नेपाल र भारतबीचको खेल रद्द

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसिसी महिला इमर्जिङ टिम्स टी-२० एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । लगातार वर्षा र झिजेको आउट फिल्डका कारण खेलको टस पनि हुन नसकेको हो । टस हुन नसकेका कारण दुवै टोलीले अंक बाँडेका छन् । अंक बाँड्दा त्यसको फाइदा भने नेपाललाई पुगेको छ । अघिल्लो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित नेपालले यस खेलमा पनि हार बेहोर्नुपरेको भए प्रतियोगिताबाट बाहिरिने स्थिति थियो । तर, अंक बाँडेका कारण नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ ।

नेपाल दुई खेलमा एकमा हार र एक खेलमा अंक बाँड्दै एक अंकका साथ तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै तीन÷तीन अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

उता हङकङ भने दुई खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै एक अंकका साथ पुछारमा छ । भारतको नेटरनरेट ५.४२५ छ । भारतको सेमिफाइनल प्रवेश अनौपचारिकतामात्रै बाँकी छ । पाकिस्तानको ०.४५० र नेपालको माइनस ०.४५० छ ।

अब नेपालले सेमिफाइनलमा पुग्न शनिबार घरेलु टोली हङकङमाथि जित हात पार्नुपर्नेछ । त्यसबाहेक पाकिस्तानलाई पनि नेटरनरेटमा पछि पार्नुपर्नेछ । नेटरनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन । यदि हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा र अन्तिम खेलमा पाकिस्तान पराजित भएमा दुवै टोलीको तीन/तीन अंक हुनेछ ।

यो अवस्थामा नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारत र पाकिस्तान ‘ए’बीच शनिबार खेल हुनेछ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?