर रुडलाई तीन-शून्यको सोझो सेटमा हराएर तेस्रोपटक फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमान बनाउनुभएको हो ।
जोकोभिचले रुडमाथि ७-६ (७-१), ६-३ र ७-५ को सोझो सेटमा जित निकाल्नुभयो । पहिलो सेटमा दबाब झेले पनि जोकोभिच विजयी हुनुभयो । दोस्रो सेटमा सहजै जित निकालेको जोकोभिचले तेस्रो सेटमा दबाब झेले पनि त्यसलाई पार गर्न सफल हुनुभयो ।

जोकोभिचले सर्वाधिक २२ ग्राण्डस्लाम उपाधि जित्ने स्पेनिस राफयल नाडाललाई पछि पार्दै कीर्तिमान बनाउनुभएको हो । ३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि जित्दै नाडालसँगको कीर्तिमान बराबरी गर्नुभएको थियो ।

यस्तै, जोकोभिच चारवटै ग्राण्डस्लाम कम्तीमा तीनपटक जित्ने पहिलो खेलाडीसमेत बन्नुभएको छ । उहाँले अष्ट्रेलियन ओपन १० पटक, विम्बल्डन ७ पटक तथा फ्रेन्च ओपन र युएस ओपन समान तीनपटक जित्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?