फेरि कम्युनिष्ट एकताका कुरा

हिमालय टाइम्स
Read Time = 8 mins

वर्तमान दिनहरूमा फेरि कम्युनिष्ट एकताका विषयमा चर्चा हुन थालेको छ । यसका विभिन्न सन्दर्भ र अभीष्टहरू हुन सक्लान् तर नेपाली जनतालाई भने यसमा कुनै पत्यार छैन । यसको कारण नेपालका कम्युनिष्टहरूको विगत हो । राजनीतिक पार्टीहरूको एक प्रकारको अभियान र अभीष्ट हुन्छ । त्यस पार्टीको स्थापना किन भयो र अब के गर्ने भन्ने योजना हुन्छ । त्यसका नीति र सिद्धान्त हुन्छन् तर नेपालका कम्युनिष्ट पार्टीहरूको इतिहासमा यो देखिएको छैन । नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै नेपाली कांग्रेसको राजनीतिक गतिशीलतालाई रोक्नु थियो । नेपाली कांग्रेसको सिद्धान्तमा प्रतिबद्ध र पार्टी कार्यालयमा रहेर काम गरेकाहरूले नै पछि कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

त्यसपछि एउटा निश्चित नीति र सिद्धान्त अनि अभियानको सट्टा व्यक्ति केन्द्रित बाटो उनीहरूले अँगाले । पुष्पलाल श्रेष्ठ, केशरजंग रायमाझी, मनमोहन अधिकारीहरू फरक-फरक बाटो लागे । एकले अर्कालाई कहिले गद्दार भन्ने र कहिले तिनैसँग हातेमालो गर्ने काम उनीहरूबाट भइरहृयो । मोहनविक्रम सिंह अहिले पनि एक्लै हिँडिरहनु भएको छ । मोदनाथ प्रश्रितले राजनीतिबाट सन्यास लिइसक्नुभएको छ । झापा आन्दोलनमा हिंसाको बाटो अँगालेको मालेका तत्कालीन सदस्यहरू राधकृष्ण मैनाली, सिपी मैनाली, मोहनचन्द्र अधिकारीहरूमा पनि विचलन आयो । संस्थापक पुस्ताका तुलसीलाल अमात्य, कृष्णलाल बर्मा, विष्णुबहादुर मान्धरहरूले आ-आफ्नो थर जोडेको नेकपा बनाउनुभयो तर उहाँहरूको पार्टीबाट नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै रचनात्मक सहयोग पुगेको पाइएन ।

तुलसीलाल अमात्यको नाम भने २०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चाको अग्रणी स्थानमा राखिएको थियो । नेपाली कांग्रेसले पञ्चायतविरुद्ध गर्न लागेको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले पनि ऐक्यबद्धता गर्न चाहेका थिए तर जनआन्दोलनका कमाण्डर गणेशमान सिंहले तपाईंहरू विभिन्न पार्टीमा छरिनुभएको छ, हामीले कोसँग एकता गर्ने भनेपछि सात वामको संयुक्त वाममोर्चा बनेको थियो । जनआन्दोलनको सफलतापछि नेकपा माले र नेकपा माक्र्सवादीको एकताबाट नेकपा एमाले बनेको थियो जुन हालसम्म पनि नेपालको सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टीका रूपमा रहेको छ । अहिले राजनीतिको मूल प्रवाहमा पुग्न सफल भएका कम्युनिष्ट पार्टीहरूमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायत छन् ।

एउटै विचार र सिद्धान्त भए पनि तिनमा एकता भने पाइएको छैन । २०७४ सालको निर्वाचनमा केही पार्टीहरूको एकताबाट नेकपा बनेको थियो । संगठित रूपमा निर्वाचनका गएका कारण संघीय संसद्मा उनीहरूको बहुमत पनि आएको थियो । त्यसैले सरकार पनि कम्युनिष्ट पार्टीको बन्नु स्वाभाविक थियो तर पदका कारण उनीहरूभित्रको मनोमालिन्य छताछुल्ल भएर सडकसम्म पोखिन पुग्यो । त्यसपछि माओवादी केन्द्र पूर्वस्वरूपमा फर्कियो भने माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी स्थापना गर्नुभयो । विचारले एक भए पनि स्वार्थले भिन्न भएका कारण हाल नेपाली कांग्रेस, माओवादी केन्द्र तथा अरू केही पार्टीहरूको सरकार छ ।

एमालेबाहेकका कम्युनिष्टहरू बरू नेपाली कांग्रेस निकट बनिरहेका छन् एमालेसँग मिल्न सकिरहेका छैनन् । त्यसैले माओवादी केन्द्र एमालेसँग मिलेर सरकार बनाएर पनि तीन महिनामै उसको साथ छोडेर फर्किन बाध्य भयो । यस्तो अवस्थामा फेरि कम्युनिष्ट एकताको प्रसंग अघि सारिएको छ । पुरानो नेकपा ब्युँताउने प्रयासका रूपमा यसलाई हेरिएको छ । समाजवादी मोर्चालाई प्रस्थान बिन्दु बनाएर बृहत् वामएकता गर्ने लक्ष्य राखिएको छ । तर, यसलाई कम्युनिष्ट पार्टीहरूको इतिहास जानेका केही मानिसहरूले सम्भव ठानेका छैनन् ।

माधव नेपालको पार्टीबाट धेरै नेता कार्यकर्ताहरू एमालेमा फर्किरहेका छन् र यो क्रम जारी छ । त्यसैले तिनलाई पार्टीमै जोगाएर राख्न कठिन भएका कारण नेपालले यस्तो प्रस्ताव अघि सार्नुभएको हो भन्ने देखिएको छ । एमालेमा आपूm एक्लै समाहित हुन अप्ठ्यारो भएका कारण माओवादी केन्द्रलाई समेत लिएर जान पाए आफ्नो केही अस्तित्व रहने थियो भन्ने आधारमा उहाँबाट यस्तो विचार आएको देखिन्छ । एमालेले बोलाएका खण्डमा विनासर्त आपूmसँग भएका केही सदस्यहरू लिएर जान तयार छु भनेर वामदेव गौतमले भनिरहेका बेला एमालेले उहाँलाई कुनै वास्ता गरेको छैन भने माधव नेपाललाई चाहिँ रातो कार्पेटले स्वागत गर्ला भन्ने छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समेत पार्टी पुनर्गठन गर्ने र नयाँ नेकपा बनाउने भनिरहेको अवस्थामा यसमा केही सम्भावना त देखिएला तर यदि फेरि नेकपा गठन भए पनि तिनका बीच मतैक्य भएर पार्टी अगाडि बढ्ला भन्ने कुरामा विश्वास गर्ने आधारहरू भने देखिँदैनन् । विगतले पनि त्यस्तो सोच्न बाध्य बनाएको छ । एकता हुन नसके पनि मोर्चा चाहिँ बनाउने भन्ने कुरामा भने विश्वास गर्न सकिन्छ । तर, कम्युनिष्ट पार्टीहरूको यसरी हुने एकता वा मोर्चाबन्दीबाट राष्ट्र लाभान्वित हुनसक्ने प्रत्याभूति चाहिँ के ? यसको जवाफसहित उहाँहरू अगाडि बढ्नु उचित हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?