बजेटबारे अध्यक्ष राउतले भने : चार यारहरु मिलेर अध्याँरो कोठामा गएर बजेट लुटेको देखिन्छ, ल्याइएको होइन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताउनुभएको हो । उहाँले बैंक लुटे जसरी चार यारहरुले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताउनु भयो ।

सरकारले जुट्ने क्रम जारी रहेको उहाँको भनाई छ । अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनैपनि सुझावहरु कार्यान्वयन नहुने गरेको पनि बताउनु भयो । उहाँले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरुको निरिहता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसद माथि नै प्रहार भएको हो कि भन्नेकुराले बढी चिन्ता मलाई लागेको छ । सरकारको प्रवृत्ति जुन देखिएको छ, त्यसमा सरकारको मन्त्रीहरुमा पात्रता देखिँदैन । संसदमा शुन्य समयमा वा अन्य समयमा के कुरा उठाइन्छ, छलफलमा के कुरा उठाइन्छ, त्यसको मतलव गरिदैन भनेपछि कुनै सुझाव दिनु हुँदैन भनेर हाम्रा विद्वानहरुले भनेकै छन् । बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्नेकुरा स्पष्ट देखिँदैन । यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ । जसरी बैंक लुट्दाखेरी चार यारहरुले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरुले लुटेर गएका जस्ता देखिन्छन् । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ । चार यारहरु मिलेर, अध्याँरोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रुपमा देखिन्छ । स्वभाविक हो । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । बैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ । लुट्ने प्रवृत्तिको क्रमिक रुपमा जारी नै छ ।’
उहाँले बजेट योजना र दृष्टि बिहिन भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?