शब्दमाथि पहिचानको राजनीति

Read Time = 10 mins

✍️ शम्भु निरौला

प्रदेश नं एक-कोशी प्रदेश-
मलाई चाहिँ ‘कोशी’ शब्दै मन परेको छैन । आफ्नो जस्तै लाग्दैन । अपनत्व बोध नै भएन । जुनसुकै कोणबाट हेर्दा पनि सार्थक लाग्दैन । होइन, कोशी भन्ने जिनिस कहाँ छ ? यो ढुंगो हो ? यो ठूलो रूख हो ? यो हात्ती हो ? यो पोखरी हो ? यो सललल बग्ने पानी हो ? कि यो नेपालीको चिनारी हो ? विदेशीले ‘कोशी’ सुन्दा नेपाल सम्झिन्छन् त ? अहँ मलाई थाहा छैन । अँ, भारतीयले चाहिँ कोशी सुन्दा ‘हमारा नदी’ भन्छन् ।

‘कोशी भनेको सललल बग्ने पानीको हो । नदी हो । भिमनगरका पुलमुनि बगेको छ नि त्यही हो कोशी ।’ तपाईँको उत्तर यही आउँछ, होइन ? महाशय, त्यो त सप्तकोशी हो । कोशी होइन । सातवटा नदीहरू मिलेर बनेको सप्तकोशी । सप्तकोशीको सहायकमध्ये मेरो दूधकोशी पनि हो । मैले (हामीले) थुलुङदूधकोशी गाउँपालिका भनेर एउटा स्थानीय तहको नामकरण पनि गरेको छु ।

मैलेमाथि नै भनेँ नि मलाई कोशी शब्द मन परेकै छैन । कोशी कस्तो शब्द हो ? तत्सम शब्द हो वा तद्भव ? कि आगन्तुक ? विद्वानहरूले भनिदिनुपर्‍यो । मैले थाहा पाएको चाहिँ कौशिकी शब्द चाहिँ तत्सम हो ! कौशिकीबाट ‘कोशी’ कसरी हुन्छ ? तद्भव र आगन्तुक शब्द जतिमा तालव्य ‘श’ प्रयोग गर्नु हुँदैन भनेर नेपाली भाषाका वैयाकरणहरूले प्रष्ट भनेका छन् । हाम्रा विद्यालयीय पाठ्यपुस्तकमा पनि यही कुरा छ । नाउँ राख्नेहरूले यति पनि विचार गर्न नसक्नु लाजमर्दो विषय हो । यदि कोशी तत्सम शब्द हो भने संस्कृत शब्दकोशमा मैले भेटेको छुइनँ । यदि तपाईँले भेट्नुभएको छ भने मलाई भनिदिनुहोला ! तद्भव हो भन्दा तालव्य ‘श’ लेखिँदैन । त्यसैले के आधारमा लेखियो त ‘कोशी’ ? कोशी प्रदेश नै नाउँ राख्नु नै थियो भने सप्तकोशी किन राखिएन ? दूधकोशी किन लेखिएन ? सुनकोशी किन अटाइएन ? हुँदै नभएको कोशी किन लेखियो ? मलाई मन परेको छैन । विकास र समृद्धिमा जुटने बेलामा विवादास्पद नाउँ दिएर किन द्वन्द्व निम्त्याइँदै छ ? नेपाली र नेपालको पहिचान झल्काउने नाउँ किन जुराइएन ?

नेकपा माओवादी केन्द्र जो पहिचानको प्रवर्तक थियो त्यही निष्क्रिय बन्न पुग्यो । उसले पहिचानको मुद्दालाई गौण मानिसकेको छ । अब सशक्तरूपले बोल्न सक्दैन । भदौका घामले ओइलाएको तोरी सागजस्तै भइसकेको छ नेकपा माओवादी पनि । त्यसैले पहिचानको मुद्दा ओझेलमा पर्दै गएको छ ।

हाम्रो देशमा पचासको दशकदेखि पहिचानको कुरो उठ्यो । सशस्त्र युद्ध भयो । गणतन्त्र आयो । सशस्त्र युद्ध हुने धेरै आधारहरू थिए जसमध्ये पहिचान पनि थियो । समृद्ध, समुन्नत, स्वाभिमानी मुलुक बनाउने आसामा कैयौं युवाहरू युद्धमा होमिए । मुलुक संघीय ढाँचामा गयो । प्रदेशहरू बने तर, पहिचान नारामा मात्रै सीमित भयो । नेकपा माओवादी केन्द्र जो पहिचानको प्रवर्तक थियो त्यही निष्क्रिय बन्न पुग्यो । उसले पहिचानको मुद्दालाई गौण मानिसकेको छ । अब सशक्तरूपले बोल्न सक्दैन । भदौका घामले ओइलाएको तोरी सागजस्तै भइसकेको छ नेकपा माओवादी पनि । त्यसैले पहिचानको मुद्दा ओझेलमा पर्दै गएको छ । यसको ज्वलन्त उदाहरण हो प्रदेश नं एकको नामकरण ! कोशी प्रदेश नाउँ रहनुमा माओवादी केन्द्रको भूमिका सशक्त हुन नसक्नु पनि हो भन्ने कुरो बुझ्न आवश्यक छ ।

ठेस लागेपछि पछाडि फर्केर ढुंगो उखेलेर फाल्नुपर्छ । हामीलाई ठेस लागिसकेको छ । एक जनाले शाहदात प्राप्त गरिसकेका छन् । कैयौं पहिचान पक्षधर घाइते छन् । सुरक्षाकर्मी घाइते । ठूलो जनमानसमा असन्तुष्टि फैलिँदो छ । यो राम्रो लक्षण होइन ! यसले हाम्रो सामाजिक सम्बन्ध, मित्रता, सद्भाव तथा सहिष्णुतामाथि आँच नआउला भन्न सकिँदैन । विकास समृद्धिका अग्रगामी बाटाहरू ठप्प हुन सक्छन् । अतः हाम्रा माननीयज्यूहरूले बेलैमा बुद्धि पुर्‍याउन आवश्यक छ । पछिल्लाकालका समाचार सुन्दा केही आसलाग्दा विषयका कुराहरू आएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले प्रदेशको नामकरणमा पुनर्विचार गर्नु राम्रो पक्ष हो । सुखद् कुरा हो । त्यस्तै मूख्यमन्त्री माननीय हिक्मत कार्कीले असन्तुष्ट समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ, यो हुनै पथ्र्याे, भयो । त्यसैगरी पछिल्लो समाचार अनुसार वार्ता समिति पनि गठन भएको छ । यसलाई स्वागतयोग्य ठान्नुपर्छ । कालो बादलका बीच देखिएको चाँदीको घेरा मान्नुपर्छ ।

साविक प्रदेश नं एकको नाउँ के राख्दा उपयुक्त हुन्छ भन्ने कुरा पहिचान पनि त हो । भूमि (पूर्वी नेपाल) किरात संस्कृति, धर्म, सभ्यता परम्पराबाट अभिसिञ्चित भएको छ । यहाँका गाउँका नाम, खोलाका नाम, पहराका नाम, भञ्ज्याङ् चौतारीका नाम, डाँडापाखाका नाम किराती भाषाका छन् । ती ठाउँहरूको व्युत्पत्ति गर्दै जाने हो भने सबै किराती भाषामा गएर टुंगिन्छन् । त्यसैले हामीले यो सत्यलाई बुझ्नुपर्छ । किरात शब्दबाट तर्सनु पर्ने कुरै छैन । हाम्रो साझा चिनारी हो भनेर बुझ्नुपर्छ । ऐतिहासिक तथ्यलाई नबुझी ‘जातीयकरण गर्न पाइँदैन’ भन्ने एकथरी जोजो हुनुहुन्छ उहाँहरूले नेपालको प्राचीन इतिहास पढ्न अनुरो गर्दछु । । पुराना-पुराना लिखत, तमसुक, गजपत्र, धर्मपत्रहरू खोजेर पढ्नुहोस् । त्यहाँ यी सब कुरा भेट्नुहुन्छ । भगवान शिवले पनि किराती रूप धारण गरेको कथा धर्मग्रन्थमा पाइन्छ । धर्मग्रन्थ आज लेखिएका त होइनन् हजार-दुई हजार वर्ष पहिल्यै लेखिएका हुन् । अनि तेतिखेर किराती शब्द पाइनु भनेको यो जाति कति पुरानो रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

किरात शब्द तत्सम शब्द हो । तत्सम भनेकै संस्कृत शब्द हो । तत् भनेको त्यो (संस्कृत) सम भनेको उस्तै, दुरुस्तै । संस्कृतबाट जस्ताको तस्तै नेपालीमा प्रयुक्त भएको भन्ने हो । संस्कृत भाषा त धेरै पुरानो भाषा हो । यो कुरो मैले उब्जाएर भनेको होइन भाषा वैज्ञानिकले स्वीकारेको विषय हो । अनि त्यही भाषामा किरात शब्द हुनु भनेको किरातीहरू कति पुराना जाति रहेछन् जो हिमवत्खण्डमा बसोवास गर्दा गर्थे भन्ने कुरो घाम जस्तै छर्लंग छ । त्यसैले यो तथ्यलाई आत्मसात गरौं ।

किरातीइतर जातिले किरात प्रदेश राख्दा जातीय नाम भयो भन्नु उचित होइन । जातीयताको अलिकति पनि गन्ध आउँदैन । यो विशिष्ट मौलिक नाम हुन्छ । नेपाली भूमिमा विकसित भएको नेपालीमात्रको सभ्यतालाई विश्वमा चिनाउनुपर्छ । त्यसैले अबको वार्ताले मौजुदा नाम परिवर्तन गरी प्रदेशसभालाई सिफारिश गरोस् । यसमा माननीयज्यूहरूको एक मत रहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?