क्रसर उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी

Read Time = 3 mins

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेदेखि देशभर गिट्टी बालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ । महासंघले सरकारले कानुनबमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योग असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन नदिए १६ गतेदेखि उत्पादन बन्द गर्ने चेतावनी दिएको हो ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानका लागि पहल गरे पनि समस्या समाधान हुन नसकेको भन्दै अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानुनबमोजिम सञ्चालनमा आएका क्रसरसमेत बन्द गरेको आरोप लगाउनुभयो ।

क्रसर, खानी तथा बालुवा उद्योग असार १५ गतेभित्र नवीकरण गर्न सरकारले निर्देशन नदिए १६ गतेदेखि उत्पादन बन्द गर्ने सम्बद्ध व्यवसायीले चेतावनी दिएका छन् ।

मन्त्रिपरिषद्ले गत माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुनअनुसार लाग्ने राजस्व लिई २०८० असार मसान्तसम्म यथावत्रूपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको उहाँको भनाइ छ । क्रसर उद्योग दर्ता वा राजस्व बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण देखाउँदै रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरणसमेत नभएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

महासंघले ढुंगा, गिट्टी र बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने कानुनको मस्यौदा मन्त्रालयले २०७९ फागुन १५ भित्र मन्त्रिपरिषद्मा पेश गर्ने र कानुन नबनेसम्म निर्माण कार्यमा प्रयोग हुने ढुंगा, गिट्टी र बालुवाको उपलब्धता निरन्तर गरी सम्मानित सर्वोच्च अदालतको आदेश, वातावरणीय संवेदनशीलता, निर्माण सामग्रीको सहज र नियमित आपूर्तिलगायतका पक्षलाई मध्यनजर गरी मन्त्रालयले मापदण्डको पुनरावलोकन गर्ने निर्णय गरेको स्मरणसमेत गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?