महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैन : रमेश लेखक

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताउनु भएको छ ।

महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएका बेला उहाँले महाधिवेशनले मात्रै उहाँलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाउनु भएको हो । पार्टी सभापति, केन्द्रिय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुन सक्ने प्रमुख सचेतक लेखकको भनाई थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले महामन्त्री थापाप्रति संकेत गर्दै सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर नहुने बताउनु भयो । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँभित्र नेतृत्वप्रति विरोध, समर्थन, आलोचना हुन सक्ने भन्दै प्रमुख सचेतक लेखकले पार्टी सभापति र केन्द्रिय कार्य समितिको नेतृत्व पार्टीका १० लाख क्रियाशील सदस्यहरुको भावनाको प्रतिनिधित्वको आधारमा हुने स्मरण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘अव काँग्रेस ठूलो पार्टी हो । जीवन्त पार्टी हो । लोकतान्त्रिक पार्टी हो । काँग्रेसमा वादविवाद, प्रतिवाद, आलोचना, समालोचना, समर्थन, विरोध सबै हन्छ । जहाँसम्म यो सभापति को हुने, के हुने भन्ने कुरा छ नि । काँग्रेसको सभापति एउटा निश्चित प्रक्रिया र पद्धति काँग्रेसको सभापति बन्छन । र, एउटा निश्चित प्रक्रिया र पद्धतिबाट काँग्रेसको सभापति परिवर्तन हुन्छ । त्यो भनेको के हो भने महाधिवेशनबाट काँग्रेसको सभापति बन्ने हो । आगामी महाधिवेशनबाट काँग्रेसको सभापति परिवर्तन हुने हो । त्यसो भएको हुनाले यो एक जना मैले, तपाईले, अर्काले भनेर मात्रै हुने विषय होइन । नेपाली काँग्रेसका १० लाख क्रियाशील सदस्य छन । उनीहरुको भावनाको अभिव्यक्ति हो । पार्टीको सभापति बन्ने, केन्द्रिय कार्य समिति बन्ने । किनभने ती दश लाख क्रियाशील सदस्यबाट छानेर आएको प्रतिनिधिहरुले केन्द्रिय कार्य समिति बनाउने हो । त्यसो भएको हुनाले यसको निर्माणको पनि एउटा पद्धति छ । यसको परिवर्तनको पनि एउटा पद्धति छ । यो पद्धति बमोजिमनै हुन्छ । नयाँ पुस्ता त यो पार्लियामेन्टमा हेर्नु भयो भने हामीले यो प्रतिनिधिसभामा सबै भन्दा पहिलो रोमा पार्टीका पदाधिकारीहरु बस्नुहुन्छ । तपाईले जम्मै पार्टीको हेर्नु भयो भने मलाई लाग्छ–सबैभन्दा कान्छो उमेरका पदाधिकारी त हाम्रै पार्टीमा छन त । अनि, नयाँ पुस्ता भनेको कहाँनिर हो ? एक जना सभापति बाहेक सबै मान्छे नयाँ पुस्ता छन । यो त गतिशीलतापूर्वक पार्टीको नेतृत्व परिवर्तन भईरहन्छ । हिजो सभापतिजी पनि यो पार्टीको ठूलो नेता हुँदा उहाँ पनि युवा नै हुनुहुन्थ्यो । र, भोली आउने पनि पार्टीको पदाधिकारी नेता, युवा नै हुन्छ ।’

प्रमुख सचेतक लेखकले अरु पार्टीहरुको भन्दा युवा पुस्ता नेतृत्वमा पु¥याउने काम नेपाली काँग्रेसले गरेको दावी समेत गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?