४१औँ बिपी स्मृति दिवस

राजनीतिक स्थायित्वका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्छ : सभापति देउवा

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । ४१औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रम गरेर देशभर मनाइएको छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी)को ४१औँ स्मृति दिवस शनिबार नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएका छन् । काठमाडौंलगायत विभिन्न जिल्लामा कांग्रेस तथा यसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी बिपीको योगदानको सम्झना गरेका छन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

बिपी कोइरालाको स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा-९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो । इनरुवा नगरपालिकाको १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्ने बताउनुभएको छ । सुनसरीको इनरुवामा शनिबार कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पार्टीभित्रको झिनामसिना विवादहरू आन्तरिक रुपमा मिलाउँदै लोकतन्त्रको रक्षा, दिगो शान्ति र स्थायित्वको पक्षमा लाग्नुपर्ने बेला आएको छ ।’ सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न काँग्रेसको नेतृत्व परिवर्तन नभई, कार्यकर्ताबीच जनमुखी सेवाभाव हुनुपर्ने बताउनुभयो ।

मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको काँग्रेस सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको चर्चा गर्नुहुँदै २०८४ को निर्वाचनपछि एकल रुपमा कांग्रेसको सरकार बनाउनेगरी अभियानमा जुट्न उहाँले पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

वर्तमान सरकार बिपी कोइरालाबाट प्रेरित छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले र राजनीतिक शक्तिहरूले जनतामा थप विश्वास जाग्ने काम गर्नसके मात्रै बिपी कोइरालाप्रति सच्चा सम्मान हुने पनि बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा शनिबार सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजित समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भन्नुभयो, ‘वर्तमान सरकार बिपी कोइरालाबाट प्रेरित भएर लोभ र डरमुक्त भई देश र जनताको पक्षमा काम गरिरहेको छ ।’ संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बिपी कोइरालाको सिद्धान्तअनुरूप भएको उहाँको भनाइ थियो ।

बिपी कोइरालाले नागरिकलाई अधिकारसम्पन्न बनाउन बेला-बेलामा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री खड्काले अहिले पनि कुनै कठिन राजनीति निर्णय गर्दा होस् वा पार्टी र सरकार सञ्चालन गर्दा आफूहरूले बिपी कोइरालालाई सम्झेर निर्णय गर्ने गरेको बताउनुभयो ।

वर्तमान संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको बताउँदै उपप्रधानमन्त्री खड्काले अब सरकार र राजनीतिक शक्तिहरूले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बिपी कोइरालाप्रति सच्चा सम्मान एवं श्रद्धाञ्जलि हुने धारणा राख्नुभयो ।

बिपी कोइराला गतिशील व्यक्तित्व : अर्थमन्त्री महत
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले बिपी कोइराला गतिशील व्यक्तित्व भएको बताउनुभएको छ । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा मन्त्री डा. महतले त्यति ठूलो व्यक्तित्व हुनुभएका बिपीबाट सिक्ने कुरा धेरै रहेको बताउनुभयो । मन्त्री डा. महतले बिपीले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शमशेरलगायत अरू नेता र जनताको पनि कुरा सुन्ने गरेको स्मरण गर्नुभयो । बिपीको सिद्धान्त कांग्रेसले छोड्यो भन्ने कुरामा सत्यता नरहेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य बिपीको विचारमा आधारित प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा समतामूलक समाज निर्माण गर्ने र समृद्धिसहितको समानता निर्माण गर्नु हो ।’

लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा समृद्धिसहितको समानता कांग्रेसको लक्ष्य भएको उहाँको भनाइ थियो । ‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ’ बिपीको यो भनाइबाट सम्बोधन सुरु गरेका डा. महतले भन्नुभयो, ‘नयाँ पार्टी भनेर आइरहेका छन्, एउटा सानो के गरेका छन्, त्यसलाई भिडियो खिचाएर आधा सेकेण्डको काम देखाइरहेका छन् ।’

बिपीको विचार र चिन्तनको जगमा कांग्रेस अगाडि बढ्छ ः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताउनुभएको छ । शनिबार बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘लोकतान्त्रिक प्रतिनिधिका रूपमा हामीले बिपीलाई चिन्नुपर्छ, बिपी दूरदर्शी र परिपक्व नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन’, उहाँले भन्नुभयो । महामन्त्री शर्माले नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको गुनासो गर्नुभयो । ‘बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुप¥यो’, महामन्त्री शर्माले भन्नुभयो ।

बिपीको विचार कालजयी : प्रमुख सचेतक लेखक
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बिपीका विचार कालजयी भएको बताउनुभएको छ । ४१औँ बिपी स्मृति दिवसका अवसरमा शनिबार रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक लेखकले भन्नुभयो ‘बिपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा आज सबै अटाउन सक्नु नै उहाँको विचार कालजयी हुनु हो,’ लेखकले भन्नुभयोे, ‘लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिष्टहरूलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनायौँ । त्यही भएर बिपीले प्रतिपादन गरेको कांग्रेसको विचारले सबै विचारलाई जितेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?