पदमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री प्रचण्डलाई काँग्रेस सांसदले दिए चेतावनी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै सो भुमिकाको अवमूल्यन नगर्न चेतावनी दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमनत्री दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिएपनि हात लागि शुन्य भएको बताउनु भयो ।

उहाँले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिनुभयो । उहाँले मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरु पनि हामीजस्ता मान्छेहरु चुनाव जितेर आएको हुनाले मन्त्री हुनुभएको हो । प्रधानन्त्री पनि हुनुभएको होला । तपाईहरु एक्लै जितेको हुनाले आज यो स्थानमा पक्की पनि पुग्नुभएको होइन । त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच पनि त्याग्न म अनुरोध गर्छु । एउटा सांसदको चारवटा दायित्व हुन्छन् भन्ने मैले बुझेको छु । सरकार बनाउने, निति, निर्माण र कानून बनाउने, बजेट निर्माण गर्ने र आफ्नो निर्वाचन क्षेत्र र मतदाताप्रतिको कर्तव्य र दायित्व हुन्छ । चारै विषयमा हाम्रो भुमिका कहाँ छ ? नेताले गरेको गठबन्धनलाई भोट हाल्ने, सरकारले ल्याएको कानून र बजेट टेबुल ठोकेर पास गर्ने, सरकारलाई समर्थन दिने । पचास घण्टा भाषण सुन्ने र पाँच मिनेट भाषण गर्ने । यत्ति हो हाम्रो काम । हामी यसैका लागि सांसद भएका रहेछौँ ? जनताको अपेक्षा के हामीसँग यतिमात्रै हो ? बजेट विनियोजन गर्ने समयमा संघ र प्रदेशका मन्त्रालय कुद्दा कुद्दा जुत्ताका तलुवा खिए । हात लाग्यो शुन्य । प्रधानमन्त्रीज्यु तपाईलाई प्रधानमन्त्री बनाउन हाम्रा पनि मत जायर भएका छन् । तपाईको सरकारबाट यस्तो अपेक्षा गरिएको थिएन । तपाईलाई लागेको होला पार्टीको समर्थन पाएपछि पुग्छ । तर विगतको इतिहास हेर्नुभएकै छ । आफ्नै बहुमत सरकार असफल बनाइदिएको । पार्टी फुटेको । पार्टी भित्रै पनि चरम गुटबन्दी मौलाएको । हेक्का रहोस् यो त गठबन्धको सरकार हो । स्मरण रहोस् जनप्रतिनिधिको हैसियतले यो मुलुकको बजेट माथि हाम्रो पनि अधिकार छ ।’

उहाँले आफ्नै पार्टीका नेताहरुमाथि पनि विभिन्न प्रश्नहरु तेस्र्याउनु भयो । उहाँले यसैको लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनि प्रश्न गर्नुभयो । उहाँले काँग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरुको पनि भुमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेरो मेरा नेताहरुलाई भन्न चाहान्छु के यसैका लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनभित्र हामी छिरेका थियौँ ? यसमा तपाईहरुको भुमिका हुनुपर्दैन ? काँग्रेस सबैभन्दा ठूलो पार्टी हुनुमा हाम्रो पनि त भुमिका होला नि । तर पार्टी पनि जोगाउने हो भने अब यसरी काम चल्दैन । एउटा सानो कुराका लागि मन्त्रालयमा मन्त्री, सचिव, सह–सचिव, अधिकृतका पछाडी कुद््दा कुद्दा सांसदको जुत्ताको तलुवा खिइन्छ । स्वाभिमान भन्ने कतै रहँदैन । तर हातलागि सुन्ना । अब अति भयो मेरा पार्टीका नेताहरु पनि बोल्ने कि नबोल्ने ?’

उहाँले बजेट विनियोजनमा असमानता भएको भन्दै यस विषयमा पार्टीका नेताहरु बोल्ने कि नबोल्ने भन्ने प्रश्न गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?