उमेश श्रेष्ठले चितवन २ मा चुनाव नलड्ने

कांग्रेसका १० जना आकांक्षी : उम्मेदवार छान्दै एमाले, आफ्नो स्थान सुरक्षित गर्ने दाउमा रवि

हिमालय टाइम्स
Read Time = 6 mins

चितवन । प्रतिनिधिसभाको रिक्त तीन स्थानमा सम्पन्न हुने उपनिर्वाचनमा उम्मेदवारीका लागि पार्टीहरू भित्र बहस सुरु भएको छ । नयाँ वर्षको राजनीतिक उपहार भएर तनहुँ १, चितवन २ र बारा २ मा आगामी वैशाख १० गते २०८० मा उपनिर्वाचन हुने भएको हो । तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ भने बाराबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनुभएको छ । चितवन २ मा अत्यधिक मतान्तरमा विजयी रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि उनको सांसद पद गुमेको थियो ।

राजनीतिको केन्द्रमा रहेको चितवनमा अब कस्तो उम्मेदवारी हुने हो सबै उत्सुकतापूर्वक पर्खिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तत्कालीन मन्त्री उमेश श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी रहँदा करिब ३६ हजारको मतान्तरका साथ रवि लामिछाने विजयी हुनुभएको थियो । रविले ४९ हजार २६४ मत ल्याउँदा श्रेष्ठको मत जम्मा १४ हजार ९८३ थियो । श्रेष्ठलाई पछ्याउनुभएका नेकपा एमालेका कृष्णभक्त पोख्रेलको मत भने १४ हजार ६६७ थियो । नागरिकताका कारण सांसद पद गुमेर पुनः नेपाली नागरिकता प्राप्त गर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई नै त्यस पार्टीले पुनः उम्मेदवार बनाउने बलियो सम्भावना रहेको छ ।

यसअघि गठबन्धनको चक्रव्यूहमा सहयोग हुने विश्वासमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेले पहिले लामिछानेलाई समर्थन गर्ने जनाए पनि अबको भिन्न परिस्थितिमा के गर्छ अझै निश्चित भएको छैन । उसले ०७० को संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भए पनि ०७९ को निर्वाचनमा तेस्रो स्थानमा पुगेका कृष्णभक्त पोखे्रललाई उम्मेदवार बनाउँछ कि अथवा नयाँ अनुहार खोज्ने हो एमालेमा अन्योल देखिन्छ । पूर्व चर्चाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवारलाई समर्थन गर्ने सम्भावना पनि छ ।

०७९ को निर्वाचनमा चितवन क्षेत्र नं २ मा दोस्रो मत हासिल गर्ने नेपाली कांग्रेस जिल्ला पार्टीले भने ११ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । नेपाली कांग्रेसबाट प्राप्त जानकारीअनुसारः गौरी श्रेष्ठ, पार्वती शाह, देवेन्द्रबहादुर गुरुङ, जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, विपीन रामुदामु, राजन कार्की, देवकी गौतम, उमेश श्रेष्ठ, मिलनबाबु श्रेष्ठ र कैलाश कोइरालाको नाम केन्द्रमा सिफारिस गरेको बताइएको छ ।

तर, गत निर्वाचनमा उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ चुनावमा उम्मेदवारीप्रति उत्साहित नभएको देखिन्छ । उहाँले हिमालय टाइम्ससँग संक्षिप्त कुरा गर्दै भन्नुभयो, म निर्वाचन नलड्ने निर्णयमा पुगेको छु । पार्टीबाट कुनै साथी उम्मेदवार बन्नुभयो भने मेरो सहयोग रहनेछ । श्रेष्ठले आफ्नो अबको कार्यभारको प्रसंगमा भन्नुभयो, आफ्नो ऊर्जालाई समग्र विकास गर्ने योजनाका पक्षमा, देश र जनताको हितको प्रवद्र्धन र विकासका पक्षमा केन्द्रित रहने मेरो निष्कर्ष छ ।

करिब एक लाख २४ हजारभन्दा बढी मतदाता रहेको चितवन २ मा माओवादी कांग्रेसद्वारा निर्मित नवगठबन्धनको भूमिका स्पष्ट छैन । राष्ट्रपति पदमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा खुलेर उभिएको रास्वपा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पक्षमासमेत मतदान गरेको थियो । हिजोको गठबन्धनलाई सहयोग गर्दै सरकारमा पुगेको रास्वपा पार्टी अहिलेको नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छैन । तैपनि कांग्रेस माओवादी गठबन्धनको कित्तामा रास्वपा पुगेको अवस्थामा दुईमहिने गठबन्धनको नायकीय भूमिका निर्वाह गर्ने एमालेको समर्थन रविलाई रहने हो वा होइन टुंगो छैन । नयाँ गठबन्धनमा पनि रविविरुद्ध जाने खासै उत्साह देखिँदैन । तर, रवि लामिछाने नै उम्मेदवार भएमा पुनः विजयी हुने विश्वास रास्वपामा देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?