रत्नलक्ष्मी श्रेष्ठका कृतिहरूको परिचर्चा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू ‘चिन्ता र चासो’ लेखसंग्रह र ‘स्वाभिमानको तस्वीर’ कवितासंग्रहको परिचर्चा गरिएको छ । मंगलबार काठमाडौंमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँका कृतिहरूको परिचर्चा गरिएको हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले श्रेष्ठका रचनाहरूमा देश, समाजप्रतिका चिन्ता-चासोका अतिरिक्त चिन्तन र विश्लेषण पाइने जिकिर गरे ।

प्रमुख अतिथिको आशनबाट इतिहासविद् प्राडा.सुरेन्द्र के सीले हामीले गीताका अभिव्यक्त विचारहरू आफ्नो आवश्यकता अनुसारमात्र प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै समग्र गीताको गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रेष्ठका कृतिहरूमा समाज र देशमा विद्यमान विकृतिविरुद्ध कडा प्रहार पाइने धारणा राख्नुभयो ।

वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको चिन्ता र चासोमा समसामयिक विषयप्रतिको गहिरो चिन्तन र विवेचना पाइने बताउँदै लेखनमा उहाँ इमानदार हुनुभएको उल्लेख गर्नुभयो । यस्तै, अर्का समालोचक डा.गोविन्दमानसिंह कार्कीले श्रेष्ठका कविताहरूमा विषयगत विविधतासँगै समय र समाजका चित्रहरू सरल रूपमा कोरिएको चर्चा गर्नुभयो ।

सर्जक डा.गीता शिवाकोटी खरेलले श्रेष्ठको संघर्ष, शिक्षाप्रतिको असीम चाहना र समाजसेवाका बारेमा प्रकाश पार्दै उहाँको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा समालोचक डा.शान्तिमाया गिरी र साहित्यकार मञ्जिला अनिलले पनि कवि एवं लेखक श्रेष्ठको कृतिहरूमा पाइने विशेषताको चर्चा गर्नुभएको थियो ।

लेखक श्रेष्ठले आफू कवि लेखक नभए पनि देश र समाजमा देखिएका विकृति एवं विसंगतिलाई हटाउनका लागि हृदयबाटै अभिप्रेरित भएर कलम समाएको बताउनुभयो । उहाँले यसवर्ष आफ्ना दुई कृति प्रकाशित गर्ने योजना भएको जानकारी गराउनुभयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पुस्तकका सम्पादक डा.मधुसूदन लामिछाने र राजेश श्रेष्ठले पनि लेखकलाई शुभकामना दिनुभएको थियो ।

साहित्यकार श्रीबाबु कार्कीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संघका सचिव निता श्रेष्ठले स्वागत भाषण गर्नुभएको थियो । कवि मुरारी सिग्देलले ‘स्वाभिमानको तस्वीर’ कविताकृतिबाट एक कविता वाचन गर्नुभएको थियो ।

सो अवसरमा लेखक श्रेष्ठलाई माला, सापस स्वर्ण महोत्सव मेडल र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकारहरू किशोर पहाडी, राजेन्द्र केसी, गीता मैनाली, कमला रिसाल, डा.दामोदर पुडासैनी, हरि थापा, मिठु थापा, शंकर भारती, डा.बुनु दाहाल, सरस्वती गौतमलगायतको उपस्तिथि थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?