विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

हिमालय टाइम्स
Read Time = 3 mins

बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिका-५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।

गएको दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताउनुभयो । विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्नेलगायत समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ । उहाँले भन्नुभयो, “विद्यार्थीमा रुने, कराउने र बेहोस हुने लक्षण देखापरेको छ, बढीजसो छात्रामा यो समस्या छ । विद्यालय समयमा यस्तो समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ ।”

पाँच वर्ष पहिला पनि सो विद्यालयका विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । बिहानको समयमा लाइन लागेका बेला र कक्षा कोठामा छात्रा बेहोस भएर ढल्ने गरेका छन् । समस्याबारे सिगास गाउँपालिकालाई जानकारी गराइएको प्रधानाध्यापक चन्दको भनाइ छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले विद्यार्थी रुने, कराउने, काँप्ने, बेहोस हुनेलगायत समस्या मास हिस्टेरियाका कारण हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा कुनै एक विद्यार्थीमा मास हिस्टेरिया भएको र त्यसपछि अरुमा पनि देखिएको हुनसक्छ । सुरुमा देखिएको विद्यार्थी पत्ता लगाएर उपचार गर्नसके समस्या समाधान हुन्छ ।”

विद्यार्थीमा यस्तो समस्या देखिए केही दिनका लागि विद्यालय बन्द गर्न जिल्ला अस्पतालका प्रमुख डाक्टर दीपेश श्रेष्ठले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सुरुमा एक विद्यार्थीमा यस्तो समस्या देखिने र विस्तारै अरुमा पनि लक्षण देखिन थाल्छ, विद्यालय बन्द गरेर नियन्त्रण गर्न सकिन्छ ।” रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?