लुम्बिनीका उद्योगको क्षमता उपयोग घट्दो

Read Time = 6 mins

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा लुम्बिनी प्रदेशमा सञ्चालित उद्योगको क्षमता उपयोग घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४९.२२ प्रतिशत क्षमता उपयोग गरेको उद्योगको चालु आवमा क्षमता उपयोग घटेर ४२.३३ प्रतिशतमा झरेको हो । चालु आवको पुससम्ममा ड्राई सिरप, बिजुलीका तार तथा केबुल, कंक्रिट, चामल, पेय पदार्थ, जिआई पाइप, औषधिजन्य उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । सबैभन्दा बढी प्लाष्टिकजन्य उद्योगले ८९.६४ प्रतिशत र सबैभन्दा कम औषधि उत्पादन गर्ने उद्योगले ३.९१ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

औसतभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगमा कागज, ट्याबलेट, आल्मुनियम, रोजिन र पशुदाना रहेका छन् । चालु आवको छ महिनामा रोजिन उत्पादन गत वर्षको सोही अवधिकोे तुलनामा ३०.६६ प्रतिशतले बढेको छ । कच्चा पदार्थको सहजता र भारतलगायतका अन्य मुलुकमा माग उच्च रहेका कारण रोजिन उत्पादन बढेको हो । नेपाली कागजको माग बढेपछि कागज उत्पादन ३०.५९ प्रतिशतले बढेको छ ।

पुससम्ममा ड्राई सिरप, बिजुली तार तथा केबुल, कंक्रिट, चामल, पेय पदार्थ, जिआई पाइप, औषधिजन्य उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएको अध्ययनले देखाएको छ ।

केन्द्रीय बैंकका अनुसार बजारको मागमा कमी आउनु, विद्युत् आपूर्तिमा समस्या र अन्तर्राष्ट्रिय बजारमा कोइला तथा पेट्रोलियम मूल्यवृद्धिका कारण समीक्षा अवधिमा सिमेन्ट उत्पादन गत वर्षको सोही अवधिकोे तुलनामा ५४.०९ प्रतिशतले घटेको छ । प्रमुख औद्योगिक उत्पादनमध्ये आल्मुनियम ६५.४७ प्रतिशत, चामल उत्पादन ५८.७९ प्रतिशत, कंक्रिट उत्पादन ५२.०९ प्रतिशतले घटेको छ ।
बिजुलीका तार र केबुल ४८.६४, गहुँको पिठो ३६.३१, ट्याबलेट उत्पादन २९.३९ प्रतिशतले घटेको छ भने चाउचाउ १६.५९, ड्राई सिरप १९.४९, मदिरा १०.९५, क्याप्सुल १०.३३ र ओइन्टमेन्ट उत्पादन ९.८८ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको १४.२ प्रतिशत हिस्सा हुने अनुमान छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको १४.१ प्रतिशत हिस्सा थियो । आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनीको आर्थिक वृद्धि २.०६ प्रतिशत रहने अनुमान छ । गत वर्ष ५.०३ प्रतिशत थियो । आर्थिक वर्ष २०७९/०८० मा देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा लुम्बिनी प्रदेशको हिस्सा क्रमशः १७.५ प्रतिशत, १५.५ प्रतिशत र १२.६ प्रतिशत रहने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २९.८ प्रतिशत, १४.७ प्रतिशत र ५५.५ प्रतिशत रहने अनुमान छ ।

बैंक तथा वित्तीय संस्थाबाट संकलित कुल निक्षेपमा लुम्बिनीको योगदान ८.४१ प्रतिशत रहेको छ भने निक्षेप संकलनमा दोस्रो ठूलो र कर्जा प्रवाहमा ११.२८ प्रतिशत हिस्सासहित तेस्रा ठूलो प्रदेश बन्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १.१३ प्रतिशतले बढेर चार खर्ब ३२ अर्ब ३० करोड ३७ लाख रुपैयाँ पुगेको छ । कुल निक्षेपमा रूपन्देही जिल्लाको सबैभन्दा धेरै ४३.९८ प्रतिशत हिस्सा रहेको छ भने रुकुमपूर्व जिल्लाकोे सबैभन्दा कम ०.२७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिकोे तुलनामा ०.३५ प्रतिशतले बढेर पाँच खर्ब ५० अर्ब छ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यस्तो कर्जा २०७९ असारको तुलनामा २.९२ प्रतिशतले बढेको हो । सो अवधिमा प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा/निक्षेप अनुपात १२७.२४ प्रतिशत रहेको छ । चालु आवको छ महिनामा कुल कर्जामा रूपन्देहीको सबैभन्दा धेरै ४८.४८ प्रतिशत रहेको छ भने रुकुमपूर्व जिल्लाकोे सबैभन्दा कम ०.१४ प्रतिशत हिस्सा रहेको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋणी संख्या गत वर्षको सोही अवधिकोे तुलनामा ७.६६ प्रतिशतले घटेर दुर्ई लाख ९१ हजार चार सय २० मा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?